यूएईमा चार नेपाली युवतीको दर्दनाक कथा, साहुले नै थुनेको महिनौं भइसक्यो

समाचार

काठमाडौं। साहुले कोठामा थुनेको छ। बाहिर निस्क्यो कि उनीहरुको गतिविधि क्यामेरामा कैद हुन्छ। साहुले उनीहरुको थरिथरिको फोटो खिचेको छ। जे भन्यो त्यही मानेन भने पिटाइ खानुपर्छ, हिंसा सहनुपर्छ। यस्तो अति सहनुपर्छ कि त्यसको बयान गरिसाध्य छैन। सुनाउँदा गला अबरुद्ध हुन्छन् र सुन्दा आँसुका भेल बग्छन्।

साहु इजिप्टको हो व्यापार युएईको दुवईमा गरेर बसेको। पिटाइले शरीरमा जताततै नीलडाम छन्। केही रकम कमाएर बृद्ध बाबु आमा पालौँला भनेर म्यानपावर कम्पनीलाई धेरै रकम तिरेर त्यहाँ पुगेका उनीहरुको जीवन नारकीय बनेको छ। उनीहरुको जीवन के हुने हो, कतिबेर पिटाइ खानुपर्ने हो केही ठेगान छैन।

एकवर्षअघि सुन्दर भविष्यको कल्पना गर्दै म्यानपावर कम्पनीले देखाएको सपनामा रमाउँंदै पहिलोपल्ट ठूलो जहाज चढेर उढेका उनीहरु दुवई पुगेदेखि नै आपत्मा पर्दै गए। त्यहाँ पुगेको छ महिनादेखि नै उनीहरुको नरकीय जीवन सुरु भयो, भन्नै र सुन्नै नसक्ने पीडादायी जीवन।

उनहीरुले रुँदै भिडियोमार्फत उद्धार गरिदिन अपील गरेका छन्। रोजगारीका लागि क्लिनर काममा यूएई पुगेका उनीहरु विगत ६ महिनादेखि बन्दक बनिरहेका छन्। उनीहरु जीउँदै घरदेश फर्कने आशामा छट्पटाइरहेका छन्।

के छ अवस्था ?

परिवार पाल्ने बाध्यता आइलागेपछि हारगुहार गरेर धन कमाउन उपाय खोज्ने क्रममा युएई पुगेका उनीहरु एउटा सानो कोठामा थुनिएको अवस्थामा छन्।

उनीहरुलाई एउटा सानो कोठामा ताला लगाएर राखिएको छ। यतनाको कुरै नगरौं। उनीहरु शारीरिक र मानसिक यातनाका सिकार बनिरहेका छन्। त्यो ठाउँ उनीहरुका लागि नर्क बनेको छ। बस्न नसक्ने अवस्थामा पुगेका उनीहरु एउटै आशामा छन्, कसैले उद्धार गरिदिन्छ कि ?

घटनाको प्रकृति

गत वर्ष फागुन ८ गते उनीहरु नेपालबाट यूएई उडेका थिए। नेपालको सम्पदा ओभरसिज प्राइभेट लिमिटेडबाट यूएई प्रस्थान गरे। घरमा नाबालक भाइबहिनी, वृद्ध आमाबुबाको माया मारेर पैसा कमाउन विदेश उडे। नेपालबाट जाँदा आर्कषक तलव सुविधा अफर गरिएको थियो। सुरुमा उनीहरु पाँच जना थिए। तर, जब यूएई पुगे सपनाहरु एकपछि अर्को गर्दै चकनाचुर हुन थाले। सुरुका दिनहरुमा काम भएन। त्यहाँ लगेर अलपत्र पारियो। काम भएपछि पनि पैसा कम पाइयो। अर्काको ठाउँ हो, खान पर्छ बस्न पर्छ। सुरुमा बिस तिस रुपैयाँमा काम गरे दिनको। त्यसले न खान पुग्थ्यो, न त बस्न नै। अझ कहिलेकाहीँ त त्यही पनि हुन्थेन। काम नै हुन्थेन। ६—६ महिनासम्म त्यसरी नै कष्टकर जीवन बिताए उनीहरुले। त्यसरी त साहै्र गाहो्र भयो। त्यसपछि उनीहरुले घर फर्कने निर्णय गरेका थिए।

तर, कसरी ? म्यानपावर कम्पनीलाई भने तर त्यसले कुरै सुन्न चाहेन। त्यसपछि अरु कसैले सहयोग गरिदिन्छ कि भने घर फर्काइदिन थुप्रै व्यक्तिहरुसँग हार गुहार गरे। उनीहरुमध्येकै एकजना साथीचाहिँ नेपालबाट पैसा तिरेर भागेरै फुत्किन सफल भयो। त्यो कुरा उनीहरुको कम्पनीले थाहा पाउने बित्तिकै उनीहरुमाथि कडाइ गरियो। त्यसयता उनीहरुलाई एउटा सानो कोठामा थुनेर राखिएका छन्।

आवश्यक परे जस्तोसुकै जोखिम लिन तयार

नेपाल फर्किनका लागि आवश्यक पर्दा जस्तुसुकै जोखिम लिन तयार रहेको उनीहरु बताउँछन्। उनीहरुले उद्धारकर्ताहरुलाई भिडियो पठाएर नै रुंदै आफ्नो कथा सुनाएका छन्। तर उद्धारकर्ताहरु पनि युएईस्थित नेपाली दूतावासले उद्धारका लागि पहल नगरिदिँदा केही गर्न सक्ने अवस्थामा छैनन्। उनीहरु थुनिएको अवस्थामा भएकाले त्यहाँबाट छुटाउन युएई प्रहरीको सहयोग लिनुपर्छ। त्यसका लागि दूतावासकै पहल जरुरी छ।

व्यक्तिगत पहल गर्दा साहुले पीडितहरुमाथि थप आक्रमण गर्ने खतरा रहन्छ भन्ने डरले केही सहयोग गर्न चाहनेहरु पनि हच्किएका छन्। उनीहरुले आफूहरुमाथि भएको ज्यादतिको हिसाव किताव रेकर्ड गरेर राखेका पनि थिए तर साहुले मोबाइल खोसेर ती सबै कुरा मेटाइदियो, केहीको मोबाइल फोन नै लगिदियो, केहीको फुटाइदियो। बन्धक बनाइएका उनीहरुलाई कसैसँग भेट्न दिइएको छैन।

उद्धारको आशामा उनीहरुले पठाएको आवाजमा भनिएको छ, ‘हामीलाई कसैसँग भेट्न पनि दिइएको छैन। कति दिनसम्म त हामी सँगै बस्न पनि पाएनौँ। पहिले अलग अलग ठाउँमा राखियो।’

‘लामो समयसम्म हामी साथीहरु एक आपसमा भेट्न पनि पाएनौँ। केही कुराहरु गर्न पाउदैनौँ। हामीले बाहिर गएर केही भन्ने अवस्था पनि छैन। बाहिर जान दिइएको छैन। यहाँ हामीलाई कोठा बाहिरबाट चाबी लगाई राखिएको छ। न त फोन सम्पर्क छ, न त कसैसँग भेटघाट छ। लुकिछिपी कन्ट्याक्ट गरेको थाहा भयो भने, ठूलो जोखिम मोल्नुपर्छ।’

‘कहिलेकाहीँ बाथरुममा गएर मोबाइल चलाउन मिल्छ। हामी बन्धक बनेका छौँ। हाम्रो पक्षमा हाम्रो पीडालाई देखेर हाम्रो बारेमा कोही कसैले बोल्न तयार भइदियो भने बोदिदियो भने, हामी सबैकुरा खुलस्त भन्न सक्छौँ।’

उनीहरुले रुँदै भनेका छन्, ‘हामी यो ठाउँमा रमाइलो गर्न आएका होइनौं, वद्ध आमाबुबा, नाबालक भाइबहिनी र छोराछोरी छोडेर विदेश आउनु पर्यो। हामी मेहनेत गरेर दुईचार पैसा कमाउन विदेश आएका हौँ। हामीलाई कुनै न कुनै माध्यमबाट तपाईहरुले सहयोग गर्न हुने छ भन्ने आशा छ। त्यही भएर छोटो भिडियो पठाएका छौँ। खाउँ खाउँ लाउँ लाउँ भन्ने उमरेमा कालकोठरीमा हुलिनु परेको छ। हामी मेहेनत गरी पैसा कमाउन विदेश आएका हौँ। हामी कतिसम्म यसरी बसिरहने तेह्र तेह्र महिना भइसक्यो। अहिले हामीसँग केही छैन। कोही छैन यहाँ। तपाईहरुले केही गर्नु हुन्छ कि भन्ने आशा छ। हामीलाई जसरी पनि यहाँदेखि निकाल्दिनु पर्यो। हामी यो नर्कबाट छुटकारा पाउन चाहान्छौँ।’

काभ्रे घरभएकी तामाङ थरकी २६ बर्षीय युवतीका साथमा युएईको हेन्ड मोहम्मद बिल्डिङ्ग क्लिनिंगमा कार्य गर्न लगिएका दुईजना राई थरक, सोही कम्पनीमा कार्य गर्न लगिएकी थापा थरकी युवतीहरुलाई दलालहरुले युएई लगेर यसरी विचल्ली पारेका हुन्। डिसीनेपाल

(उनीहरुको नाम र भिडियो डिसी नेपालसँग भए पनि उद्धारपूर्व उनीहरुलाई समस्या आउन सक्ने भएकोले उनीहरुको भिडियो र नाम गोप्य राखिएको छ। भिडियो डिसी नेपालसँग सुरक्षित छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *