काठमाडौंमा तत्काल लकडाउन नगर्ने निर्णय

समाचार

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले कोरोना संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान अनुमति दिने निर्णय गरेको छ ।

सिसिएमसी निर्देशक समितिको मंगलवार बसेको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो । संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार नियमित उडानको अनुमति दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

यस्तै, विभिन्न सरकारी कार्यालयहरूमा १/२ जनामा कोरोना संक्रमण देखिने बित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सिसिएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरूलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन दिइएको सचिव गुरागाईंले जानकारी दिनुभयो ।

बैठकमा संक्रमण उच्च रहेका र कम हुँदै गएका स्थानमा के कस्ता सेवा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो ।

तर, सिसिएमसीले तत्काल निषेधाज्ञा गनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ । उपत्यकामा संक्रमण उच्च रहेको सिमित स्थानलाई सिल गरी सेवा सञ्चालनका गर्न सकिने गरी छलफल भएको सचिव गुरागाईंले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *