लिफ्टिङ वर्ल्ड कपमा श्रुती कार्कीलाई स्वर्ण

समाचार

सुर्खेत। भारतको मुम्बईमा आयोजित २१ औं पावर लिफ्टिङ वर्ल्ड कप–२०२० मा सुर्खेतकी श्रुती कार्कीले स्वर्ण जितेकी छन् । ५५ केजी तौल समूहमा उनले भारत, पूणेकी मनिकर्णा रायलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

सोमबार साँझ सम्पन्न फाइनलमा कार्कीले ओभरलमा २५५ केजी तौल उचालेकी थिइन् भने रायले १७६ केजी उचालेकी थिइन् । कार्कीको समूहमा ११ जनाबीच प्रतिस्पर्धा भएको थियो । कर्णालीजस्तो पिछडिएको प्रदेशबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको लागि स्वर्ण पदक जित्दा थप ऊर्जा मिलेको उनले बताइन् ।

बडी बिल्डिङ संघबाट छनोट भएर प्रतियोगितामा पुगेकी श्रुतीलाई सरकारको तर्फबाट भने कुनै सहयोग भएको छैन । उनलाई सुर्खेतस्थित मिडवेस्टर्न फिटनेस क्लबले आर्थिक सहयोग गरेर प्रतियोगितामा पठाएको थियो ।

क्लबका सञ्चालक प्रमोद हमालका अनुसार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मंसिर १४ गते कार्कीलाई बिदाइ गर्दै स्वर्ण जितेमा २ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । ‘यो घोषणाबाहेक कार्कीलाई सरकारकोतर्फबाट कुनै सहयोग भएको छैन, राष्ट्रिय खेलकुद परिषदले पनि सहयोग गरेन,’ उनले भने, ‘देशको लागि स्वर्ण जित्ने खेलाडीलाई अब उचित सम्मान होला भन्ने हामीले विश्वास गरेका छौं ।’

एसियन पावर लिफ्टिङ एसोसिएसनको आयोजनामा मंसिर १९ देखि चार दिनसम्म चलेको प्रतियोगितामा विश्वका २० देशका खेलाडी सहभागी थिए । नेपाललाई कार्कीका साथै सिनियरतर्फ हसन गुरुङ र जुनियरतर्फ आशिश आलेमगर स्वर्ण तथा राजेश सुवालले रजत पदक दिलाएका छन् । ईकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *