‘आमाबाट पाएको संस्कार र संस्कृति मानिरहेको छु’ – नाजिर

समाज

काठमाडौं। हिन्दु आमा र मुस्लिम बुबाका सन्तान नाजिर मुस्लिम र हिन्दु दुई फरक संस्कारमा हुर्के। नाजिरलाई याद छैन, उनले कहिलेदेखि रमजानको वर्त बस्न थाले, अनि कहिलेदेखि दसैं-तिहारको टीका लगाउन थाले। उनलाई रमजान जत्तिकै महत्वपूर्ण लाग्छ हिन्दुका चाडपर्व दसैं-तिहार पनि।

‘मलाई याद भएदेखि दसैं-तिहारमा मामाघर गएर टीका लगाउँदा मख्ख पर्थेँ,’ उनले आफू ५/६ वर्ष हुँदादेखि नै टीका थापेको सम्झनामा भने, ‘दसैं-तिहार भन्नासाथ ममा भिन्नै ऊर्जा आउँछ।’ अहिले पनि नाजिर दसैंमा मामाघर जाने, तिहारमा टीका लगाउने कुराले रोमाञ्चित हुन्छन्। नाजिरकी आमाको निधन भएको ९ वर्ष भयो। त्यसयता दसैं-तिहारका बेला उनलाई आमाको सम्झनाले बढी पछ्याउँछ। अनि उनी आमाको धर्म पनि पछ्याइरहेका छन्।

भन्छन्, ‘मलाई हिन्दु धर्म मान्न कसैले कर गरेन। कुनै कर पनि छैन। तर यी पर्वहरूले मलाई आमाको याद दिलाउँछ। आमाको विरासत सम्हालिरहेको छु भन्ने अनुभूति हुन्छ।’ नाजिरका बुवा पहिले प्रहरी सेवामा थिए। काठमाडौं, सामाखुसीमा डेरा गरेर बसेको बेला त्यहीँ क्षत्री थरकी युवतीसँग उनको प्रेम बस्यो। त्यो प्रेम सम्बन्ध विवाहमा बदलियो।

हिन्दु भएर मुस्लिमसँग बिहे गरेको समाजलाई सजिलै पच्ने कुरा भएन। उनीहरू पाल्पा पुगे। पछि बाराको डुमरवाना। घरको कान्छो छोराका रूपमा नाजिर त्यहीँ जन्मेका हुन्। तर उनी सानै छँदा बुवा-आमाको सम्बन्ध टुट्यो। नाजिर आमासँग बसे। ‘सानैदेखि आमासँग बसेको हुनाले उहाँले जे-जस्तो गर्नुहुन्थ्यो मैले पनि त्यहीँ सिक्दै गएँ,’ नाजिर भन्छन्, ‘बिहेपछि उहाँले मुस्लिम धर्म मान्नुभयो। सँगसँगै हिन्दु चालचलन पनि पछ्याउन छोड्नु भएन।’

गाउँमा तीन घरपर राई परिवार थियो। माइतीतिर सहजै स्वीकार नहुने भएपछि नाजिरकी आमाले बस्तीका त्यही राई घरलाई आफ्नो माइती बनाइन्। अर्थात्, उनले भाइटीका गर्न थालिन्। नाजिरका अनुसार ३७ वर्षअघि उनकी आमाले लिलाराम राईसँग भाइटीका लगाएकी थिइन्। अहिले नाजिर तिनै मामाकी छोरीहरूको हातबाट भाइटीका लगाउँछन्। यसरी नाजिरले मामाघरबाट राईको चालचलन पनि बुझे।

‘मामाघर जाने भन्ने बित्तिकै छुट्टै उत्साह हुन्थ्यो। एकै गाउँमा भए पनि पर्वमा जाँदा भिन्नै लाग्थ्यो। आमा पनि दंग हुँदै स्याउ, सुन्तला किनेर कोसेली बनाउनु हुन्थ्यो,’ नाजिर भन्छन्, ‘अहिले मलाई उहाँको खुसी सम्झँदा रमाइलो लाग्छ।’ मामाघर जाँदा नाजिरकी आमा सधैं ढिँडो र गाभाको तरकारी खान खोज्थिन् रे। भन्छन्, ‘माइजूसँग भेट्दा अझै पनि त्यस्तै पुराना कुराहरू हुन्छन्।’

सानैदेखि मिश्रित धर्म, संस्कृति, विश्वास र चलनमा हुर्केका भएर नाजिर आफूलाई कुनै एक धर्म वा सिद्धान्तमा अडिएर रहन नसक्ने बताउँछन्। ‘यहाँ मान्छे भएपछि कुनै न कुनै धर्म मान्नुपर्छ भन्ने मान्यता छ। तर धर्मभन्दा अघि म आफूलाई एक मानव भएको नाताले हेर्छु,’ उनी भन्छन्, ‘आफैंलाई म कुनै एक दर्शन पछ्याएर बस्न सक्छु भन्ने पनि लाग्दैन।’

धर्मअघि कर्म, सिकाइ र भोगाइ हुने नाजिर विश्वास राख्छन्। निकै अघिदेखि यसरी चाडपर्व मनाएका भए पनि पछिल्ला केही वर्षमा उनीमाथि विभिन्न सोचाइ भएका मान्छे जाइलाग्ने गरेका छन्। धेरैले सकारात्मक दृष्टिले हेरेका पनि छन्। विगत ६ वर्षदेखि नाजिर नेपाली फिल्म क्षेत्रमा आवद्ध छन्। राम्रो ‘फ्यान फलोअर्स’ कमाइरहेका छन्। यसरी ‘पब्लिक फिगर’ भएपछि उनका हरेक विषयमा चासो राखिनु स्वाभाविक हो। उनी दसैं-तिहारका फोटा सामाजिक सञ्जालमा पोस्ट गर्छन्।

‘त्यस्तो पोस्ट र फोटामा तुलनात्मक रुपमा बढी प्रतिक्रिया आउने गर्छ। कतिले सकारात्मक प्रतिक्रिया जनाउनु हुन्छ, कतिले ढाँचा पारेको पनि भन्नुहुन्छ,’ नाजिर आफ्नो पोस्टमा आउने टिप्पणीबारे भन्छन्, ‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता छ। तर त्यसो भन्दैमा पृष्ठभूमि नबुझी प्रतिक्रिया जनाउनु हुँदैन कि भन्ने लाग्छ।’

उनका अनुसार, धेरैको जिज्ञासा भने एउटा धर्म मानेर अर्को धर्मको संस्कृति किन पछ्याएको भन्ने विषयमा हुन्छन्। उनको जवाफ हुन्छ, ‘धर्म, संस्कृति हामी मान्छेले नै बनाएका हौं। बच्चैदेखि जे सिकेँ, अहिले त्यही मान्दैछु।’

हरेक साल झैं नाजिर यो वर्ष भाइटीकाका लागि उत्साहित छन्। मामाका छोरीहरू काठमाडौंमै भएकाले तिहार यतै मनाउँछन्। उनी र उनका दाइले तीन जना दिदीबहिनीको हातबाट टीका लगाउँछन्। नाजिरका आफ्नै दुई दिदी पनि छन्। जेठी दिदी पूर्ण रूपमा मुस्लिम धर्म मान्छिन् भने कान्छी हिन्दु संस्कृतिसँग धेरथोर घुलमिल भएको नाजिर बताउँछन्।

दसैंमा नाजिर दिदीको घर पोखरा गएका थिए। तिहारका लागि काठमाडौं आउँदैछन्। उनलाई दसैंभन्दा तिहार बढी मन पर्छ। तिहार भन्नेबित्तिकै उनी आमासँगै माइजू पनि सम्झन्छन्। ‘रातभर रोटी पोलेर बस्नुहुन्थ्यो। म र मामाको छोरा रोटी पोल्दापोल्दै चोर्न जान्थ्यौं। माइजूले त्यसरी लक्ष्मी पूजा नगरी खानु हुँदैन भन्नुहुन्थ्यो। तर भाइ र मलाई त्यसरी खानै रमाइलो लाग्थ्यो,’ उनी सम्झन्छन्।

गाउँ झिलिमिली बनाउन उनीहरू माटोको पाला बनाउन एक हप्ताअघिदेखि उत्सुक हुन्थे। नाजिर भन्छन्, ‘पहिले गाउँमा बत्ती थिएन। तिहारमा मात्र गाउँ झिलीमिली हुन्थ्यो। गाउँको चौतारो, धारादेखि घर-आँगन पालाको बत्तीले झिलिमिली पार्थ्यौं।’ चाडपर्वमा गरिने कामकाजमा नाजिर सानैदेखि रहरले सहभागी हुन्थे। दसैं-तिहारको मौसमले पनि उनलाई लोभ्याउँथ्यो।

‘दसैं-तिहार भन्नेबित्तिकै खेतमा धान काट्ने समय पर्छ। धान काटेपछि त्यसको जराबाट फेरि टुसा पलाएको स-साना धान हेर्न कस्तो रमाइलो लाग्छ,’ खुसी साट्दै उनले भने, ‘तराईको फाँटमा बिहानै घामको किरणमा दुबो र ती टुसामा शीत लागेको देख्दा खुब रमाइलो लाग्छ।’ यसपालि दसैंमा पोखरा गएकाले गाउँको लिङ्गे पिङ ‘मिस’ गरेको भने उनी थकथक गर्दैछन्, अझै पनि।

यसरी २९ वर्षदेखि मुस्लिम घरमा जन्मेर हिन्दु संस्कृति र दर्शन पछ्याइरहेका नाजिर आफ्नो अनुभवबाट धेरै कुरा सिक्न बुझ्न पाएको बताउँछन्। भन्छन्, ‘आमाबाट पाएको संस्कार र संस्कृति मानिरहेको छु। र, यो अभ्यास आमाको माया र उहाँप्रति मेरो सम्मान पनि हो।’ (जुना श्रेष्ठ/सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *