मलाई प्रधानमन्त्रीबाट हटाउन खोजे भने प्रधानमन्त्रीको कुर्सिनै भाँचिदिन्छु – ओली

समाचार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पत्र प्रतिस्पर्धा खुबै चलेको छ । गत कात्तिक २२ गते पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँचजना नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाए ।

त्यसको प्रतित्युत्तरमा ओलीले २५ कात्तिकमा पत्र लेखे । शुक्रबारको सचिवालय बैठकमा प्रचण्डले पुनः जवाफ फर्काएका छन् । जवाफ फर्काउँदै प्रचण्डले प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएका छन् । दुई अध्यक्षबीच कार्यविभाजनको सन्दर्भमा ओलीले जहिले पनि हलो अड्काएर गोरु चुट्ने नीति अख्तियार गरेको प्रचण्डको भनाइ छ ।

“पार्टी एकताको बेला समान हैसियता, अध्यक्षता र आलोपालो सरकारसमेत मैले तपाईंको जिद्दी र पार्टी एकताप्रतिको मेरो निष्ठाका कारण छाड्दै गएँ । तर, मैले जति त्याग गर्‍यो, तपाईंले त्यति नै अपमानित गर्ने काम बढाउँदै लानुभयो,” प्रचण्डले भनेका छन् ।

त्यस्तै प्रचण्डले ओलीको पत्रलाई झुटको पुलिन्दा भनेका छन् । समग्र पत्रको अध्ययन गर्दा र त्यसमा अभिव्यक्त मत, भावना र आश हेर्दा त्यस्तो लाग्ने प्रचण्डको भनाइ छ ।

“अनुभूतिको तहमा मैले यसलाई ‘विष कुम्भम् पयो मुखम्’का रूपमा महसुस गरेँ । पार्टी अध्यक्ष र प्रधानमन्त्रीजस्तो गहन जिम्मेवारीमा रहेका तपाईं कमरेडबाट तथ्यहरूको यतिधेरै तोडमरोड र यति तल उत्रिएर झुटको खेती गर्न सक्नुहुँदो रहेछ भन्ने कुराले मलाई निकै आश्चर्यचकित र चिन्तित तुल्याएको छ । हजारौं तर्कभन्दा एउटा तथ्य शक्तिशाली हुन्छ कमरेड,” प्रचण्डले पत्रमा लेखेका छन् ।

ओलीले पत्रमा नेतृत्व परिवर्तन र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने आदर्शका कुराहरू पत्रमा लेखेकाप्रति पनि प्रचण्डले व्यङ्ग्य गरेका छन् । ओलीको व्यवहार त्यसभन्दा भिन्न रहेको उनको दृष्टिकोण छ । “व्यवहारमा भने यदि कसैले आफूलाई पदबाट हटाउन खोजेमा त्यो सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीको बहुमतले भने पनि आफूले नमान्ने कुरा खुलारूपमा गरिरहनुभएको छ ।

विघटन भइसकेको पार्टीको महाधिवेशनले छानेको अध्यक्ष हुनाले मलाई कसैले हटाउन सक्दैन भन्ने अनौठो तर्क गर्नुहुन्छ । पार्टी अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजे कुर्सी नै भाँचिदिने चर्चा आइरहन्छ, यो के हो कमरेड ?,” प्रचण्डले प्रश्न गरेका छन् । जनबोली

Leave a Reply

Your email address will not be published. Required fields are marked *