२२ लाख पर्ने गाडीलाई २८ लाख लिएपछि सरकारी निकायको ध्यान तानियो

Uncategorized

काठमाडौं। नेपालमा बिक्री हुँदै आएको ‘इको स्पोर्ट फोर्ड’ गाडीमा खुलेआम ठगी हुने गरेको तथ्य फेला परेको छ । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने चारपांग्रे सवारीसाधनमा वास्तविक मूल्यमा अतिरिक्त शुल्क थपेर उपभोक्ता ढाड सेक्दै आएको हो । बिभिन्न शुल्क थपेर २२ लाख पर्ने गाडीलाई २८ लाख रुपैयाँ लिइदै आएको तथ्य फेला परेको हो ।

राजधानीको थापाथलीस्थित जिओ अटोमोबाइल्स प्रालिले बजारमा ल्याएको ‘इको स्पोर्ट फोर्ड’ गाडीमा उपभोक्ताको ढाडै सेक्ने गरी खुलेआम ठगी गरेको छ । हालै मात्र सरकारी अनुगमन टोलीले गरेको अनुगमनका क्रममा जिओ कम्पनीका गाडीहरू खरिद मुल्यभन्दा ८ गुणा बढी मूल्यमा बेचेर उपभोक्तालाई ठगी गरेको भेटिएको हो ।

सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओले बिक्री गर्ने चारपांग्रे सवारीसाधनमा वास्तविक मूल्यमा अतिरिक्त शुल्क लिएर उपभोक्तालाई छुटको भ्रम छरी ग्राहकबाट अनाधिकृत रुपमा बढी रकम असुल्ने गरेको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार अनुगमनका क्रममा थापाथलीमा रहेको यस कम्पनीले ईको स्पोर्ट फोर्ड १ दशमलव ५ पेट्रोल गाडीको लागतभन्दा बढी मूल्य लिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले राज्यलाई कर तिरेको छु भन्दैमा उपभोक्ताको ढाड सेक्ने गरी रकम असुल्नु खुलेआम लुट भएको बताउनुभएको छ ।

विभागले अनुगमनपछि उक्त कम्पनीले बेच्ने गरेका सवारी साधनको मूल्य बढ्नुको कारणसहित तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो । कम्पनीका प्रबन्धक तेजकरण जैनले बिहीबार विभागमा आएर गाडीको मूल्यवृद्धिको कारणका सम्बन्धमा स्पष्टीकरण दिए पनि मूल्य बढ्नुको कारण भने खुलाउन नसकेको महानिर्देशक दाहालको भनाई छ । उहाँले विभागले पहिलो चरणमा चित्तबुझ्दो जवाफ नपाएपछि पुनः तीन दिनभित्र लिखित स्पष्टीकरण र आवश्यक कागजात पेस गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

कम्पनीले एउटै गाडीमा अतिरिक्त मुल्य जोडेर कम्पनीले ग्राहकसँग ६ लाख रुपैयाँ बढी लिदैं आएको छ । विभागले वास्तविक मूल्यभन्दा बढी बिल जारी गर्नुको कारण स्पष्ट हुन नसकेको, वास्तविक मूल्यभन्दा बढी मूल्य लिएर कम्पनीले ग्राहकलाई भारी छुटको भ्रम छर्दै आएकोले राज्यको नियम कानुनको धज्जी उडाएको जनाएको छ । कम्पनीले हरेक ग्राहकलाई गाडी खरिदमा विज्ञापन खर्च, प्रशासनिक खर्च, कर्मचारी तलब खर्च, पेट्रोल, मोबिल, हिटर फिटिङ, एक्ससरिज डेलिभरिजस्ता शीर्षकमा थप रकम असुल्ने गरेको छ । यो सँगै कम्पनीले उपभोक्तालाई बैंक ब्याज, गाडी बिक्री हुनु अघि शोरुममा पार्क गरेको शुल्कसमेत उपभोक्तालाई तिराउदै आएको छ ।

साभार : news24nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *