२१ वर्षदेखि हराएका पतिलाई मलेसिया पुगेर घर फर्काउने साहसि

Uncategorized

लक्ष्मी गौतम, पाँचथर
भनिन्छ, ऋण लागेपनि दिन नलागोस् । तर, पाँचथर सराङडाँडा ७ की शोभा सेर्मालाई ऋण पनि लाग्यो, दिन पनि लाग्यो । कथा यसरी शुरु हुन्छ ।घरमा अभाव थियो । शोभालाई लाग्यो, श्रीमान विदेश गए भने अभावका दिन दुर हुनेछन् र छोराछोरी परिवार सबैलाई खुसी मिल्नेछ । त्यसैले श्रीमानलाई विदेश जाने सल्लाह उनैले दिइन् । पति पत्नि बिच सल्लाह मिलेको केही दिनपछि शोभाका श्रीमान लक्षिनहाङ सेर्मा विदेश उडे । शोभालाई लाग्यो, श्रीमान् विदेश उडे पछि सुखका दिनहरु उडेर उनी समक्ष आउनेछन् ।तर, भइदियो सोचेभन्दा धेरै दुःखद । यो कथा २०४९ सालवाट शुरु हुन्छ । त्यतिबेला मुलुक द्वन्द्वमा फसिसकेको पनि थिएन । अहिलेको जस्तो वैदेशिक रोजगारका लागि हुलका हुल देश छाड्ने लहड र लहर दुबै थिएन ।तैपनि श्रीमतीको घच्घचाहट र परिवारको कमजोर आर्थिक अवस्थाका कारण लक्षिनहाङ सेर्मा विदेश जना तम्सिएका थिए । ५५ हजार रुपैयाँ दिएर उनले आफूलाई दलाल समक्ष सुम्पिए ।

 

उनी कुवेत जान चाहन्थे । दलालले पनि उनलाई त्यही आश्वासन दिए । तर, पुर्याइदिए बम्बई । पछि उनले थाहा पाए, उनको पासपोर्टको भिसा पनि नक्कली रहेछ ।हिलो गाँसमा ढुंगा परेपछि तिल्मिलाए उनी । निराश भएर घर फर्किनुको विकल्प थिएन । घर फर्किए । छरछिमेकले उनलाई खिस्सी गर्न थाले । ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ सम्म भन्न भ्याए छिमेकीले ।तर, सेर्मा दम्पत्तिले हिम्मत हारेनन् । छरछिमेकलाई देखाउनकै लागि भए पनि विदेश जानुपर्छ भन्ने निष्कर्ष दुबै मिलेर निकाले र, केही हप्ताको प्रयासपछि एउटा म्यानपावर कम्पनीसँग उनीहरुको कुरा मिल्यो ।कम्पनीले दैनिक ४ सय रुपैयाँ ज्यालादारीमा काम गर्नेगरी लक्षिनलाई मलेसिया पठाइदिने प्रस्ताव राख्यो । त्यसमै लोभिएर ३७ वर्षको उमेरमा लक्षिनहाङ मलेसिया हिँडे, २०४९ सालको अन्त्यतिर । उनले दलाललाई त्यसवापत ४५ हजार रुपैयाँ बुझाएका थिए । पति मलेसिया उडेपछि श्रीमती शोभा सेर्माको सपनाले फेरि एकपटक उचाई लियो ।

तर मलेसिया पुगेपछि लक्षिनहाङ फेरि एकपटक छाँगाबाट खसे सरह भए । वर्किङ भिसा भनी झुक्याएर दलालले दुई महिनाको भिटिज भिसामा पठाइएको रहेछ । ‘त्यहाँ पुगेपछि हाम्रो समूहमा रहेका २२ नेपालीलाई एउटा प्लास्टिक कम्पनीमा पुर्याइयो, कम्पनीले दैनिक १४० रुपैयाँमात्रै दिने भनेर महिनौं काम लगायो, तर पैसा दिएन,’ लक्षिनले सुनाए, ‘त्यसपछि हामी सबैजना त्यो कम्पनी छोडेर अर्को कन्स्ट्रक्सनमा गयौं, त्यहाँ पनि काममात्रै गर्नुपर्यो ।’भिसाको म्याद सकिएपछि उनी प्रहरीसँग लुक्दै काम गर्न थाले । कति दिनसम्म भोकभोकै पनि सुते । ती कठिन दिनहरु सम्झिदाँ पनि गाह्रो हुन्छ उनलाई अहिले । त्यसरी दुःख गरेर बचाएको केही पैसा उनले लुकाएर राखे । तर, त्यो पनि कहिले साथीले त कहिले चोरले लुटिदियो । गैरकानुनी रुपमा बसेको थाहा पाएकाले उनलाई सबैले हेपेका रहेछन् ।

यता गाउँमा शोभा आफ्ना श्रीमानले कहिले पैसा पठाउँछन् भनेर प्रतीक्षा गर्दै थिइन् । तर तीन वर्षसम्म श्रीमानबाट कुनै खबर आएन । न त पैसा न त फोन नै ।उनलाई घर धान्न र छोराछोरी हुर्काउन धौधौ पर्न थाल्यो । श्रीमानको अत्तोपत्तो नभएपछि उनले आफू पनि विदेश जाने निर्णय गरिन् । र, छिमेकी राम चेम्जोङलाई छोराछोरीको जिम्मा लगाएर कुवेततर्फ लागिन् ।‘त्यहाँ मैले घरेलु कामदारका रुपमा काम गर्न थालेँ, भाषाको समस्याका कारण महिनौंसम्म पैसा माग्न सकिनँ । १० महिनापछि बल्लबल्ल पारिश्रमिक पाएँ । छोराछोरीलाई पठाइदिएँ,’ शोभाले सम्झिइन्, ‘पहिलोपटक दुई वर्षपछि घर फर्किएँ, छोराछोरी पनि हुर्किंदै गए, त्यसपछि कुवेत आउजाउ चलिरह्यो ।’

२०६८ सालतिर कुवेतबाट अन्तिमपटक फर्केर शोभाले फिदिम वजारमा आठ आना जग्गा किनिन् । त्यही समयमा मलेसियाबाट श्रीमानले उनको नाममा तीन लाख रुपैयाँ पठाइदिए । मरेबाँचे केही खबर नभएका श्रीमानले ‘घर बनाउनू’ भन्दै पैसा पठाउँदा उनलाई सपनाजस्तो लाग्यो ।लक्षिनहाङले शोभालाई आफू गैरकानुनी रुपमा बसेकाले नेपाल आउन नसकेको र मलेसियामा पनि खुलेर काम गर्न अप्ठेरो परेको खबर समेत पठाएका रहेछन् ।श्रीमानले पठाएको पैसाले घर बनाउन भनी शोभाले घडेरी सम्याए । तर श्रीमानको सम्झनाले उनलाई निकै सताउन थाल्यो । ‘बरु घर पछि बनाउँछु, लोग्नेलाई जसरी पनि खोजेर ल्याउँछु भनेर मलेसिया जाने निधो गरेँ, पाँचथर राँकेबजारका एजेन्ट सन्तोष चेम्जोङसँग सम्पर्क भयो,’ शोभाले सुनाइन्, ‘उनले पनि दुई वर्षको वर्किङ भिसामा पठाइदिने भनेर ८० हजार रुपैयाँ लिए । तर दुई महिनाको भिजिट भिसा बनाइएको रहेछ, म आफू पनि ठगिएछु ।’लेसिया जाँदा उनले नेपाली सात लाख रुपैयाँबराबरको पैसा लगेकी थिइन् । उनीसँग डेढ तोला सुनको सिक्री पनि थियो ।

‘बरु घर पछि बनाउँछु, लोग्नेलाई जसरी पनि खोजेर ल्याउँछु भनेर मलेसिया जाने निधो गरेँ, पाँचथर राँकेबजारका एजेन्ट सन्तोष चेम्जोङसँग सम्पर्क भयो,’ शोभाले सुनाइन् ।

दुई महिनासम्म उनले मलेसियाका चोकचोक र गल्लीगल्लीमा चहार्दै श्रीमानलाई खोज्न थालिन् । चियापसलमा खोजिन् । सडकमा हिँडिरहेका प्रत्येक मान्छेको अनुहार हेरिन् । लामो समय भएकाले श्रीमानको अनुहार पनि चिन्दिन कि भन्ने चिन्ता उनलाई थियो ।भिसा सकिनलाग्दा सडकमा हिँडिरहेका बेला एकदिन मोटरसाइकलमा आएका दुई जनाले शोभाको सिक्री र पैसा सबै लुटे । त्यसपछि उनका पनि खराब दिनहरु सुरु भए ।‘नेपालीले चलाएको एउटा होटलमा गएर भाँडा माँझेँ, भात पकाएँ, एक डेढ महिनापछि पैसा लिएर फेरि श्रीमान खोज्न निस्के, प्रहरी भेट्ना साथ आफू पनि पक्राउ पर्ने डर छँदैथियो,’ उनले बताइन्, ‘गाउँमा छोराछोरीको बिजोग, मलेसियामा श्रीमान गायब । साह्रै विरक्त लाग्यो ।’

उनी जसरी पनि श्रीमानलाई मलेसियाबाट खोजिछाड्ने जिद्दीमा थिइन् । त्यसैले जस्तोसुकै दुःखमा पनि उनले हरेश खाइनन् । किनकि श्रीमान एक न एक दिन भेटिन्छन् भन्ने कुरामा उनलाई आत्मविश्वास थियो ।आखिर त्यस्तै भइदियो । दुई वर्ष भौतारिएपछि नाताले भतिज पर्ने सन्तोष सेर्माको सहयोगमा लक्षिनहाङ लुकेर काम गरिरहेको कम्पनी पत्ता लाग्यो । सन्तोषले नै लक्षिनहाङलाई शोभा बसेको होटलसम्म ल्याइदिए ।श्रीमानलाई भेट्ने बित्तिकै शोभाले रिस पोखिन्, ‘पैसा कमाउन पठाएको, किन यत्तिका वर्ष बेपत्ता भयौ ?’

लक्षिनहाङ निन्याउरो मुख लगाएर मौन रहिरहे । श्रीमतीको रिस थामिएपछि उनले मुख खोले, ‘सोझो थिएँ, सबैले हेपे, काम गरेका ठाउँमा पैसा नै दिएनन् ।’ लक्षिनहाङको मधुरो बोली, दुब्लोपातलो शरीर, लामालामा नङ र कपाल देखेर शोभा निकै भक्कानिईन् ।त्यसपछि एउटै होटलमा काम गरेर नेपाल फर्कने कागजात मिलाउन उनीहरुले ६ लाख रुपैयाँ जम्मा गरे । त्यो पनि चोरी भयो । उनीहरुले फेरि छुट्टाछुट्टै काम गरेर फेरि पैसा जम्मा गर्न थाले ।सबै प्रक्रिया सिध्याएर गत मंसिर २१ गते उनीहरुले मलेसिया छाडे । घर आउँदा छोराछोरीले लक्षिनहाङलाई चिनेनन् । चिनुन् पनि कसरी ? उनी विदेश जाँदा छोरी १० र तीन छोराहरु क्रमशः ८, ६ र ४ वर्षका थिए ।‘उहाँलाई छोराछोरीले एक महिनासम्म साइनो लगाएर बोलाएनन्, लजाए, अझै पनि अप्ठेरोसँग बुवा भन्छन्,’ ५५ वर्षीया शोभाले भनिन् ।शोभालाई लक्षिनहाङ श्रीमतीमात्र होइन भगवान नै ठान्छन् । भन्छन्, ‘ऊ आएर नखोजेको भए म मलेसियामै मर्नेथिएँ होला ।

साभार : chautarionline

Leave a Reply

Your email address will not be published. Required fields are marked *