गुट परिबर्तन गरेर मुख्यमन्त्रि बन्ने दाउमा एमालेका यी नेता, गुट फेरे पछि यस्तो देखियो मुख्यमन्त्रिको सम्भावना

Uncategorized

नेकपा एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डेले गुट परिवर्तन गरी प्रदेश तीनको मुख्यमन्त्री बन्ने दौडमा लागेका छन्। यसअघि झलनाथ खनाल—मावधकुमार नेपाल निकट रहेका उनले अध्यक्ष केपी शर्मा ओली गुटबाट मुख्यमन्त्री दावी गरिरहेका हुन्।

धादिङ—१ क बाट प्रदेश सभामा निर्वाचित पाण्डेले प्रदेशसभा सांसदहरुलाई फोन गर्दै अध्यक्ष केपी शर्मा ओलीको समर्थन आफूलाई रहेको भन्दै सहयोगका लागि आग्रह गरिरहेका छन्।

‘अध्यक्षको समर्थन मलाई रहेको छ। तपाइँहरुले सहयोग गर्नुपर्यो। ३८ मतका साथ पार्टीबाट संसदीय दलको नेता चुनिन्छु’ उनको भनाइ उदृत गर्दै एक प्रदेश सांसदले भने।

प्रदेश तीनमा कूल ११० सांसद छन्। सरकार निर्माणका लागि ५६ सांसद भए पुग्छ। यो प्रदेशबाट एमालेले ५८ सिट जितेको छ। प्रदेश मुख्यमन्त्रीको प्रत्यासी चयन एमाले प्रदेश तीन संसदीय दलले गर्नेछ।

संसदीय दलको नेता चुनिन पाण्डेलाई कम्तिमा ३५ सांसदको समर्थन आवश्यक पर्छ। उनी आफूसँग कम्तिमा ३८ सांसद रहेको दाबी गरिरहेका छन्।

‘प्रदेश तीनको मुख्यमन्त्रीका लागि म स्वभाविक उम्मेदवार हुँ’, पाण्डेले भने, ‘एमालेको प्रदेश तीन संसदीय दलले यसबारेमा निर्णय गर्नेछ।’

प्रतिनिधि सभा एवं प्रदेश सभा चुनाबको करिब एक महिना अगाडि एमाले प्रदेश कमिटी बैठकले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रदेश तीनको मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। त्यो निर्णयमा पशुपति चौलगाईँ, राजेन्द्र पाण्डे, अरुण नेपालले समेत हस्ताक्षर गरेको एक एमाले नेताले बताए।

पाण्डे लामो समयदेखि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट रहँदै आएका थिए। नवौं महाधिवेशनमा शाक्य र पाण्डे दुवैले माधवकुमार नेपाल पक्षबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। शाक्यले चुनाव जितेकी थिइन्। पाण्डे उपाध्यक्षमा पराजित भएका थिए।

२०४८, २०५१ र २०५६ सालमा धादिङ–३ बाट प्रतिनिधिसभा चुनाव जितेका पाण्डे २०६४ सालमा पराजित भएका थिए। २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा पाण्डेले फेरि चुनाव जितेका थिए। गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उनी प्रदेश सभामा उठेका थिए।

प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीमा बहुमत नभएको कारण पाण्डेको नाम प्रतिनिधि सभामा सिफारिस भएर आएन। अर्कोतरि नयाँ क्षेत्र निर्धारण हुँदा धादिङ जिल्ला दुई क्षेत्रमा खुम्चिन पुग्यो।

जसले गर्दा पाण्डेले सधँै लड्दै आएको क्षेत्रमा भूमि त्रिपाठीको नाम सिफारिस भयो। उनी धादिङ—१ बाट प्रदेश सभामा प्रत्यासी बने। चार पटक सांसद भइसकेका पाण्डे प्रदेश सभा उम्मेदवार हुँदै धेरैले उनलाई मुख्यमन्त्रीको प्रत्यासीको रुपमा आँकलन गरेका थिए।

‘मैले अहिले आएर मुख्यमन्त्री दावी गरिरहेको होइन’, नेता पाण्डेले भने, ‘पहिलैदेखि मेरो स्वभाविक दावी हो। एमाले संसदीय दलबाट यसको निर्णय हुन्छ।’ नेपालखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *