भारतमा किसान आन्दोलनलाई पञ्जाबी गायक दिलजितको एक करोड रूपैयाँ सहयोग

समाचार

नयाँ दिल्ली– केही समयदेखि भारतमा कृषि कानुनको विरोधमा सडक आन्दोलनमा रहेका किसानहरुलाई अभिनेता एवं पञ्जाबी गायक दिलजित दोसाँझले एक करोड भारु सहयोग गर्ने घोषणा गरेका छन्।

भारतको केन्द्र  सरकारले ल्याएको कृषि कानुनको विरोधमा चर्किएको किसान आन्दोलनमा सहभागी भएर उनले यस्तो घोषणा गरेका हुन्।

उनी शनिबार सिन्धु बोर्डर पुगेर किसानहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए।

साथै उनले दिल्लीमा आन्दोलनमा होमिएका किसानहरुलाई जाडोबाट बचाउनका लागि एक करोड रुपैयाँ (भारु) सहयोग गर्ने घोषणा गरेको बताए। उनले आफूले गरेको सहयोग रकमबाट किसानहरुलाई न्यानो कपडा र कम्बल वितरण गरिने जानकारीसमेत दिएका छन्।

दिलजितले किसानका लागि गरेको सहयोगको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ। उनी आन्दोलनको सुरुदेखि नै सामाजिक सञ्जालमा किसानको पक्षमा बोल्दै आएका छन्। केही समयअघि अभिनेत्री कंगना रनावतसँग विवादमा परे पनि उनी नडराई किसानको पक्षमा उत्रिएका छन्।

दिलजित शनिबार सिन्धु बोर्डर पुगेर किसानको पक्षमा बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  उनले किसानका माग तत्काल पूरा गर्न केन्द्र सरकारसँग माग गरेका छन्।

‘केन्द्र सरकारसँग हाम्रो एकमात्रै अनुरोध छ– किसानहरुको माग पूरा गरियोस्‚’ उनले भनेका छन्‚ ‘यहाँ सबै शान्तिपूर्ण तरिकाबाट आन्दोलन गरिरहेका छन्। कुनै हिंसा भएको छैन। पूरा देश किसानको साथमा छ।’

उनले आफूहरुले गरेको कमाइएको मुल्य मागेर आन्दोलनमा आएकार किसानहरुलाई तत्काल माग सम्बोधन गरेर घर फर्काउन उनले भनेका छन्। ‘तपाईंहरू सबैलाई सलाम, किसानले एक नयाँ इतिहास रचेका छन्‚’ उनले सम्बोधनका क्रममा भनेका छन्‚ ‘यो इतिहास आगामी पुस्ताले जान्ने र सुन्नेछ।’ नेपाललाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *