नेपालको रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक

समाचार

काठमाण्डौं। भौतिक पूर्वाधार तथा यातायातमन्‍त्री वसन्तकुमार नेम्बाङ्गसँग नेपालका लागि रसियाका राजदुत एलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन् सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्‍त्रालयमा आज भएको भेटवार्तामा नेपालको रेलवे विस्तारमा रसियाले लगानी गर्न इच्छुक रहेको बताएका छन्। रसियन रेलवेको तर्फबाट मन्‍त्रालयमा आशय पत्रसमेत बुझाइएको छ।

भेटमा मन्‍त्री नेम्बाङ्गले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भई कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए। काठमाण्डौंको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको छ। तर प्रविधि र दक्ष जनशक्तिसँगै लगानीको अभाव रहेको छ। मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट (डिपीआर) समेत तयारी भइसकेको छ। परियोजना निर्माण गर्ने अवस्था रहे रसियन पक्षलाई उक्त कागजात उपलब्ध गराउन तयार रहेको मन्‍त्री नेम्बाङ्गले बताए।

रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको बताए। रसिया र अन्य विश्वको विभिन्‍न मुलुकमा रेल सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुंगा हुने रसियन प्रतिनीधि मण्डलले बताए।

भेटमा द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल हुनका साथै रुसी सहयोगमा निर्माण भएका विगतका परियोजनाहरू कान्ति अस्पताल, पनौती हाइड्रो इलेट्रिक स्टेसन, पूर्वपश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्ड, जनकपुर चुरोट उद्योग, कृषि औजार कारखाना, विरगञ्‍ज सुगर मिल र रोजिन एण्ड टर्पाइन प्लाण्ट बारे समेत छलफल भएको मन्‍त्री नेम्बाङ्गका प्रेस संयोजक सन्दिप राईले बताए।

उक्त भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्‍त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सहसचिव रामहरी पोखरेल, रेल विभागका महानिर्देशक प्रमिलादेवी बज्राचार्य सहभागी थिए। dekhapadhi

Leave a Reply

Your email address will not be published. Required fields are marked *