कांग्रेसका शीर्ष नेताले सात वटै प्रदेशमा सम्बोधन गर्ने

Uncategorized

नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टीका शीर्ष नेताहरुले ७ वटै प्रदेशमा चुनावी सम्बोधन गर्ने भएको छ।
आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै निर्वाचन परिचालन मुल समितिका केन्द्रीय संयोजक बालकृष्ण खाँणले पार्टी सभापतिदेखि लिएर शीर्ष नेताहरु सबैजना एकै ठाउँमा चुनावी सम्बोधनको लागि जाने गरि छिट्टै कार्यतालिका सार्वजनिक गर्ने बताए।
‘७ वटै प्रदेशका मुख्य केन्द्रमा हाम्रा पार्टीका शीर्ष नेताले सम्बोधन गर्नुहुन्छ, हामीले त्यही अनुसार कार्यतालिका बनाएका छौं, चाँडै कार्यतालिका सार्वजनिक गर्छौं,’ उनले भने।
पूर्वरक्षा मन्त्रीसमेत रहेका खाँणले ठूला नेताहरुले एकैचोटी ठूला सभाहरुमा सम्बोधन गर्ने र मझौला नेताहरुले त्यही अनुसार प्रदेशका विभिन्न केन्द्रहरुमा सम्बोधन गर्ने, जिल्लाका प्रभावशाली नेता तथा अहिले उम्मेद्धवार नबनेकाले पनि त्यही अनुसार चुनावी प्रचारप्रसार गर्ने तयारी भैरहेको जनाए । ‘हाम्रा सबै नेताहरुले एकै बोली, एकै स्वर, संकल्प र विचार लिएर आउनुहुन्छ, जनताले हामीलाई मत किन हाल्नेबारे हामी बुझाउँछौं,’ उनले भने।
उनले यो चुनावमा आफूहरुले प्रचारप्रसार समितिमा पत्रकारलाई सह–संयोजक बनाउने तयारी गरेको बताए। ‘पत्रकारहरुलाई हामीले सहभागिता गराएका छौं, पत्रकारको भूमिका वृद्धि गरेका छौं, यो प्रचारप्रसारको आयाममा नयाँ प्रयोग हो, यसले हामी सफल हुन्छौं, जनतामा हाम्रा कुराहरुलाई पुर्याउन यसले ठूलो मद्दत पुग्छ,’ उनले भने।
उनले बागी उम्मेद्वारहरूले उम्मेद्धवारी फिर्ता नलिए स्वतः पार्टीको विधानले नै कारबाही गर्ने दाबी गरे। ‘हामीले कारबाही गर्न जरूरी छैन, विधानमा नै बडो स्पष्टसँग लेखिएको छ, यसरी उम्मेद्धवारी दिने हाम्रा नेता तथा कार्यकर्ताहरुले उम्मेद्धवारी फिर्ता नलिईकन चुनावी प्रचारमा हिँड्नुभयो भने उनीहरुलाई स्वतः कारबाही हुन्छ। साधारण सदस्य नै खारेज हुन्छ, प्रस्तावक र समर्थकपनि साधारण सदस्य नै नरहनेगरि कारबाही गर्छौं।’
उनले चुनावलाई केबल चुनावको रुपमा मात्रै नभईकन लोकतन्त्र रक्षाको लागि जनमतसंग्रहको रुपमा लिईनुपर्ने धारणा राखे। खाँणले एमालेले पञ्चायती शैलीको राष्ट्रवादको मुद्दा उठाएको भन्दै राष्ट्रवादी आवरणमा एमाले अध्यक्ष ओली र सिके राउत एउटै सिक्काका दुई वटा पाटा भएको समेत आरोप लगाए। उनले थपे,‘मधेशीहरुलाई गाली गर्दा उग्रवादीहरुलाई मद्दत पुग्छ, तराईको मुद्दा पनि राष्ट्रिय मुद्दा हो, यदि समयमै सम्बोधन गरेनौं भने विखण्डनको विउ रोपिन्छ।’
उनले हिमाल, तराई र पहाडमा बस्ने सबै नेपालीहरु नै भएकोले सबैले आ–आफ्नो भुगोलको रक्षा गरेको भन्दै सबैलाई समान व्यवहार गर्नुपर्ने धारणा राखे । ‘अहिलेको समय भनेको सबैलाई एकताको सूत्रमा बाँध्नुपर्छ, लोकतान्त्रिक शक्तिहरुलाई विजयी गराउनुपर्छ, किनकी यो मुलुकमा एकदलीय शासन कहिल्यैपनि आउनै सक्दैन्।’
खाँणले अबको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै विजयी प्राप्त गर्ने दाबी गरे। उनले गठबन्धन बनाउनु नौलो कुरा नभएको भन्दै यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताए।

साभार : setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *