“ओली र प्रचण्ड दुवै कम्युनिष्ट होइनन्, अवसरवादी र पदका भोगि हुन्” : मोहन वैद्य

समाचार

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद विवाद सैद्धान्तिक नरहेको बताएका छन्।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुराकानी गर्नेक्रममा वैद्यले सत्तारुढ नेकपा भित्रको विवाद सैद्धान्तिक नभई पद र प्रतिष्ठाको लडाइँ भएको बताएका हुन्।

नेकपाको एकीकरण नै विचार र सिद्धान्तका आधारमा नभई फाइदा र स्वार्थ पूर्तिका लागि मात्र भएको वैद्यले दावी गरे। पद प्रतिष्ठाका कुरा मिल्यो भने नेकपा विवाद साम्य हुने उनको भनाई छ।

“नेकपामा सैद्धान्तिक विवाद होइन । आन्तरिक कलह हो । नेकपामा सिद्धान्तको कुरा छैन। पद प्रतिष्ठाका कुरा मिल्यो भने पार्टी मिल्छ । होइन भने भन्न सकिदैन ।”,उनले भने।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग आ–आफ्नै घमण्ड, अहमंता, इगो र पद प्रतिष्ठाका कुराले पार्टीमा विवाद उत्पन्न भएको नेता वैद्यको विश्लेषण छ। नेकपा तत्काल विभाजन हुने सम्भावना तत्कालका लागि नदेखेको भएपनि यसै भने भन्न नसकिने उनले बताए।

“उहाँहरुमा सिद्धान्तका कुरा छैन, मिल्दा पनि त्यत्तिकै मिल्नुभा हो, हिसाव–किताव, पद–प्रतिष्ठाका कुरा मिलाउनु सक्नुभयो भने मिल्नु होला। फुट्दा दुवैलाई फाइदा छैन । फेरि अन्तरकलह चुलिँदै गइरहेका अवस्थामा मिल्नुहुन्छ भन्ने भन्न सक्ने अवस्था पनि छैन।”,उनले भने।

साथै उनले नेकपाका दुवै अध्यक्ष कम्युनिष्ट नरहेको पनि उनले आरोप लगाए। प्रचण्ड र ओली अवसरवादी र यथास्थितिवादी मात्रै भएको भन्दै उनले नेपाली जनताले मुलुक रुपान्तरणको आशा राख्नु नै गलत रहेको बताए।

“उहाँहरू कम्युनिस्ट होइन। कम्युनिस्ट भनेको हामी हो । अवसरवादी र यथास्थितिवादीबाट नेपाली जनताले मुलुक रुपान्तरणको आशा राख्नु नै गलत हो”,उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *