भारतीय सेनामा भर्ती हुन नसकेपछि मानसिक सन्तुलन गुम्यो, अनि बाँधिए साङ्लोमा

समाज

लमजुङ । लमजुङमा ३० वर्षसम्म फलामको साङ्लोमा बाँधिएर पशुतुल्य जीवन बिताइरहेका एक व्यक्तिको उद्धार गरिएको छ । लमजुङको दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई श्रीमानव सेवा आश्रम लमजुङले प्रशासनको सहयोगमा उद्धार गरी जिल्ला सदरमुकाम ल्याएको हो ।

गुरुङलाई उनको परिवारले साङ्लोले बाँधेर राखेको भन्ने जानकारी पाएपछि प्रशासनसहितको टोली उद्धारका लागि उनको घरमा पुगेको थियो । दाहिने हातमा फलामको साङ्लोले बाँधेर राखिएको अवस्थामा भेटिएका उद्धार टोलीले जनाएको छ । १८ वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका गुरुङको उपचार हुन नसकेपछि आफ्नै घरमा साङ्लोमा बाँधिन विवस थिए । बाँधेर राखिएको अवस्थामा आफूहरूले उद्धार गरी ल्याएको श्रीमानव सेवा आश्रम लमजुङका संयोजक अनिता अधिकारीले बताइन् ।

‘दोर्दी गाउँपालिकाका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको समन्वयमा उद्धार गरी श्रीमानव सेवा आश्रममा ल्याइएको होे ।’ उनले भनिन् ।

आफ्नै परिवारले साङ्लोमा बाँधेर राखेको छ भन्ने खवर पाएपछि उद्धारका लागि पहल गरिएको अधिकारीले जानकारी दिइन् । उनले भनिन्, ‘आश्रमले गुरुङका लागि आवश्यक पर्ने सबै सहयोग औषधी उपचारदेखि लालनपालन सबै गर्ने र निको भएपछि पारिवारिक पुनर्मिलन गराइनेछ ।’

झाँक्रीदेखी डक्टर समेतले निकाे पार्न सकेनन्

मानसिक सन्तुलन गुमेपछि उपचारका लागि धेरै ठाउँ पु-याउँदा पनि निको नभएपछि आफ्नै घरमा साङ्लोले बाँधेर राखेको गुरुङका ठूलो दाजु बेनीराम गुरुङले बताए ।

‘यतिकै राख्दा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही टिपेर अरूलाई हिर्काउने, घर भत्काउनेलगायतका क्रियाकलाप गर्न थालेपछि साङ्लोले बाँधेर राख्नुपरेको हो ।’ उपचारका लागि काठमाडांै, चितवन, पोखरादेखि भारतसम्म पु-याएको तर निको नभएको उनको भनाइ छ ।

भर्ती हुन नपाएपछि गुमेकाे मानसिक सन्तुलन

गुरुङ चार दाजुभाइमध्येका कान्छा हुन् । १८ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुनका लागि भारत गएको र भर्ती हुन नसकेपछि घर फर्केको र मानसिक सन्तुलन गुमेको उनका माइला दाजु यमप्रसाद गुरुङले बताए । उनका अनुसार गाउँघरमा गरिने धामीझाँक्रीदेखि डाक्टरकोमा लगेर उपचार गरेको हो ।

‘उपचार गराउनका लागि सम्भव भएसम्म सबै ठाउँमा पु-याउँदा पनि निको नभएपछि परिवारले घरमै बन्धक बनाएर साङ्लोले बाँधेर राख्न बाध्य भयौं ।’ उनले भने ।

भाइको मानसिक सन्तुलन गुमेपछि परिवार र गाउँलेलाई धेरै दुःख दिएको उनले जानकारी दिए । ‘गुरुङलाई भत्किएको कोठामा फलामको सांलोले बाँधेर पशुतुल्य बनाई राखिएको रहेछ, हामी उनको घरमा पुग्दा सुत्न बस्नका लागि एउटा फलेक ओच्छाइएको थियो । कुनै पनि कपडा थिएन । साथमा एउटा कम्मल मात्र थियो,’ श्रीमानव आश्रमकी संयोजक अनिताले भनिन् ।

गुरुङका बाबाआमा छउञ्जेल बाबा आमाले हेरचार गर्दै आए पनि करिब १० वर्षअघि बाबाआमाको मृत्यु भएपछि गुरुङलाई ठूलो दाइ बेनीरामले हेरचाह गर्दै आएको उनको परिवारको भनाइ छ । परिवारका अनुसार मानसिक सन्तुलन गुमेका गुरुङले आफू बस्दै आएको कोठाको भित्ताको पर्खाल पनि भत्काइदिएका थिए ।

२०७३ साल चैत्र १२ गते लमजुङमा स्थापना भएको श्रीमानव सेवा आश्रमले हाल गुरुङसहित ७२ जनालाई सेवा दिएको छ । आश्रमले निको भइसकेपछि १३ जनालाई पारिवारिक पुनर्मिलन गराएको छ । १८ जनालाई लमजुङबाट अन्य ठाउँमा स्थान्तरण गरिएको छ । ६ जनाले स्वयेच्छाले आश्रम छोडेका छन् । ८ जनाको आश्रममै मृत्यु भएको छ । हाल ५ जना बालबालिका, ११ जना महिला र १० जना पुरुष गरी २६ जनाले सेवा लिइरहेको आश्रमका संयोजक अनिताले बताइन् । राजधानीन्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *