ओलीको अडानले दाहाल गले, पार्टी विवाद समाधानका लागि संवाद गर्न तयार

समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला गत आइतबार सुरु भएको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ ।

दुई अध्यक्षले एक अर्कालाई आरोप प्रत्यारोप गरेर छुट्टाछुट्टै प्रस्ताव सचिवालय बैठकमा पेश गरेसँगै नेकपाको विवाद थप चुलिएको थियो ।

सचिवालय बैठकमा पेश भएका दुवै प्रस्तावमाथि छलफल भएर साझा विन्दु खोज्ने भन्दा पनि अध्यक्षद्वयले एक अर्काका प्रस्ताव खारेज गर्ने रणनीति लिएपछि उक्त विवाद स्थायी कमिटीमा पुगेको हो ।

गत आइतबारको स्थायी कमिटी बैठकमा ती प्रस्ताव अध्ययनका लागि भन्दै सदस्यहरुलाई वितरण गरेर दुवै पक्षले नयाँ रणनीति तय गर्न बैठक स्थगित गरिएको नेकपाका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै बसेको स्थायी कमिटीको बैठकमा पत्रमार्फत उहाँले आफू अनुपस्थित हुनुको कारण खुलाउनुभएको छ ।

उहाँले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले पार्टीभित्र स्वस्थ र मर्यादित छलफलको सीमा भत्काएर नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा पुर्‍याएको भन्दै आरोपपत्र फिर्ता नभए आगामी मंसिर २८ गते बस्ने बैठकमा समेत नआउने संकेत गरिसक्नुभएको छ ।

प्रचण्डको प्रस्ताव फिर्ता भए मात्रै बैठकमा आउने ओलीको भनाइप्रति प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहमत हुन सकेका छैनन् ।

प्रचण्डले जबाफमा आफ्नो प्रस्ताव फिर्ता नहुने अडान बैठकमै राखिसक्नुभएको छ । उहाँले एक साता बैठक स्थगित गरेर ओलीसँग संवादका लागि बाटो खुला गर्नुभएको छ ।

यसअघि मंसिर ३ गतेको सचिवालय बैठकमा समेत नेताहरूबीच पार्टी विवादका विषयमा घोचपेच भएपछि ओलीलाई जवाफ तयार गर्न १० दिनको समय दिइएको थियो ।

अहिले स्थायी कमिटी बैठक सुरु भएपछि पनि सहमतिको आशयसहित एक सातापछि मात्रै बैठक राखिएको नेताहरुको भनाइ छ ।

तर बैठक स्थगित भएको चौथो दिनसम्म पनि दुवै अध्यक्षबीच संवादको पहल नभएको निकटस्थ नेताहरुले बताएका छन् ।

यसअघि पनि दुवै अध्यक्षका प्रस्ताव खारेज गरेर संयुक्त रुपमा नयाँ प्रस्ताव ल्याउन भन्दै दोस्रो तहका नेताहरुले गरेको प्रयास पनि असफल भएको छ ।

अध्यक्ष ओली पक्षले प्रचण्डको प्रस्ताव खारेज गरेर मात्र थप छलफल गर्न सकिने बताएपछि प्रचण्ड पक्षका नेताहरुले प्रधानमन्त्रीलाई अब बिश्वास गर्न नसकिने भन्दै स्थायी कमिटीबाटै निर्णय लिनुपर्ने बताउँदै आएका छन् । -imagekhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *