काठमाडौ, एमाले अध्यक्ष केपीशर्मा ओलीले माओवादीसँगको एकता अगाडि बढ्न नसकेको खुलासा गरेका छन् । एमाले स्थायी समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन्। ‘गठबन्धनका बिषयमा छलफल भएको छ, प्रदेशसभा र राष्ट्रिय सभाका बिषयमा सहमति भएको छ तर पार्टी एकताका बिषयमा कुनै कुरा अगाडि बढेको छैन ।’ ओलीको भनाई उदृत गर्दैै एक उच्च स्रोतले भन्यो।
माओवादी केन्द्रसँगको एकता प्रगतिबारेमा ओलीको यस्तो भनाई उनकै मुखबाट सुनेपछि अरु नेताहरु समेत झस्किएका थिए । त्यसपछि उनीहरुले कुनै पनि हालतमा पार्टी एकता हुनुपर्नेमा जोड दिएका थिए ।
‘माओवादी केन्द्रसँगको एकताका बिषयमा अध्यक्ष ओली निराश छन् । तर माओवादी अध्यक्ष प्रचण्ड भने उत्साहित देखिन्छन् ।’ उच्च स्रोतले सरल पत्रिकासँग बतायो । समाचार सूत्रका अनुुसार एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि वार्ता गरेर एकता प्रक्रिया टुंग्याउन अध्यक्ष ओलीलाई जिम्मा दिएको छ ।
‘हामीले अध्यक्षलाई वार्ता टुंगो लगाउन र पार्टी एकता गर्न ‘वान टु वान वार्ता गर्न’ जिम्मा दिएका हौ’ नेपाल निकट एक नेताले बताए । अहिले यतिबेला पार्टी एकता हुननसकेमा डेढ वर्षमा सरकार ढल्ने पनि ती नेताले दावी गरेका छन् । सरल पत्रिकाबाट