शिवरात्रिमा आउँदै छ मनीषाको आवाजमा महामृत्युञ्जय मन्त्र

समाचार

काठमाडौं- मुम्बई फिल्म उद्योगकी प्रख्यात नायिका मनीषा कोइराला अब गायिका बनेकी छिन्। उनले रेकर्ड गरेको पहिलो भजन बिहीबार शिवरात्रिको अवसरमा नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ। मनीषाको स्वरमा पहिलो रेकर्ड भएको यस सांगीतिक कोशेलीलाई तयार पार्ने काम प्रख्यात वाद्यवादन समूह ‘सुरसुधा’ले गरेको हो।

‘करिब तीनवर्ष पहिले मनिषाजीले एउटा संगीतवद्ध मन्त्रजप गर्ने चाहना मसँग व्यक्त गर्नुभएको थियो,’ सुरसुधालाई संयोजन गर्दैआएका तबलावादक सुरेन्द्र श्रेष्ठले भने, ‘त्यसैको परिणाममा यो भजन तयार भएको हो।’

यस बीचमा आफूले महामृत्युन्जयको मन्त्रलाई संगीतबद्ध गरेर तयार पारेको जानकारी सुरेन्द्रले दिए।

‘त्यसरी मैले संगीतवद्ध पारेको मन्त्रलाई मनीषाजीले असाध्यै मन पराउनु भयो,’ उनले भने, ‘त्यसपछि गायनको अभ्यास पनि सुरु भयो।’

यस मन्त्र गायनमा मनीषाबाहेक सुरसुधाकै गायिका सरस्वती खत्री र स्वयं सुरेन्द्र श्रेष्ठको पनि स्वर समेटिएको छ।

करिब एक महिनाको अभ्यासपछि यस भजनलाई स्टुडियोमा रेकर्ड गरिएको र त्यसपछि म्यूजिक भिडियो पनि तयार पारिएको जानकारी उनले दिए। संस्कृतिविद् सत्यमोहनजोशीले उद्घाटन गर्ने बिहीबारको समारोहमा उक्त म्यूजिक भिडियो प्रस्तुत गरिँदैछ।

मन्त्रगायनका निम्ति महामृत्युन्जयको छनौट चाहिँ मनीषा कोइरालाकी आमा सुषमा कोइरालाबाट प्राप्त सुझावका आधारमा गरिएको हो। नेपालमा केही समययता हिंसा र महाभूकम्पका कारण धेरै मानिसको मृत्यु अकालमा भएकैले त्यसरी बितेकाहरुको आत्मालाई शान्ति मिलोस् भनेर यसको चयन गरिएको थियो। त्यसैगरी यस्तो अकाल मृत्यु फेरि कसैले वरण गर्नु नपरोस् र सबैलाई स्वास्थ्यलाभ होस् भनेर पनि यसमा कामना गरिएको छ।

‘थिम पाइसकेपछि मैले त्यसमा केही रिसर्च गरेको थिएँ,’ संगीतकार सुरेन्द्र भन्छन्, ‘त्यसपछि यस्तो महान भावनालाई हिन्दू धर्मावलम्बीमात्र नभई अन्तर्राष्ट्रिय जगतले नै महसुस गरुन् भनेर पश्चिमेली सांगीतिक शैलीको आस्वादनमा यसलाई ढालेको छु।’

सितार, बाँसुरी, तबला र पछिल्लो समय गितारसमेतको पूर्वीय आवाजबाट मौलिक नेपाली धुनहरु संसारलाई सुनाउँदै आएको सुरसुधाकोआफ्नै पारा पनि यस सांगीतिक प्रस्तुतिमा नछुटाइएको सुरेन्द्रले थपे। त्यसैगरी पुराना एरेन्जर दीप तुलाधरको सहयोग लिएर यसमा चेलो र भायोलिनको आवाजलाई पनि मिसाइएको छ।

‘महामृत्युन्जयको मन्त्रलाई भारतमा भजन पारामा धेरैले संगीतबद्ध गरिसकेका छन्,’ उनले भने, ‘मेरो सिर्जना उनीहरुभन्दा बेग्लै छ।’

प्रख्यात अभिनेत्री मनीषा कोइरालाको स्वरमा ‘महामृत्युञ्जय मन्त्र’ शिवरात्रिका दिन नेपाल र भारत दुवै देशमा एकसाथ सार्वजनिक हुँदै छ।

मनीषा कोइराला आजसम्मै गायिकाका रुपमा परिचित नभए पनि उनको परिवारमा रहेको संगीतको गुणकै आधारमा उनीमा पनि विरासतको रुपमै कलाको यो पक्ष पनि जीवन्त भेटिएको सुरेन्द्रले चाल पाएका छन्। स्मरणीय छ- मनीषा कोइरालाकी आमा सुषमा कुनै समयकी दक्ष नृत्यांगना थिइन्। उनी रागरागिनीको पनि ज्ञान राख्छिन्।

जम्मा साढे चार मिनेट लामो यो सांगीतिक प्रस्तुतिमा मनीषाको आवाजमा मन्त्र पाठ र गायन दुवै समेटिएको छ। गाउँदा गाउँदै उनी बीचैमा भनिरहेकी हुन्छिन्– ‘सर्वे भवन्तु सुखिन…।’

‘यो मनिषा कोइरालाको पहिलो गायन प्रस्तुति हो,’ विश्वविख्यात सुफी गायिका आविदा परविनसँग समेत तबलावादन गरिसकेका सुरेन्द्र भन्छन्, ‘तर, उहाँले चाहेमा नायिकामात्र नरहेर गायिका समेत बन्नसक्ने सम्भावना यस भजनले पुष्टि गरेको छ।’

मनीषाले भविष्यमा फेरि पनि आध्यात्मिक गीतहरु गाउने इच्छा देखाएको उनले जानकारी दिए।

‘सुर र तालमात्र होइन,’ सुरेन्द्र थप्छन्, ‘आवाजको रेन्ज र त्योभन्दा पनि थ्रोचाहिँ अचम्मकै राम्रो छ।’

बलिउड नायिका मनीषा कोइरालाको भजन यसरी सार्वजनिक हुने जानकारी पाएपछि यसबारे भारतमा पनि जिज्ञासा उत्पन्न भएको र आफूलाई धेरैतिरबाट फोन आएको सुरेन्द्रले बताए।

उनका अनुसार बिहीबार नेपालमा सार्वजनिक भइरहेकै बेला भारतमा पनि मुम्बईस्थित ‘टाइम्स म्यूजिक’ले एकसाथयसलाई प्रसारण गर्ने तय भइसकेको छ। नेपालको हकमा भने इच्छुक सबैजसो प्रशारण संस्थाहरुलाई बुधबार लिंक प्रदान गरिनेछ जसबाट बिहीबार सबैले एकसाथ कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न सक्नेछन्। deshsanchar

Leave a Reply

Your email address will not be published. Required fields are marked *