नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई बिहीबार बिहान प्रहरीले गिरफ्तार गरेर लगेपछि शंखमूल निवासमा उनका पति पशुपति पुरी शुभचिन्तकहरूसँग कुराकानी गर्दै थिए।
त्यही बेला आफन्तको फोन आयो। उनीहरूबीच झाँक्रीको पक्राउ र ८ वर्षे छोरा आरवबारे कुराकानी भयो। ‘छोरालाई धेरै थाहा छैन,’ पशुपतिले फोनमा भने, ‘मानसिक असर केही पर्छ कि भन्ने लागेको छ।’
टेलिफोन कुराकानी सकिएपछि हामीले पनि पशुपतिसँग कुरा गर्न खोजेका थियौं। तर, उनले झाँक्रीको गिरफ्तारीबारे कुनै प्रतिक्रिया दिएनन्। भौतिक तथा पूर्वाधार मन्त्रालयमा उपसचिव रहेका पशुपति र झाँक्रीको ११ वर्षअघि विवाह भएको थियो।
आज जुन दिन झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गरियो, संयोगले यो उनीहरूको एनिभर्सरीको दिन हो। ‘आज हाम्रो एनिभर्सरी हो। एघार वर्षअघि आजैको दिन हाम्रो बिहे भएको थियो,’ पशुपतिले भने।
बिहीबार बिहान सादा पोसाकका प्रहरी रामकुमारीलाई पक्रन घर आउँदा उनीहरूका छोरा अनलाइन क्लास लिँदै थिए। घरबाहिर प्रहरीको बाक्लो भीड देखेपछि छोरा आरवले रामकुमारीलाई सोेधेका थिए, ‘ममी प्रहरी किन यहाँ आएको?’
रामकुमारीले छोरालाई सम्झाउँदै भनिन्, ‘यो सबै नेता बुवाले गर्दा भएको हो। तिम्रो नेता बुवाले के गर्नुभयो? के गर्नुभयो?’ रामकुमारीका अनुसार उनका छोराले प्रधानमन्त्री केपी ओलीलाई ‘नेता बुवा’ भनेर चिन्छन्।
‘प्रधानमन्त्रीले छोरालाई धेरै माया गर्नुहुन्थ्यो। उसलाई बलसमेत पठाइदिनुभएको थियो,’ झाँक्रीले भनिन्, ‘नेता बुवा भनेपछि उसले चिन्छ भनेर मैले यो सबै नेता बुवाले गरेको हो भन्दिएको छु।’ प्रहरीहरू आफूलाई पक्राउन गर्न घर वरिपरि घुम्न थालेपछि आत्तिएका छोरालाई ‘मलाई केही हुँदैन बाबु’ भनेर सम्झाएको पनि उनले बताइन्। सेतोपाटी