फेरि नेपाल आउँदै रुस, रेलवे–हाइड्रोमा ठूलो लगानी गर्ने तयारी

समाचार

‘२०४६ पछि नेपालको आर्थिक क्षेत्रमा रूस र चीनलाई आउन दिनुहुँदैन भन्ने मान्यता हाबी भयो। त्यतिबेला सत्तामा रहेका पार्टी र नेताहरूले रूस र चीनको सहयोग तथा लगानी नेपाल भित्र्याउन चाहेनन्।’

छिमेकी चीन र भारत तथा शक्तिराष्ट्र अमेरिकाले आर्थिकदेखि सामाजिक र राजनीतिक क्षेत्रसम्म दबदबा बढाउँदै लगेका बेला नेपालमा पुरानो शक्तिराष्ट्र रूसले पनि आफ्नो उपस्थिति बढाउन खोजेको छ।

पछिल्ला केही महिनायता ठूला परियोजनामा लगानी बढाउने भन्दै काठमाडौंस्थित रूसी दूतावास र रूसका व्यापारिक प्रतिनिधिमण्डलले सक्रियता बढाएका छन्।

उनीहरुको सक्रियता सिंहदरबारभित्र विभिन्न मन्त्रालयसम्म खुल्ला रुपमै बढेको पछिल्ला केही दिनयताको रूसी अधिकारी र नेपालका मन्त्री तथा व्यवसायीहरूसँगको भेटले पनि पुष्टि गर्छ।

भेटमा उनीहरुले नेपालमा रेलदेखि हाइड्रोसम्मका ठूला परियोजनामा लगानी गर्न चाहेको स्पष्टै खुलाइसकेका छन्।

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)जस्तो महत्वाकांक्षी परियोजनाको हिस्सा हुने नेपालले निर्णय गरिसकेको छ भने अमेरिकाको एमसीसी परियोजनालाई पनि अघि बढाउने गरी पूर्वतयारी र गृहकार्यहरु अघि बढिसकेको छ। एमसीसी कार्यान्वयनमा सत्तारुढ नेकपाभित्र चर्कै विवाद देखिए पनि प्रधानमन्त्री केपी शर्मा ओली यसलाई नरोक्ने पक्षमा छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसले त पटक-पटक एमसीसी कार्यान्वयनमा ढिलाइ नगर्न सरकारलाई आग्रह गर्दै आएको छ। छिमेकी राष्ट्र भारतले लामो समयदेखि नेपालमा थुप्रै आयोजनामा लगानी गरिरहेकै छ।

शक्तिराष्ट्रको यही लगानी प्रतिस्पर्धाबीच रूसको सक्रियता बढेको हो।

रूसी प्रतिनिधिमण्डलको मन्त्रालय दौडधूप
गत भदौ ९ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ्गसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले भेट गरेका थिए।

भेटमा मन्त्री नेम्वाङ्गले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको कम्तीमा पनि इनरुवा–बर्दिबास खण्डको निर्माणमा लगानीसहितको सहकार्य गर्नेबारे छलफल गरेका थिए। त्यस्तै करिब ४.५ खर्ब लागत अनुमान गरिएको काठमाडौंको मेट्रो रेलमा रूसी सहकार्यको विषयमा पनि छलफल भएको थियो।

रूसी प्रतिनिधिमण्डलले फेरि यही मंसिर २४ मा मन्त्री नेम्वाङलाई भेट गर्यो। सो क्रममा उनीहरुले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र संघीय राजधानी काडमाडौंको मेट्रो प्रोजेक्टमा लगानी गर्न इच्छुक रहेको जनाएका थिए।

रेलदेखि हाइड्रोसम्ममा लगानी गर्ने इच्छा
मन्त्रीहरूसँगको भेटवार्तामा रूसी अधिकारीहरुले नेपालमा रेलदेखि हाइड्रोसम्ममा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्।

‘पूर्वपश्चिम विद्युतीय रेलमार्ग र काठमाडौंको रेलमार्गमा उनीहरु सहकार्य गर्न तयार भएका छन्’, भौतिकमन्त्रीको सचिवालयले भन्यो, ‘मन्त्री नेम्वाङलाई मस्कोको मेट्रो रेलको अवलोकन साथै राजनीतिक छलफलका लागि रूसमा निम्ता भएको छ।’

मन्त्री नेम्वाङको सचिवालयले कोभिडको महामारी सामान्य भएपछि उनले रूस भ्रमण गर्ने बताएको छ।

त्यसैगरी नेपालका लागि रूसका राजदूत एलेक्सी नोभिकोभ नेतृत्वको टोलीले मंसिर २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई मन्त्रालयमा भेटेर जलविद्युतमा लगानी गर्ने बताएको थियो।

रूसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंकले नेपालको जलविद्युतमा लगानी गर्ने प्रस्ताव गरेको राजदूत नोभिकोेभले सो क्रममा बताएका थिए। त्यस्तो लगानी सरकार–सरकारबीचको सम्झौतामा गर्न चाहेको प्रतिनिधिमण्डलमार्फत बुझिएको छ।

राजदूत नेतृत्वको टोलीले नेपालमा विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो। रसियन प्रतिनिधिमण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिने र नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो। प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’का रुपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकोभले बताएको ऊर्जा मन्त्रालयले उल्लेख गरेको छ।

त्यसका अलावा रूसी प्रतिनिधिले नेपाली व्यवसायीसँग पनि वार्ता र छलफल गरिसकेको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका प्रतिनिधिसँग दुई देशको व्यापारको विषयमा उनीहरुले छलफल गरेका छन्। रूसी व्यापारिक प्रतिनिधिले कोभिडविरुद्धको भ्याक्सिन रूसले परीक्षण गरी अधिक रुपमा प्रयोगमा आइसकेको उल्लेख गर्दै नेपालमा पनि सो भ्याक्सिनको प्रयोग गर्न सरल, सहज र छिटो हुने व्यवस्था मिलाउने बताएका थिए। news source

Leave a Reply

Your email address will not be published. Required fields are marked *