जापानमा भएको कार दुर्घटनामा वीरेन्द्रको ज्यान गयो, दुई जना घाइते

समाचार

काठमाडौ । जापानमा भएको कार दुर्घटनामा एक नेपालीको निधन भएको छ । जापानको उत्तरी प्रिफेक्चर होक्काइदोको कितामी शहरमा तीन जना नेपाली चढेको कार दुर्घटना भएको हो ।

दुर्घटनामा निधन हुनेमा कारमा सवार २७ वर्षीय वीरेन्द्र तामाङ रहेको बताइएको छ । अन्य दुई घाइते भएका छन् । दुर्घटनामा घाइते भएका वीरेन्द्रको उपचारका क्रममा निधन भएको हो ।

दुर्घटनामा निधन भएकाको नाम खुलेको भएपनि घाइते दुई महिलाको भने नाम खुलेको छैन । उनीहरुको नेपालको ठेगाना पनि अहिले सम्म पत्ता लागेको छैन ।

दुर्घटना कितामी शहरको राष्ट्रिय राजमार्गको ३९ रुट फुजिमा रुबेसिबे चो कितामी सि क्षेत्रमा भएको हो । दुर्घटना डिसेम्बर ३ तारिख दिउँसो ३ बजेर ३० मिनेटको समयमा भएको थियो । कार सडक किनार देब्रेपट्टिको सडक चिन्हमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।

निधन भएका तामाङ नाकासिबेचु चो योरोसिमा कार्यरत रहेका थिए । घटना र बिचारमा प्रकाशित समाचारमा प्रहरीका अनुसार तीनै जना आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै थिए, जहाँ उनीहरूको घर रहेको बताइएको छ ।

दुर्घटनाको समयमा सो क्षेत्रमा सडकमा हिउँ रहेको थियो । हिउँमा चिप्लिएरै कार दुर्घटनामा परेको आशंका गरिएको छ । प्रहरीले कार कसरी चिप्लिएर दुर्घटनामा पर्न गयो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *