प्यारालाइसिसको उपचार गरी भर्खरै निस्केका थिए ट्याक्सी जलेका कुम्भनारायण

समाचार

२०७७ माघ २२ गते बिहीबार एकातिर नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आम हड्ताल तथा नेपाल बन्दको कार्यक्रम अर्कोतिर बिहानै भाइको क्ष्इभ् पुलचोकको परीक्षा । यसो बन्दको प्रभाव हेरौँ न त भनेर फेसबुक स्क्रल गरेँ । सुरुमै मेरो नजर जलिरहेको एउटा ट्याक्सीमा पर्न गयो ।

मनमा चिसो पस्यो, दुःखी तुल्यायो मलाई त्यस तस्बिरले । सायद नेपाल कम्युनिस्ट पार्टीसँग आवद्ध एउटा युवा भएका हिसाबले पनि होला मलाई आत्मग्लानी भयो । मनमा एउटा प्रश्न उब्जिरहेको थियो, के यही हो त सर्वहारा जनताको लागि आन्दोलन ? यही हो त हामीले चाहेको परिवर्तन ?

मलाई केही गर्न सक्छु कि भन्ने भाव पलायो । सुरुमा दिदी ललिता तिमिल्सिना हुमागाईसँग आफ्ना कुरा राखेँ । सहयोग गर्ने इच्छा भएको तर विद्यार्थी भएकाले पनि रकम अभाव भएको बताएँ । दिदीले पनि सहयोग गर्छस् भने म पनि आफूले सक्ने मद्दत गर्न बताउनु भयो । त्यसपछि दाइ मनिष महर्जन र विवेक अधिकारीसँग पनि कुरा राखेँ ।

उहाँहरुले पनि दुई/दुई हजार रुपैयाँ दिनुभयो । आफूसँग भएको चार हजार,  दिदीले दिनुभएको दुई र दाइहरुले दिनु भएको चार हजार गरी मसँग १० हजार जम्मा भयो । त्यसपछि मैले ट्याक्सी चालक दाइलाई भेट्न चाहेँ । सम्पर्क नपाएपछि नेपाल प्रहरीको टोल फ्री नं. १०० मा सम्पर्क गरि उहाँको सम्पर्क नं पत्ता लगाएँ ।

करिब २५ र ३० पटक कल गर्दा पनि नउठेपछि मैले उहाँलाई फोन उठाउन आग्रहसहितको म्यासेज पठाएँ । त्यसपछि उहाँले डराउँदै कल उठाउनु भयो । आफूलाई डर लागेको र केही पनि नचाहिने भन्नुभयो । मैले उहाँलाई सहयोग लिनको लागि डाकेँ ।

उहाँ फाटेको कपडा, पुरानो टोपीमा चप्पल पड्काउँदै आइपुग्नु भयो । उहाँको दयनीय अवस्था देखेर मलाई माया लागेर आयो । उहाँसँग केही कुराकानी गरेँ । कुराकानीवाट थाहा भयो कि उहाँ करिब ३ महिना अस्पतालको शैय्याँमा बसेर भर्खरै काममा लाग्नु भएको रहेछ ।

दुई छोरा र एक छोरीका बुबा उनी, आफ्ना परिवारसँग भाडाको कोठामा बस्दै आउनु भएको रहेछ । लामो समयदेखि प्यारालाइसिस भएर ओच्छ्यान पर्नुभएको रहेछ । जसको उपचार खर्चका लागि धादिङको घरजग्गा बेच्नु परेको रहेछ । तीन सन्तानमध्ये एक छोरी अर्कै घरमा काम गर्दिरहिछन् भने श्रीमती ककनी नजिक जग्गा भाडामा लिएर जिविकोपार्जन गर्ने तथा उहाँ ट्याक्सी चलाउँदै आउनु भएको रहेछ ।

यो सुनेर मन भारी भएर आयो,  कसका लागि थियो यो आन्दोलन ? के क लागि भएको हो यो आम हड्ताल ? यी सोझा जनताले शान्तिको श्वाँस फेर्न नपाउने नै हुन त ?  उहाँको कुनै बैंक खाता समेत रहेनछ । हामीले खाता खोलम न त भन्दा उहाँको साथमा नागरिकता पनि थिएन ।

केही त गर्नैपर्छ भन्ने सोचका साथ मैले नागरिकता लिन जाने निधो गरेँ । बन्द र हड्तालको चुनौती त छँदै थियो तर पनि कसैले चुनौती त मोल्नु नै थियो । बन्दलाई छिचोल्दै नारायणहिटी पुगेर नागरिकतासहित उहाँकी जहानलाई लिएर आएँ । हामीले लक्ष्मी बैंकमा उहाँको खाता खोल्यौँ र आफूसँग भएको रकमसमेत जम्मा गरिदियौँ । उहाँ केही आशावादी हुनुभएको थियो ।

हामीले अन्य सहयोग समेत जुटाउने वचनबद्धता दियौँ । आन्दोलन आफैंमा आवेशपूर्ण कार्य हो । तर जोशमा होस गुमाउन भने कसैले हुँदैन । विधि, पद्धतिको नारा जपेर गरिब जनताको जिविकोपार्जनमा लात हान्ने छुट कसैलाई पनि छैन । हामीले संयमता अपनाएर अघि बढ्नुपर्छ । यस्ता आन्दोलन र पश्चगमनको बाटोलाई हामी युवाले निस्तेज पार्नुपर्छ ।

नेपाल बन्द सदाको लागि बन्द गरौँ । विरोध गर्ने शैलीमा परिवर्तन ल्याउँ, परिवर्तनका नाममा सोझा जनतालाई मारमा नपारौँ । उहाँलाई सहयोग गर्न चाहनुहुने महानुभावले लक्ष्मी बैँकको कुम्भनारायण श्रेष्ठ ज्युको नाममा रहेको खाता नम्बर ०१२२०१९३६६६ मा रकम जम्मा गर्न सक्नुहुनेछ । कृपया आफुले सकेको सहयोग गरौँ । सेवा नै धर्म हो । धन्यवाद । dekhapadhi

Leave a Reply

Your email address will not be published. Required fields are marked *