समर्थकको हौसला बढाउन घरबाहिर निस्किइन् रामकुमारी झाँक्री

समाचार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् ।

झाँक्रीलाई पक्राउ गर्न खोजिएको विरोधमा समर्थकहरूले नाराबाजी गरे हुन् । उनीहरूले ‘रामकुमारी झाँक्री हाइहाइ, केपी–विद्या बाइबाइ !, प्रहरी हस्तक्षेप बन्द गर !’ लगायत नारा लगाएका छन् ।

घरबाहिर प्रहरी तैनाथ भइरहेका बेला झाँक्रीले भित्र पत्रकारहरूसँग कुराकानी गरेकी थिइन् । उनले आफूखुशी प्रहरी कार्यालय नजाने भन्दै पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई चुनौती दिइन् । पत्रकारहरूसँग कुराकानी गरेपछि झाँक्री समर्थकको हौसला बढाउन घरबाहिर निस्किएकी छन् । लोकान्तर

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकको प्रहरी उनको निवासमा

नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको बताएको थियो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको बताएका थिए।

‘हामीले उहाँलाई बिहीबार बिहान १० बजे आउन भनेका छौं,’ थापाले सेतोपाटीसँग भने। सुरूमा प्रहरी कार्यालय बोलाएको भने पनि अहिले सादा पोशाकमा प्रहरी उनको निवासमै पुगेका हुन्। यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो। ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्। झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो।

झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन्।बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्। मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *