माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय, ओलीलाई थप शक्तिशाली अधिकार

समाचार

काठमाण्डाै  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालसहितका पाँच जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले गुटगत गतिविधि गरेर पार्टी विधान विपरितका काम गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने केहि प्रस्तावमा पनि छलफल भइरहेको छ । संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेका व्यक्तिको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्षलाई नै दिने प्रस्तावमा छलफल भइरहेको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको निर्णयको जिम्मेवारी र केन्द्रीय कमिटी सदस्यको मनोनयन तथा कारबाहीको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिने प्रस्ताव बैठकमा पेश भएको छ ।

यसअघि बिहान बसेको संसदीय समितिको बैठकले संसदीय दलको उपनेता बर्खास्ति र नियुक्तिको अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । ujyaaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *