आ’त्मह’त्या गर्ने निर्णयमा पुगेकी एकाएक चर्चाको शिखरमा, तिरस्कृत भएर सडकमा पुगेकी सपना विश्वचर्चित भएर घर फर्किँदा….

समाज

काठमाडौं। बीबीसीका सय महिलामा छानिएकी सपना राेका मगर कुनै बेला लागुऔ’षध दु’र्व्यसनी थिइन् भन्दा तपाईं छक्क पर्न सक्नुहुन्छ । १६ महिनाअघिसम्म साथीभाइको लहैलहैमा दुर्व्यसनमा फसेकी म्याग्दीकी १८ वर्षीया सपना छोटो समयमा नै विश्वको उत्प्रेरक र प्रभावशाली महिलाकाे रूपमा परिचय बनाउन सफल बनिन्।

उमेरले दुई दशक पनि पार नगरेकी सपनालाई आज करिब डेढ वर्षपछि गाउँमा बिग्रेर हिँडेकी केटी नभएर नेपालको शिर उच्च राख्ने छोरीको रूपमा सम्मान गर्न थालेको देख्दा उनका आमाबुबा गर्वान्वित छन् । उमेरले ५० काटिसकेकी आमा चाहन्छिन्, ‘कसैको उक्साहट र लहैलहैमा नलागी अब छाेरीले नर्सिङ पढाइ पूरा गरोस्।’

सपनाले सञ्चारमाध्यमबाट आफू बीबीसीको प्रभावशाली र प्रेरणादायी १ सय महिलाको सूचीमा परेकाे थाहा पाइन् । उनले भनिन्, ‘मैले निस्वार्थ गरेकाे सेवाकाे फल पाएँजस्ताे लाग्याे ।’ आफ्नाे कामलाई प्राेत्साहन गरिदिएकाे भन्दै उनले बीबीसी टिम र आफूलाई सेवा कर्ममा प्राेसाहित गर्ने विनयजंग बस्नेतलाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । आगामी दिनमा ‘एक्सन फर सोसियल चेन्ज प्रोजेक्ट’मार्फत बेवारिसे शवलाई मात्र नभएर सडकका अनाथलाई समेत सहयोग गर्न आफू लागी पर्ने बताइन्।

उनले ‘कर्मबुवा’ मानेका विनयजंग बस्नेत पनि सपनाकाे सफलतामा दंग छन् । सपना आफ्नो मात्र छोरी नभएर राष्ट्रको छोरी भएको उनले बताए । सपनाले यति लामो यात्रा तय गर्छिन् भन्ने आफूले नसोचेको बस्नेत बताउँछन् । भन्छन्, ‘सुरुमा भेट्दा र सपना छोरीको अवस्था देख्दा कसरी राम्रो भविष्य दिने होला भन्ने एउटा मात्रै कुरा खेल्थ्यो मनमा ।कसरी अरू मानिसजस्तै सामान्य जीवन बनाउने होला भन्ने लागेको थियो। तर, उनी त विश्वकै छोरी भएर पो निस्किइन् । यो मेरो जीवनकै ठूलो सफलता हाे।’

बस्नेतकाे प्राेत्साहनमा विगत १ वर्षदेखि सपना बेवारिसे शवकाे व्यवस्थापन गर्ने काममा सक्रिय छिन् । सपनाले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवलाई दागबत्ती दिएकी छन् । आमा उनलाई डाक्टर बनाउन चाहन्थिन् । तर, आर्थिक अवस्थाले नभ्याउने भएपछि आफूलाई आमाले नर्सिङमा भर्ना गरिदिएकाे सपना बताउँछिन् । लहैलहैमा लागेर सपनाले बीचैमा पढाइ छोडेकोप्रति अाफ्नाे परिवार अझै असुन्तष्ट रहेकाे सपनाले महसुस गरेकी छन्। त्यसैले अब परिवारको सपना पूरा गर्न नर्सिङ पढाइलाई निरन्तरता दिने उनले तय गरिसकेकी छन्।

यस्तो छ सपनाको संघर्ष

कोरोना महामारी देशैभर चुलिएसँगै आफ्नै परिवारको मृत शवदेखि मानिस तर्किइरहँदा उनी भने वीर अस्पताल, टिचिङ अस्पताललगायतका शवगृहमा दुर्गन्धित बनेका शवहरू उठाइरहिन् । उही माया उही सम्मानका साथ अन्तिम बिदाइ गर्न लागी परिरहिन् । आफूसँगैका किशोरकिशोरी कोही पढ्न त कोही पैसा कमाउन लागिपरिरहँदा उनी भने संक्रमणको जोखिम मोलेरै भए पनि अलपत्र परेका लास जलाउन निःस्वार्थ रूपमा लागिपरिरहेकी छिन् । कर्मबुबा विनयजंग बस्नेतको सहयोगमा निरन्तर सेवामा खटिएकी छिन्।

सपना हरेक बिहान अस्पतालको शवगृृह जाँदा सडेर गन्ध आइरहेको क्षतविक्षत् शवहरूमा आफैँलाई पाउँछिन् । जीवन रहे पनि जीवनविहीन भई सडकमा भौँतारिइरहेकी सपनालाई पाउँछिन् हरेक शवको अनुहारमा । उनी भन्छिन्, ‘म पनि सडकमा हुँदा यसरी नै मर्नुपर्दो हो । जिउँदो हुन्जेल माया पाउन नसकेकी मैले मरेपछि पनि सम्मानसाथ स्वर्ग जान पाउँदिनँ होला भन्ने लाग्थ्यो । तर, जब मैले विनय बस्नेत बुबाको साथ पाएँ, तब होइन यी सबै बेसहारा मृत लासहरूको सन्तान बन्छु भन्ने हिम्मत आयो।’

एक वर्षअघि पशुपतिजंग बस्नेत (जो पशुपतिमा लास जलाउने काम गर्दथे) उनैले सपनालाई शव व्यवस्थापनको काम लगाए । मृत्युको मुखमा पुगेकी सपना मानिसको मृत्युलाई घाटमा थप बुझ्न पाइन् । सुरुसुरुमा डरले शवको छेउमा पुग्न पनि डराउने उनी अचेल मायाको भावले हेर्छिन्, सुम्सुम्याउँछिन् अनि अन्तिम संस्कार पनि गर्छिन्।

कोरोना संक्रमण बढेसँगै बेवारिसे शवहरू पनि निरन्तर नै व्यवस्थापनमा लागिरहेकी सपनालाई शवबाट संक्रमण हुन्छ, अब गर्दिनँ भन्ने कहिल्यै लागेन । उनी भन्छिन्, ‘कोरोना बढेपछि रोग सर्छ, अब गर्दिनँ भन्ने नै आएन । बरु अझै बढ्न सक्छन्, अझै धेरै मानिस सडकमै कुहिएर मर्न सक्छन् भनेर पूर्ण तयारीका साथ बसेकी थिएँ । आफूले सुरक्षाको मापदण्ड पूरा गरेरै भए पनि शवको अन्त्येष्टि गर्दै आएकी छु ।’ कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भए पनि निरन्तर बेवारिसे शव जलाउन लागिपरिरहेकी सपना पछिल्लो समय सडकमा बसेका वृद्धवृद्धाहरूलाई सहयोग गर्ने कामसमेत गर्दै छिन्।

सपना शव व्यवस्थापन गरेकोमा मात्र खुसी छैनन् । उनी अब कसरी यी सडकमै मर्न बाध्य हुने मानिसलाई स्वस्थ जीवन दिन सकिन्छ भन्नेमा चिन्तित बन्न थालेकी छिन् । पछिल्लो समय कामको चर्चा चुलिएसँगै धेरै समाजसेवी साथीहरूसँग उनको भेट भयो । उनीहरूको सहयोगमा नै अहिले उनी बेवारिसे मानिसलाई खानेकुरा दिने काममा पनि सक्रिय छिन् । दैनिक १ सयभन्दा बढीलाई सडकमा खाना खुवाउन पाउँदा खुसी छु ।’ दुई वर्षअगाडि एक युवकसँग प्रेममा परेर भागी विवाह गरेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिकेन । परिवारको विरुद्ध गएर विवाह गरेकी उनलाई विवाह तोडिएसँगै घर जाने हिम्मतसमेत आएन।

कुनै बेला आ’त्मह’त्या गर्ने निर्णयमा पुगेकी सपनालाई आफ्नै कर्मले अहिले चर्चाको शिखरमा पुर्‍याएको छ । नेपाली समाजमा छोरीले पनि अन्तिम संस्कार गर्न सक्छन् भन्ने उदाहरणीय पात्र बनेकी सपनाले संकटको समयमा पनि बेवारिसे अवस्थामा कुहिएका शवलाई पशुपति आर्यघाटमा ल्याएर अन्तिम संस्कार गर्दै आएकी छिन् । पछिल्लो छ महिनामा मात्रै उनले अलपत्र परेका १ सयभन्दा बढी लासको अन्तिम संस्कार गरिसकेकी छिन्। (सम्झना घिमिरे/ शिलापत्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *