मेयरको कार्यकक्षमा किसानले फाले गोलभेडा

समाचार

परासी — स्थानीय तहले किसानको समस्या समाधान गर्न नससकेको भन्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसानले नगर प्रमुखको कार्यकक्षमा गोलभेडा फालेर विरोध जनाएका छन् ।

भारतीय गोलभेडा खुल्लमखुला बजारमा भित्रिएको र स्थानीय तहले किसानको समस्या समाधान गर्नेतर्फ योजना नल्याएको भन्दै नगरपालिकाको कार्यालय अगाडी, नगर प्रमुखको कार्यकक्ष र सडकमा गोलभेडा फ्याँकेर विरोध जनाएका हुन् ।

नगर प्रमुखलाई आफ्नो समस्याबारेमा जानकारी गराउन खोज्दा नगर प्रमुख धिरज शर्मा बस्यालले समयम नदिएपछि किसानले उनको कार्यकक्षमा समेत गोलभेडा फ्याँकिएको स्थानीय कृषक सन्त बहादुर चौधरीले बताए ।

‘कमिसन आउने र आफ्ना कार्यकर्तालाई काम दिने योजनामा मात्र बढी जोड दिने, किसानको फसलले मूल्य नपाएको नदेख्ने जनप्रतिनिधि के काम ?’चौधरीले भने, ‘किसानलाई समय नदिने नगर प्रमुखको विरोधमा कार्यकक्षमा गोलभेडा फ्याँकेर विरोध जनाएका हौं ।’

गोलभेडा फ्याक्नेक्रममा आक्रोसित किसानहरु र नगर प्रहरीबीच केहीबेर तनाव भएको थियो । स्थिती नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी परिचालन गरीएको थियो । किसानहरुले २ वटा गाडीमा ३० क्विन्टल टमाटर ल्याएर नगरपालिका परिसर र कर्मचारीहरुका कार्यकक्षमा फालिदिएका हुन् ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले किसानहरुको गोलभेडा बिक्री नभएको भन्ने आफूहरुलाई जानकारी नै नगराएर एकै पटक आन्दोलित भएको बताएका छन् । पूर्व सूचना बिना एकैपटक आएर टमाटर फाल्ने काम गरी अराजकता प्रदर्शन गरेको बस्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *