अध्यक्ष ओलीसँग काँधमा काँध मिलाएर अघि बढ्छौं, पार्टी फुटाउन चाहन्नौं : भीम रावल

समाचार

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अब आफूहरु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन्। उनले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको समेत बताएका छन्।

“हामी एउटै पार्टीको हो– उहाँ (केपी ओली) अध्यक्ष हुनुहुन्छ म उपाध्यक्ष। यो देशलाई गन्तव्यमा पुर्‍याउँने हामी साझा थलो, उद्देश्य र लक्ष्यका साथ अघि बढ्छौं”, प्राइम टेलिभिजनसँग कुराकानी गर्दै रावलले भने, “अध्यक्षसँग काँधमा काँध मिलाए अघि बढ्छौं।”

अध्यक्ष ओलीसँग मिलेर अब नेकपा एमालेलाई सशक्त बनाउने उनले बताए। नेकपा एमालेको बैठकबाट जे निर्णय हुन्छ त्यो निर्णय दृढतापूर्वक कार्यन्वयन गर्ने दाबी समेत उनले गरे। प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने वा नलिने भन्ने कुरा पार्टीले निर्णय गर्ने उनले बताए।

“नेपाली जनताले यत्रो विश्वास दिएर निर्वाचित गरे, हामीले त्यही बेला ओलीलाई पाँच वर्षको प्रधानमन्त्री भने अघि बढाएका हौं। अन्तरविरोध स्वरुप पछि समस्या उत्पन्न भएको हो। यसबीचमा जे जस्ता घटना भए ती दुःखद हुन्”, रावलले भने।

विगतमा भएका नकारात्मक कुरालाई छोडेर अघि बढ्नु पर्ने उनले जनाए। विगतका गल्ती सच्याउँदै ती गल्तीबाट पाठ सिक्नुपर्ने उनले बताए। उनले भने, “हामी पार्टी फुटाउन चाहदैनौं। हामी फुट होइन एकीकरणका वाहक हौं।”

नेकपा एमाले निर्माण, सिर्जना र अघि बढाउने कुरामा सबैको योगदान रहेको उनले बताए। नेकपा एमाले सबैको पार्टी भएको उनले जनाए।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई ‘तपाईँ कुन पार्टीको हो’ भनि सोधिएको प्रश्नको गलत व्याख्या भएको उनले बताए।

“त्यहाँ मैले प्रश्न सोधेको के हो भने हामी यहाँ प्रस्तुत हुँदा कुन पार्टीको रुपमा प्रस्तुत भइराखेका छौं। प्रधानमन्त्री स्वयम नै कुन पार्टीको रुपमा प्रस्तुत हुनुहुन्छ त्यो नै प्रष्ट भइसकेको थिएन, किनकि सर्वोच्चले दुई पार्टीलाई त पुरानै अवस्थामा फर्काइदिएको थियो”, उनले स्पष्ट पारे।

मतभेद हुँदा, विवाद हुँदा कस्ले कस्लाई कारबाही गर्‍यो भन्नेतिर अब जान नहुने उनले बताए। ती कुरालाई त्यही बेलाको सन्दर्भमा बुझ्न समेत उनले आग्रह गरे।

“सर्वोच्च अदालतको फैसलापछि हामी नयाँ परिस्थितिमा आएका छौं। नेकपा एमाले हजारौ, लाखौको पसिना र रगतबाट सिर्जित पार्टी हो,” उनले भने।

पुरानै पार्टीमा फर्कदा आफ्नो कुनै बिजोग नभएको उनले बताए। उनले थपे, “हामी नेकपा एमालेमा छौं। कोही व्यक्ति गएको, कोही आएको भन्ने हुँदैन।”

प्रधानमन्त्री तथा अध्यक्षलाई पार्टीको विधान र प्रक्रियाबाट शक्ति प्राप्त हुने उनले जनाए। अब नेकपा एमाले भित्र विधि र प्रक्रियाबाट हुने निर्णय प्रधानमन्त्री र आफूहरु सबैले मान्ने उनले बताए।

“विगतमा कतिपय कुराहरु पार्टीको निर्णय अनुसार भयो, त्यहा समस्या आएन। जहाँ भएन त्यहाँ समस्या आयो। अब विगतबाट पाठ सिकेर त्यस्तो हुन नदिन सबैले योगदान दिनुपर्छ”, रावलले भने।

“प्रधानमन्त्रीसँग पदमा रहने नैतिकता छैन’ भन्ने अभिव्यक्ति अन्तरविरोधको अवस्थामा आपूmले दिएको उनले बताए। “मैले के भने, मलाई के भने भन्ने अध्याय समाप्त भएको छ”, उनले भने।

सर्वोच्चको फैसलापछि आपूmहरु नेकपा एमालेको विधि, प्रक्रिया र मान्यतामा प्रवेश गरेको उनले स्पष्ट पारे।

“अब नयाँ यात्रा आरम्भ गर्छौं, त्यो नयाँ यात्रा भनेको विधि सम्मत हुन्छन्। त्यसलाई नमान्ने कुरा हुँदैन। ती सबै पार्टीको विधि अनुसार आउँछन्”, रावलले भने। अन्तरविरोधको अध्याय समाप्त भएको दाबी उनले गरे।

“अब नेकपा एमालेलाई बलियो सुसंगठित रुपमा अघि बढाउनु पर्छ। हामी त्यो चरणमा प्रवेश गरिसक्यौं”, उनले बताए।

प्रधानमन्त्रीले गरेको संसद विघटन ठीक थियो वा थिएन भन्ने पार्टीमा छलफल भएपछि मात्र सकिने उनले जनाए। आपूmले कहिल्यै अध्यक्ष ओलीलाई गाली नगरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *