बागलुङको गल्कोटबाट वीरजंग भण्डारीसहितका ६ जना यात्रु कैलाश एयरको हेलिकोप्टरमा काठमाडौँतिर उडे।
पौने एक बजेतिर हेलिकोप्टर उडेको थियो। मौसम सफा भएकाले पाइलटसँगैको अघिल्लो सिटमा बसेका भण्डारी हिमाल, ताल, जंगलको मनोरम दृश्यहरुको भिडियो खिचिरहेका थिए। तर, उडेको केहीबेरमै विमानमा चरा ठोक्कियो। दुर्घटना हुँदा अब बाँचिदैन भन्ने लागेको भण्डारी बताउँछन्।
‘म भिडियो खिच्नमै व्यस्त थिएँ। एक्कासि पाइलटको साइडबाट चरा आयो। पाइलटले छल्न प्रयास गरेपनि ठोक्किइहाल्यो,’ भण्डारीले दुर्घटनाको क्षण सम्झिए, ‘एउटा झ्यालमा ठोक्किएको चरा अर्को झ्यालबाट निस्कियो। सिसा झर्यामझुरुम भए।‘केही सोच्नसक्ने स्थिति नै थिएन। अब रहिँदैन भन्ने लागिसकेको थियो,’ उनले थपे।
चरा ठोक्किएपछि हेलिकोप्टरको अगाडिको काँच र एकातिरको झ्याल फुटेको छ। काँचले भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ। अन्य यात्रु भने सुरक्षित छन्। चरा ठोक्किएलगत्तै पाइलटले सुझबुझपूर्ण तरिकाले हेलिकोप्टर अवतरण गरेपछि आफूहरु जोगिएको भण्डारी बताउँछन्।
‘हामी २५ सय मिटरको उचाइमा थियौं। सिसा सबै फुटेपछि हावा जोडले चल्न थाल्यो। हेडफोन र चस्मा उडे। सिटबेल्ट कसेकाले हामी सिटमै थियौं,’ भण्डारीले भने, ‘हेलिकोप्टर अनियन्त्रित हुन लाग्दालाग्दै पनि पाइलटले सुझबुझपूर्ण रुपमा फोर्स ल्याल्डिङ गराएर ठूलो दुर्घटना टारे।’
नुवाकोटमा हेलिकोप्टर अवतरण भएपछि भण्डारीलगायत यात्रुुले ठूलो राहतको श्वास फेरे। हेलिकोप्टरमा भण्डारीसहित अमृत खत्री, सुरेन्द्र श्रेष्ठ, दीपा मल्ल, सरोज मल्ल र पाइलट थिए।
ल्यान्ड भएको केही मिनेटमा पाइलटले कम्पनीसँग कोअर्डिनेसन गरेर दुर्घटनाबारे जानकारी गराए। आधा घण्टापछि उनीहरुलाई लिन नयाँ हेलिकोप्टर आइपुग्यो। त्यसमा अहिले सबैजना काठमाडौंमा सुरक्षित रुपमा अवतरण भइसकेका छन्।
यति ठूलो दुर्घटनाबाट जोगिर काठमाडौं पुग्दा पनि हेलिकोप्टर कम्पनीले मतलब नराखेको भण्डारीको गुनासो छ। ‘हामी त्यत्रो दुर्घटनाबाट जोगियौँ। यहाँ आइपुगेपछि उनीहरुले प्राथमिक उपचारका लागि सोध्ने मानवीय संवेदना पनि देखाएनन्,’ भण्डारीले भने।