खोप लगाएर चीनमा म त ढुक्क भएँ, नआत्तिनुहोस् नेपालमा पनि आउँदै छ

समाचार

‘खोपले शरीरमा कोरोना भाइरससँग लड्ने एन्टिबडी उत्पादन गर्छ, जसले भाइरस शरीरमा प्रवेश गर्नासाथ मार्दिन्छ। यस्तो एन्टिबडी जीवनभर रहन पनि सक्छ, निश्चित अवधिपछि हराएर जान पनि सक्छ। यो हाम्रो शरीर र स्वास्थ्यमा भर पर्छ।’

भर्खरै बेलायतले कोरोनाविरुद्धको खोप सार्वजनिक गरेपछि विश्वमा नयाँ आशाको दियो बलेको छ। झण्डै एक वर्षदेखि विश्वलाई हाराबारा बनाइरहेको कोरोना महामारी सय वर्षयताकै ठूलो संकट बनेको कुरा विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय संस्थाले बताइरहेका छन्। सन् १९४९ अक्टोबर १ मा नयाँ चीन स्थापना भएपछि देखापरेको सबैभन्दा ठूलो संकट भनेर राष्ट्रपति सी चिनफिङले सार्वजनिक समारोहहरूमा भनिरहेका छन्।

कोरोना महामारी न कुनै भूगोलभित्र सीमित छ न यसले कुनै वर्ग र समुदाय भनेर छुट्ट्याएको छ। जसले निम्त्याएको स्वास्थ्य समस्याबाट एकातिर सबै आक्रान्त छन् भने अर्कातिर यसले पारेको आर्थिक तथा सामाजिक प्रभावले विशेषगरी निम्नस्तरका श्रमिक वर्गलाई नराम्ररी अचेटेको छ। महामारी नियन्त्रण तथा उपचारका लागि अग्रपंक्तिमा खटिएका व्यक्तिले सबैभन्दा ठूलो जोखिम खेपिरहेका छन्। नेपालमा पनि कोरोना संक्रमणकै कारण वरिष्ठ चिकित्सकसमेत केही स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन्।

चीनको हुपेई प्रान्तको उहानमा कोरोना महामारी देखिनासाथ यहाँको सरकारले अत्यन्त सावधानी र सचेततापूर्वक नियन्त्रण अभियान थाल्यो। जनताको जीवनलाई प्राथमिकतामा राखेर काम गर्दै जाँदा चीन चाँडै कोरोना नियन्त्रण गर्न सफल पनि भयो। साथै यहाँका वैज्ञानिक कोरोनाविरुद्धको खोप बनाउन दत्तचित्तले लाग्न थाले। फलस्वरूप अन्तिम चरणको परीक्षणपश्चात् अहिले खोप उत्पादनको प्रक्रियामा छ। त्यसो त अन्य देश पनि खोप विकास/परीक्षणमा लागिरहेका छन्। बेलायतले त खोप सार्वजनिक गरिसकेको छ।

चीनले खोप कहिले सार्वजनिक गर्छ भनेर विश्व पर्खिरहेको छ। बेलायतको खोप सार्वजनिक भइसके पनि विश्वको ध्यान चीनतिर केन्द्रित हुनाको कारण यहाँका राष्ट्रपति सीले कोरोनाविरुद्धको खोपलाई कुनै राष्ट्र विशेषमा सीमित नगरी विश्वभर सर्वसुलभ बनाउने र विकासोन्मुख (गरिब) मुलुकलाई प्राथमिकता दिने बताएकाले हो। चीनले खोप वितरण गर्दा अफ्रिकाजस्तो कम विकसित मुलुकलाई पहिलो प्राथमिकता दिने बताएको छ। स्वाभाविक रूपमा नेपाल पनि चीनले बनाएको खोपप्रति निकै आशावादी छ। किनभने नेपाल र चीनको सीमा जोडिएको छ र आपसमा अत्यन्त घनिष्ट र सुमधुर सम्बन्ध पनि छ।

चीनमा ६ वर्षदेखि कार्यरत एउटा स्वास्थ्यकर्मीका नाताले मैले पनि कोरोनाविरुद्धको खोप लगाएको छु। यसको अनुभव भन्नुभन्दा पहिले चीनसँग मेरो सम्बन्धबारे छोटकरीमा प्रस्ट पार्न चाहन्छु। पीएचडीसम्मको अध्ययन क्रममा नेपालमा मैले जम्मा ५ वर्ष मात्र पढ्ने मौका पाएको छु। मेरो जन्म नै चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भएको हो। मेरो बाबा ब्रिटिस आर्मी भएकाले मैले हङकङमै ७ कक्षासम्म पढेँ। त्यसपछि नेपाल गएर लिटल एन्जल्स स्कुलमा ८ कक्षादेखि १० कक्षासम्म पढें र काठमाडौं विश्वविद्यालयबाट आईएससी गरेपछि सन् १९९७ मा चीनको थिआनचिनमा एमबीबीएस गर्न आएँ।

एमबीबीएस सक्नेबित्तिकै मैले शल्यक्रियामा एमडी गरेँ। त्यही समय मैले थिआनचिनकै चिनियाँ युवती चाङ चियानसँग बिहे गरेँ। शल्य चिकित्सकका रूपमा सन् २००६ मा नेपाल फर्किएर वीर अस्पातलमा स्वयंसेवकका रूपमा काम सुरु गरें। पछि करारमा ४ वर्ष काम गरें।

सन् २०१० मा म पीएचडी गर्न फेरि थिआनचिन फर्किएँ। सन् २०१३ मा पेटको क्यान्सरमा पीएचडी सक्ता एकैचोटि दुईवटा खुसी प्राप्त गरें। सन् २०१३ फेब्रुअरी १३ तारिख मेरी छोरीको जन्म भयो भने भोलिपल्टै बेइजिङस्थित युनाइटेड फेमिली हेल्थ केयर अस्पतालले मलाई काम गर्न बोलायो। सन् १९९७ मा अमेरिकी लगानीमा प्रसूति अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल चीनकै सबैभन्दा महँगो अस्पताल हो। यसका सेवा/सुविधा निकै आकर्षक छन्।

संयोग कस्तो भने मैले काम गर्ने अस्पताल म मेडिकल साइन्स पढ्न आएको वर्ष नै स्थापना भएको हो। यो अस्पतालमा काम गर्न थालेको ७ वर्ष भयो, यसअघि कहिल्यै यस्तो स्वास्थ्य संकट देखेको थिइनँ। कोरोना महामारी फैलिएपछि हाम्रो अस्पतालका ९० प्रतिशत सेवा प्रभावित भए। त्यहीबीच अस्पतालले कोरोना संक्रमितको परीक्षण गर्न ज्वरो मापन केन्द्र स्थापना गर्‍यो। सुन्दा सामान्य लागे पनि यो आफैंमा अत्यन्त संवेदनशील स्थान हो। अस्पतालको एउटा छुट्टै विभागका रूपमा स्थापना गरिएको ज्वरो मापन केन्द्रलाई चीन सरकारले सबै मापदण्ड पुगेको देखेपछि मात्र स्वीकृति दिएको हो।

यहाँनेर के भन्न चाहन्छु भने नेपालको स्वास्थ्य क्षेत्रमा पूर्वाधार अत्यन्त कमजोर छन्। नेपालमा कोरोना संक्रमणको संकेत देखिएका बिरामी र अन्य बिरामीलाई खासै छुट्ट्याएर परीक्षण गरेजस्तो लाग्दैन। त्यो खालको कुनै व्यवस्था पनि छैन। अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीका लागि न बिमा न त राम्रो सुरक्षा व्यवस्था नै छ। तर म ढुक्कसँग भन्न सक्छु- चीनले अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीका लागि सबै खालका सुविधाको ग्यारेन्टी गरेको छ। ज्वरो मापन केन्द्रमा ८ घण्टाको डिउटी गर्दा पीपीई लगाएर खट्नुपर्थ्यो। कसैलाई कोरोना संक्रमणको संकेत देखिए सरकारले तोकेका अस्पतालमा तुरुन्तै रिफर गर्नुपर्थ्यो। सौभाग्य नै भन्नुपर्छ, हाम्रो अस्पतालमा कोही पनि त्यस्ता बिरामी आएनन्।

अस्पताले ३ महिनाअगाडि हामीलाई कोरोनाविरुद्धको खोप लगाउन अफर गरेको थियो। चिकित्सा शास्त्र पढेर त्यही विषयमा काम गरिरहेको मेरो जीवनमा यस्तो दिन आउला भनेर कहिल्यै सोचेको थिइनँ। एउटा चिकित्सकले नै परीक्षण खोप लगाउने कुरा आफैंमा अनौठो हो। सुरुमा म दुविधामा परें। खोप लगाउने कि नलगाउने भनेर निर्णय लिन कठिन भयो। सहकर्मीहरूले लगाइसकेका थिए। हाम्रो अस्पतालमा स्वास्थ्यकर्मी र अन्य सेवाका गरी हजार जनाजति कर्मचारी छौं। इच्छुक सबैलाई खोप लगाउन भनिएको थियो।

खोप लगाएका साथीले कुनै असर नगरेको बताएपछि मैले पनि गत अक्टोबर ३० तारिख पहिलो खोप लगाएँ। अब के हुने होला भनेर मन तुलबुल तुलबुल भयो। किनकि कोरोना नयाँ प्रकारको भाइरस हो, जसबारे अझै अध्ययन/अनुसन्धान जारी छ।

खोप लगाएपछि मनमा किन त्यस्तो भयो भन्ने कुरा यसरी बुझ्न सकिन्छ। मोटरसाइकलको पछाडि बस्ने मान्छेलाई मोटरसाइकल चलाउन आउँदैन, खासै चढेको पनि छैन भने उसलाई चालकले ब्रेक बिग्रिएको कुरा गरे पनि केही फरक पर्दैन। तर उसलाई मोटरसाकइलबारे सबै कुरा जानकारी छ र चलाउन आउँछ भने पक्कै उसको मन डराउँछ, दुर्घटना हुने हो कि भनेर।

ठीक त्यसैगरी म स्वयं चिकित्सक भएकाले नयाँ भाइरस (कोरोना) विरुद्ध बनाइएको खोप लगाउँदा केही हुने हो कि भनेर मनमा शंका उब्जिएको हो। सेप्टेम्बरमै लगाउन थालिएको खोप मैलेचाहिँ अक्टोबर अन्त्यतिर मात्र लगाएँ। खोप लगाएपछि मनमा विभिन्न कुरा खेले। तर चार/पाँच दिनसम्म पनि शरीरमा कुनै नकारात्मक असर नदेखिएपछि बल्ल ढुक्क भएँ। पहिलो डोज लगाएको कम्तीमा १४ दिनपछि दोस्रो डोज लगाउनुपर्छ। मैले नोभेम्बर १६ तारिख खोपको दोस्रो डोज लगाएँ। कोरोनाविरुद्धको खोप २ चरण लगाएपछि डोज पूरा हुन्छ।

दोस्रो खोप लगाएको एक महिनापछि शरीरले कोरोनाविरुद्ध एन्टिबडी (रोग प्रतिरोधात्मक शक्ति) उत्पादन गर्‍यो कि गरेन भनेर परीक्षण गरिन्छ। मेरो परीक्षण यही डिसेम्बर १६ तारिखपछि हुन्छ।

खोपले हाम्रो शरीरमा कोरोना भाइरससँग लड्ने एन्टिबडी उत्पादन गर्छ। जसले भाइरस शरीरमा प्रवेश गर्नासाथ मार्दिन्छ। यस्तो एन्टिबडी जीवनभर रहन पनि सक्छ, निश्चित अवधिपछि हराएर जान पनि सक्छ। यो कुरा हाम्रो शरीर र स्वास्थ्यमा भर पर्छ। हाम्रो अस्पतालमा मभन्दा पहिले खोप लगाएका साथी लगभग सबैमा एन्टिबडी देखिएको छ। त्यसकारण यो खोपले झन्डै ९८ प्रतिशत काम गरेको देखिन्छ।

खोप लगाउनुभन्दा पहिले सामान्य स्वास्थ्य परीक्षण गरिन्छ। ज्वरो आएको अथवा अरू कुनै संक्रमण छ भने खोप लगाइँदैन। त्यस्तै चिनी रोगजस्ता कुनै दीर्घरोग छन् भने पनि खोप दिइँदैन। खोपमा सामान्यतया जीवित वा मृत भाइरस प्रयोग गरिएको हुन्छ। अर्थात् खोप आफैंमा नियन्त्रित भाइरस हो।

मैले लगाएको खोप साइनोभ्याक्स हो। जुन खोप साइनो बायोटेक लिमिटेडले उत्पादन गरेको हो। चीनकै प्रख्यात् औषधि कम्पनीका रूपमा रहेको यसको हेडक्वाटर बेइजिङको हाइतियानमा छ भने फ्याक्ट्री छामपिङमा छ। यस्तै चीनका विभिन्न प्रान्तमा यसका शाखा कार्यालय छन्। साइनोभ्याक्स खोप परीक्षणका रूपमा ब्राजिललगायत विभिन्न देशमा लगाइएका छन्।

चीनका प्रख्यात् बायोइन्जिनर वेइतोङ यिनको टोलीले सन् १९९३ देखि खोज र अनुसन्धान गरी १९९९ मा चीनमै पहिलोपटक हेपाटाइटिस ए को खोप विकास गरेको थियो। त्यही टोलीले सन् २००१ मा साइनो बायोटिक कम्पनी स्थापना गरेको हो। यो कम्पनीले अहिलेसम्म ६ वटा खोप विकास गरिसकेको छ।

हामीले धैर्य गर्नुपर्छ। खोप उपलब्ध हुन अब धेरै समय लाग्दैन। तर खोप नआउन्जेल सर्वसाधारण, स्वास्थ्यकर्मी, सरकार, स्वास्थ्य संस्थालगायत सबैले आआफ्ना जिम्मेवारी वहन गर्नुपर्छ। खोप उपलब्ध हुनुअघिसम्म चीनको पद्दति र अनुभवबाट पनि कोरोना नियन्त्रण गर्न सकिन्छ। मास्क लगाउने, भीडभाडमा नजाने, आफ्नो स्वास्थ्यमा ध्यान दिने, शारीरिक दूरी कायम गर्ने र सरकारका नीति/निर्देशन पालना गर्दै आफू बाँच्ने र अरूलाई पनि बचाउनुपर्छ।

म त कोरोनाविरुद्ध खोप लगाएर ढुक्क भएको छु। तर मेरो मातृभूमि नेपालका नागरिक (नेपाली) कोरोना महामारीको भेलमा छन्। तसर्थ म सबैलाई भन्न चाहन्छु- नआत्तिनुहोस् खोप चाँडै आउँदै छ।

(डा. विकास राईसँग चेतनाथ आचार्यले गरेको कुराकानीमा आधारित) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *