राजनीतिमा लोभी–पापीहरु घुस्छन्, जनताले बेकारको दु:ख पाउँछन् : हरिवंश आचार्य

समाचार

राजनीतिमा लोभी–पापीहरु घुस्छन्, जनताले बेकारको दु:ख पाउँछन् : हरिवंश

काठमाडौँ। चार महिनाअघि कलाकार हरिवंश आचार्यले युट्युबमार्फत एउटा गीत सार्वजनिक गरेका थिए । उक्त गीतको भिडियोमा मालाले अनुहार छोपिनै लागेका नेताको अवतारमा हरिवंश खुलामञ्चमा देखा पर्छन् ।

वरिपरि घेरिएकालाई आफूले लगाएको माला निकाल्दै लगाइदिन्छन् र माइक अघि उभिएर गीत गाउँछन्–

तिमी के को जान्ने,

तिमी के को सुन्ने,

म पो जान्ने सुन्ने,

तिम्लाई किन मान्ने,

म पो गन्नेमान्ने…

जनताका लागि राजनीति गर्छु भनेर नेता भएकाहरू आफैं जान्नेसुन्ने हुने र अरूको कुरै नसुनी आफैंलाई मात्र केन्द्रमा राख्ने गरेको देखेपछि हरिवंशलाई यो गीत फुरेको थियो । आफैंले गाएर आफैंले अभिनय गरेको यो गीत युट्युबमा अपलोड गरेको चार महिना नपुग्दै राजनीतिको वर्णपटमा हरिवंशले अभियान गरेजस्तै शैलीमा नेताहरू देखा परे । मै जान्ने र मै सुन्ने भन्दै उनीहरूले आरोप–प्रत्यारोपको विद्रुप गीत गाउन थाले ।

राजनीतिक कुण्डको पानीलाई छामेको भएर पनि होला प्रतिनिधिसभा विघटन, नयाँ निर्वाचनको घोषणा जस्ता अप्रत्याशित राजनीतिक घटना हुँदा पनि पूर्वाभास भएझैं अचम्म लागेन । उनले फिस्स हाँसेको भावमा भने, ‘पछिल्ला राजनीतिक खेलकुदबाटै यसको छनक मिलेको थियो ।’

पञ्चायतकालदेखि प्रहसन, गीत–संगीत र फिल्मजस्ता कलाकर्मबाट लोकतन्त्रका निम्ति होमिएका हरिवंशलाई पछिल्लो राजनीतिक घटनाक्रम कुनै अपर्झटको खेल नभएको जस्तो लाग्छ । छँदाखाँदाको विधि व्यवस्था कमजोर पार्ने राजनीतिक कदमलाई र यसभित्रको खेललाई उनले लोभी–पापीहरूको खेलको संज्ञा दिए । उनले भने, ‘जब राजनीतिमा लोभी–पापीहरू घुस्छन्, जनताले बेकारको दुःख पाउँछन् ।’ कसै–कसैले पछिल्ला राजनीतिक दाउपेचलाई साँढेको जुधाइ बाच्छाको मिचाइ भनेको पनि हरिवंशले नसुनेका होइनन् । तर उनले साढे भनेको त दिमाग नभएको प्राणी भएकाले नेताहरूको जुधाइलाई साँढेको जुधाइ भन्न नमिल्ने तर्क गर्दै भने, ‘यिनीहरू साँढे हैनन्, बरु लोभी–पापीहरू हुन् । साँढेको पो दिमाग हुँदैन र तिनीहरू जुध्दा बाच्छाबाच्छी मिचाइमा पर्छन् ।’

पञ्चायतकालमा हरिवंश आफ्ना जोडी मदनकृष्ण र अन्य कलाकारसँग मिलेर निर्दलीय व्यवस्थाको खिसी उडाउँथे अनि प्रजातन्त्रको पक्षमा घुमाउरो शैलीमा वकालत गर्थे । यमलोक, अशंवण्डा, लन्डन एयरपोर्ट जस्ता प्रहसनमार्फत हरिवंशहरूले पञ्चायतको हुर्मत मात्रै काढेनन्, प्रजातन्त्रको तिर्खा पनि जगाइदिए । उनले प्रहसनका तिनै दिनहरू सम्झिँदै सुनाए, ‘पञ्चायती व्यवस्थामा जस्तो व्यंग्य गर्थ्यौं नि हामीले, अहिले पनि त्यही अवस्था फर्केजस्तो छ ।’

लन्डन एयरपोर्ट नामक प्रहसनमा एउटा पात्रले सोध्छ, प्रजातन्त्र भनेको कस्तो हुन्छ ? जवाफ आउँछ, प्रजातन्त्र भनेको जस्तो जस्तो आकारको खल्तीमा राख्यो त्यस्तै हुन्छ । प्रजातन्त्रलाई बाँदरको हातमा राख्यो भने बाँदर जस्तै हुन्छ । बहुला मान्छेको हातमा राख्यो भने त्यस्तै हुन्छ । उनले प्रहसनको यही संवाद सम्झिँदै भने, ‘अहिले पनि यही डाइलग हुबहु मिल्छ । धेरैथोक बदलियो तर राजनीति उस्तै रह्यो ।’

पञ्चायतयताको तीन दशकभन्दा लामो समयमा नेपाली राजनीतिमा अनेकन घुम्तीहरू आए । कहिले गीतमार्फत, कहिले व्यंग्यमार्फत त कहिले फिल्ममार्फत ती सबै घुम्तीहरूलाई नजिकबाट नियालेका हरिवंशलाई राजनीतिमा अनुहार बदलियो तर प्रवृत्ति बदलिएन भन्ने लाग्छ । उनले भने, ‘मलाई जनताले के भन्लान् भन्ने फिल नै नेताहरूमा देखिएन ।’ उनलाई कहिलेकाहीं नेताहरूले जनताभन्दा विदेशीहरू खुसी पार्न पो काम गर्छन् कि भनेजस्तो लाग्छ । आफैंले ल्याएको व्यवस्था आफैले मास्न उद्यत नेता देख्दा भने उनलाई के सबै परिवर्तनहरू विदेशीले गरिदिएका हुन् कि क्या हो भनेजस्तो हुन्छ ।

लोकतन्त्र स्थापनापछि उनले जनताले लाभ पाउँछन् भन्ने आशा गरेका थिए । जनताको लाभजति सीमित नेताहरूले नै उठाइदिएको ठान्ने हरिवंशले नेतृत्वमा रहेका नेताहरूलाई नियालेको शैलीमा सुनाए, ‘औसतमा हेर्दा गरिब नेता नै छैनन् । अपवादबाहेक जो पदमा पुग्छन् उनीहरूले स्वास्नी, छोराछोरी वा कसैका नाममा सम्पत्ति थुपारेकै छन् ।’ यही देखेर आफूले राजनीतिमा लोभ र पाप मिसिएको अनि यस्तो खेल भएको निर्क्योल निकालेको सुनाए ।

उनले भनेजस्तै जनताका लागि राजनीति गर्छु भन्ने अनि आफ्नै स्वार्थ मात्र पूरा गर्ने नेताहरूलाई के लाज नलाग्ला ? उनले स्पष्ट उत्तर दिएजसरी भने, ‘लाज नै नभएको मान्छेलाई केको लाज । नेताहरूलाई के लाज ?’ अथाह सम्पत्ति जोड्ने नेताहरूमाथि निगरानी नहुने, सम्पत्ति कसरी जोडियो भनेर अनुसन्धान नै नहुने, अनैतिक काम हो भनेर प्रमाणित नै नहुने अवस्थाले गर्दा सात पुस्ताका निम्ति एकै चोटि कमाउन खोज्ने प्रवृत्ति देखिएको उनले बताए । कुबाटोबाट कमाएपछि भोलि आफूलाई राज्यले समात्छ भन्ने नै नभएपछि यस्तो भएको होला भन्ने उनको बुझाइ छ ।

विदेशी राजनीतिको पनि चासो राख्ने उनले बेलाबखत भ्रष्टाचारको मुद्दा लागेर आत्महत्या गरेका, छतबाट हाम्फालेर आफैंलाई सिध्याएका विदेशी नेताका समाचार पनि सुनेका छन् । उनले सोधे, ‘तर खै हामीकहाँ कुनै नेताले अकुत कमाएकै कारण लाज मानेको छ ? खाएपछि पचिहाल्ने भयो क्या यहाँ ।’

कहिलेकाहीं उनलाई राजनीतिका सत्पात्र छानेर नायकको भूमिकामा खेलाउँ कि भन्ने पनि लाग्छ । तर त्यतिबेला उनले एउटै नेता भेट्दैनन्, जसलाई निसंकोच नायकको भूमिका दिन सकियोस् । उनले भने, ‘यहाँ त खलनायक नै खलनायक भए । नायक र खलनायक भए पो फिल्म राम्रो हुन्छ । खलनायक मात्रै भएपछि फिल्म जसरी झुर हुन्छ त्यस्तै भयो देश ।’

लोकतान्त्रिक आन्दोलनमा आफूसँगै हिँडेका नेताहरूलाई हरिवंशले नचिनेका होइनन् । जनआन्दोलनताका त उनलाई संघर्षमा होमिएका सबै नेता आफ्नै मान्छे जस्तो पनि लाग्थ्यो । त्यही ‘आफ्ना मान्छे’ बिग्रिएको देख्दा अहिले उनलाई बढी चित्त दुख्छ । उनले प्रतीकात्मक शैलीमा जँड्याहा बाउको घर जसरी बिग्रन्छ नि, देशको त्यस्तै हालत भएको बताउँदै भने, ‘घरमुली बिग्रेपछि के हुन्छ ? छोराछोरीको के हाल हुन्छ ? न छोराछोरी बाउलाई केही भन्न सक्छन, न बाउ छोरछोरीलाई बाटो देखाउन सक्छन् । हामीकहाँ यस्तै भयो ।’

राजनीतिबाट टाढा बसेर पनि राजनीति नियालिरहेको मान्छे बताउने हरिवंशले आफूले घरको भित्तामा झुन्ड्याउन मिल्ने नेताको फोटो खोजिरहेको बताए । उनले सुनाए, ‘त्यस्तो एउटा नेता पाए हुन्थ्यो भन्ने लाग्छ तर धेरै भइसक्यो पाएको छैन । केही होला कि जस्तो लागेको थियो, फेरि निराश हुने बेला आएजस्तो लाग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *