१८ मंसिर, पोखरा । तनहुँको बुल्दीखोला पुल उद्घाटनसम्बन्धी विवाद देशैभरि चर्चाको विषय बनेको छ । निर्माण सकिएको २ वर्षपछि कसले उद्घाटन गर्ने भन्ने दुई नेताको टकराव र प्रतिष्ठाको लडाईंले व्यास नगरमा ठूलै तरंग आयो ।
नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकअन्तर्गत बुल्दीखोलामा पुल उद्घाटनको विषय राजनीतिक मुद्दा बन्यो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पुलको उद्घाटन यस क्षेत्रका संघीय सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले गर्न चाहन्थे । सोही क्षेत्रका नेपाली कांग्रेसले वरिष्ठ नेता पौडेल पनि आफ्नै हातबाट पुल उद्घाटन गराउन चाहन्थे ।
नेकपा नेता श्रेष्ठ र कांग्रेस नेता पौडेल दुबै तनहुँ क्षेत्र नम्बर १ कै नेता हुन् । गत चुनावमा नेकपाका श्रेष्ठले ३४ हजार ४९२ मत ल्याएर यही क्षेत्रबाट कांग्रेस नेता पौडेललाई चुनाव हराएका थिए । पौडेलले २७ हजार ६९० मत मात्रै पाएका थिए ।
पौडेल पराजित नेता भएता पनि कांग्रेसको सरकार बनेका बेला बजेट निकासा भई पुल निर्माण भएकाले आफूले उदघाटन गर्न पाउनुपर्ने कांग्रेस पक्षको तर्क थियो । त्यस्तै, नेकपाले चाहिँ संघीय संसदमा विजय हासिल गरेका जनप्रतिनिधिले उदघाटन गर्नुपर्ने तर्क गर्दै आएको थियो ।
कांग्रेस र नेकपावीचको यही टकरावका कारण बुधबार दिनभर दमौली तनावग्रस्त बन्यो । कांग्रेस र नेकपा नेता–कार्यकर्ताबीच झडप नै हुने स्थिति भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा तोड्न वरिष्ठ नेता पौडेलले नेतृत्व गरेपछि उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेर ३ घण्टापछि रिहा गर्यो ।
वरिष्ठ नेता पौडेल पक्राउ परेपछि देशभर यसले तरंग ल्यायो । कांग्रेसले आन्दोलनका कार्यक्रम नै घोषणा गर्यो । सरकारले अधिनायकवादी रबैया देखाएको भन्दै बिहीबार दमौलीमा प्रदर्शन गरेर विशाल जुलुसहित अन्ततः वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गर्ने सपना पूरा गरी छाडे । onlinekhabar