सडक आन्दोलनसँग मेरो साइनो छैन : पूर्वराजा ज्ञानेन्द्र शाह

राष्ट्रिय

दसैंलगत्तै देशका प्रमुख सहरहरूमा ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लागिरहेका छन्।

विभिन्न सहरमा चलेको यो आन्दोलनको एउटा ‘ट्रेलर’ सोमबार काठमाडौंमै पनि देखियो।

र, यही मंसिर २० गते काठमामाडौंमा अर्काे त्यस्तै ‘विशाल’  र्‍याली हुँदैछ। त्यसको संयोजन अधिवक्ताहरू सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले गर्दैछन्।

त्यही दिन पूर्वको झापामा पनि त्यस्तै खालको आन्दोलन हुने भएको छ।

काँकडभिट्टादेखि झापा सदरमुकामसम्म ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाउँदै मोटरसाइकल ¥यालीको तयारी गरिएको छ।

यस्तो छ ज्ञानेन्द्रको प्रतिक्रिया

कात्तिक ६ गते दसैंको शुभकामना सन्देश ‘बक्स’ गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका थिए, ‘यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ। त्यसैले आज सबैले बढ्दो आशुरी र भष्माशुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेका छन्।’

उनको स्पष्ट सन्देश थियो, ‘जनता यो शासन व्यवस्थासँग निराशमात्रै छैनन्, उनीहरूमा नयाँ अभिभावकको आवश्यकता महसुस भइसकेको छ।’

त्यसको एक सातापछि पहिलोपटक बुटवलमा भएको ‘राजा आऊ, देश बचाऊ’ भन्ने आन्दोलनमा हजारौं युवा मोटर साइकलमा सहभागी भए।

त्यसपछि त्यसको सिलसिला देशभरि चलिरहेको छ।

दिनहुँ देशभरि फैलिरहेको र बाक्लिइरहेको यो आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्रको के साइनो छ?

पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना भन्छन्, ‘सडकमा चलिरहेको यो आन्दोलनसँग ज्ञानेन्द्र सरकारको कुनै सम्बन्ध छैन।’

आयोमेलसँग कुराकानी गर्दै उनले सडकमा यो आन्दोलन किन र कसरी भइरहेको छ भन्नेबारे ‘नागार्जुन’ अनभिज्ञ रहेको बताए।

‘राजपरिवारलाई यो आन्दोलनका बारेमा केही पनि थाहा छैन। कहाँबाट कसरी यो आन्दोलन उठिरहेको छ भन्नेबारे हामी नै अनभिज्ञ छौं,’ तिमिल्सिनाले भने, ‘ज्ञानेन्द्र सरकारको भनाइ पनि यही नै हो। यो आन्दोलन हामीसँग सम्बन्धित छैन।’

उनले बरु त्यसको भित्री कुरा पत्ता लगाउन सञ्चारमाध्यमलाई नै आग्रह गरे।

‘यो आन्दोलन किन र कहाँबाट सञ्चालित छ भन्ने कुरा त तपाईं पत्रकारहरूले पत्ता लगाउने हो,’ उनले भने, ‘त्यो त तपाईंहरूका लागि पनि बिग न्युज हुन्छ। लौ खोजेर हामीलाई नि भनिदिनुस् त!’

विभिन्न ठाउँमा आन्दोलनको संयोजन गरिरहेकाहरूलाई पनि उनले यसबारे चासो राखेका थिए।

‘मैले त हिजो सागर दाइलाई फोन गरेको थिएँ, उहाँले त बरु हामीलाई हप्काउनु पो भो,’ पश्चिमनेपालको एक सहरमा यस्तै आन्दोलनको तयारी गरिरहेका एकजना संयोजकले आयोमेलसँग भने, ‘तिमीहरू आफ्नै तरिकाले किन उफ्रिरहेका छौ? भनेर हामीलाई गाली गर्नुभयो।’

उनका अनुसार ‘जनस्तर’ उठेका कारण यो आन्दोलन भने रोकिने छैन।

राप्रपा के भन्छ?

हिन्दु राज्य र संवैधानिक राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने यो आन्दोलनमा ‘नैतिक समर्थन’ गरेको जनाएको छ।

‘तर, यो हाम्रो पार्टीको औपचारिक आन्दोलन भने होइन,’ पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘पार्टीको आस्था मिल्ने जनताको आन्दोलनमा राप्रपाले नैतिक समर्थन दिएको हो।’

पार्टी अध्यक्ष कमल थापाले पनि सामाजिक सञ्जालमार्फत आन्दोलनको समर्थन गरिरहेका छन्।

‘कतिपयले सोध्छन्, हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापना भएपछि संकटबाट देशले मुक्ति पाउँछ?,’ केही दिनअघि इन्टरनेट सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका थिए, ‘हिन्दु राष्ट्र र राजसंस्थाले जादुगरी शैलीमा संकट समाधान गर्ने होइन, त्यसले संकटबाट मुक्तिको नैतिक आधार र सन्तुलन निर्माण गर्छ। राम्रो कामका निम्ति योग्य र इमानदार व्यक्तिले अवसर पाउने वातावरण बनाउँछ।’

कतिपय ठाउँमा राप्रपाको स्थानीय संगठन नै आयोजक बनेर आइरहेको छ।

पूर्वमा भइरहेको आन्दोलनमा राप्रपा नेता राजेन्द्र लिङदेनले संयोजन गरिहेका छन्।

केही दिनअघि मकवानपुरमा भएको यस्तै आन्दोलन त्यहाँको जिल्ला संगठनले आयोजना गरेको थियो।

काठमाडौंमा आन्दोलन रोक्न ‘सभा–जुलुस निषेध’

मंसिर २० गते ‘राजा आऊ…’ भन्दै हुन लागेको आन्दोलन रोक्न काठमाडौं जिल्ला प्रशासनले भने कुनै पनि प्रकारका ‘सभा–जुलुस’ गर्न प्रतिबन्ध लगाएको छ।

पछिल्लो समय काठमाडौंमा पनि राजसंस्थाको पक्षमा विरोध प्रदर्शन भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गरी ‘राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान नगर्न’ भनेको हो।

प्रशासकीय अधिकृत कमलप्रसाद पन्तद्वारा जारी विज्ञप्तिमा कोरोना महामारी रोकथाममा सहयोग पु¥याउन अपिल गरिएको छ।

सभा, जुलुस, प्रदर्शन अभियान सञ्चालन गरे स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीको समेत चेतावनी दिइएको छ।

स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मन्त्रालयद्वारा जारी मापदण्ड पालना गर्न पनि आह्वान गरेको छ।

कुनै हालतमा आन्दोलन रोकिन्नँ

यो आन्दोलनलाई आयोजकले ‘राष्ट्रिय नागरिक आन्दोलन २०७७’ नाम दिएका छन्।

यसको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका नेताहरू, शिव सेना तथा विश्व हिन्दु महासंघजस्ता संगठनहरूले गरिरहेका छन्।

२० गतेको आन्दोलनलाई रोक्न जिल्ला प्रशासनले ‘निषेधाज्ञा’ लगाए पनि आन्दोलन नरोकिने यहाँका एक संयोजक बालकृष्ण न्यौपानेले बताए।

‘हामीले त्यसको तयारी गरिरहेका छौं, हामीले हाम्रो काम गर्ने हो, प्रशासनले आफ्नो काम गरिरहन्छ,’ न्यौपानेले आयोमेलसँग भने, ‘हामीले सामाजिक दुरी कायम गर्न भनेका छौं, सबैलाई स्यानिटाइजर बोकेर आउन भनेका छौं।’ उनका अनुसार यो आन्दोलन शान्तिपूर्ण हुने भएकाले कोही आत्तिनुपर्ने भने छैन। ‘हाम्रो यो शान्तिपूर्ण आन्दोलन हो। हामीले स्वास्थ्य मापदण्ड पनि पालना गर्छाैं,’ उनले भने, ‘हामी सचेत छौं, उच्छृङ्खल हुँदैनौं। आयोमेल डट कमको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *