यसपालिको तिहारमा भारत र चीनबाट आएकोभन्दा जुम्लाको स्वादिलो ओखर

समाज

तिहार आँगनमै आइसक्यो। अचेल तिहारको विशेषतामा ‘भाइ-मसला’ले बलियो स्थान बनाइसकेको छ। त्यसमा पनि ओखर।

भाइटीकामा ओखर फुटाउँदा दाजुभाइका बाधा अड्चन हट्छ भन्ने धार्मिक मान्यता छ। स्वास्थ्यका लागि पनि ओखर खुबै हितकारी मानिन्छ।

तिहारमा नभइ नहुने यो ओखरको बजार चीन र भारतबाट आयातितले धानिरहेको छ। यस वर्ष विशेषगरी काठमाडौंवासीलाई देशकै उत्पादन जुम्लाको ओखर विकल्प हुन सक्छ।

नयाँ बानेश्वरस्थित जुम्लाघर अर्ग्यानिक एन्ड सुपरफुडले काठमाडौंवासीलाई कर्णालीका सामग्रीलाई उपलब्ध गराउँदै आएको छ। स्टोरका सञ्चालक राज शाहीले कर्णालीका विभिन्न जिल्लामा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर आदी बिक्री गर्दै आएका छन्।

चिनियाँ र भारतीय ओखरका तुलनामा जुम्लाको ओखर अलि महँगो हुने शाही बताउँछन्। आफूले १० देखि १५ प्रतिशत नाफा राखेर बेचिरहेको उनले बताए।

‘महँगो भए पनि सामान चिन्ने मानिसले किनिहाल्छन्,’ राजले भने, ‘ल्याएको १० दिनमै एकसय केजीभन्दा बढी बेचेँ। अब त सकिँदै जान लागिसक्यो।’

आयातित ओखर प्रतिकिलो ५ सय देखि ६ सयमा पाइन्छ भने जुम्लाको ओखर प्रतिकिलो ९ सय ५० रूपैयाँ तोकिएको छ। अनलाइन बजारमा भने १ एक हजार ५० रूपैयाँसम्म बेचिएको उनी बताउँछन्।

‘मैले पहिलो लटमा ४८ हजार र दोस्रो लटमा १६ हजार दाना ओखर ल्याएँ। एक लाखसम्म ल्याउने लक्ष्य छ,’ उनले थपे, ‘एउटा त यसको स्वादले मान्छलाई तानेको छ। अर्को आफ्नै देशको खान पर्छ भन्ने मान्यता बढ्दै छ।’

उनलाई ग्राहक खोज्न केही समस्या छैन। कुनै सामान आउने बित्तिकै फेसबुकमा हाल्दिन्छन्। त्यहीँबाट धेरै ग्राहक आउने उनी बताउँछन्।

‘मेरा साथीभाइ धेरै छन्। उनीहरू मार्फत् पनि बजारीकरणमा सहयोग पुगेको छ। एकचोटि स्वाद पाएपछि ग्राहक पनि खोज्दै आउँछन्,’ उनले भने।

जुम्लाको ओखर अलि कालो र साना दाना हुने भएकाले सहजै चिनिने उनी बताउँछन्। काठमाडौंसम्म सामान ल्याउन उनले जुम्लामै ३ जना कर्मचारी राखेका छन्। यता उनलाई सघाउन पनि तीनै जना छन्।

राजका अनुसार ओखर किलोको हिसाबले नभई दानाको आकार अनुसार मूल्य तिरेर ल्याइन्छ। आकारअनुसार प्रतिगोटा ६ रूपैयाँदेखि १५ रूपैयाँसम्म पर्छ। औसतमा ६ देखि ८ रूपैयाँ पर्ने धेरै हुन्छन्।

ओखर जुम्लामा मात्र फल्ने भने होइन। तर जुम्लाको ओखर काठमाडौंसम्म आइपुगेर ब्रान्ड बन्दै गएको छ।

‘जुम्लाको अधिकांश गाउँमा फल्छ। उत्पादन धेरै हुने भएकाले काठमाडौं आउँछ,’ उनले भने, ‘हुम्लाको एउटा गाउँमा मात्र फल्छ, दार्चुलाको अलि कडा खालको हुन्छ। डोल्पामा पनि अलिअलि फल्छ तर त्यहाँको स्थानीय बजारमै जान्छ।’

अन्य जिल्लाका ओखर एक गाउँबाट अर्को गाउँ जान्छ। जुम्लाको ओखरले भने स्थानीय बजार पनि राम्रो पाएको छ। किसानका लागि पनि स्थानीय बजारमा दिनु र बाहिरी व्यापारीलाई बेच्नु उस्तै भएको उनी बताउँछन्।

‘हामीलाई दिने मूल्य र स्थानीय व्यापारीलाई दिने मूल्य एउटै हुन्छ। अन्य सामान उधारोमा गए पनि ओखर नगदमा कारोबार हुन्छ,’ उनले भने।

किसानले ओखर टिपेर १० दिन जति घाममा सुकाउनु पर्छ। त्यसपछि खानका लागि तयार हुन्छ। अन्य जिल्लाको तुलनामा जुम्लामा धेरै उत्पादन भए पनि व्यवसायिक खेती भने नभएको उनी बताउँछन्।

‘व्यवसायिक रूपमा त्यस्तो कसैले गरेका छैनन्। एउटा घरपरिवारले ४-५ बोट लगाएका छन्,’ उनले भने, ‘हामीले छुट्टा–छुट्टै संकलन गर्छौं।’

असोज–कात्तिक ओखरको मुख्य सिजन हो। किसानले भदौ अन्तिमबाट टिप्न सुरू गर्छन्। तिहारपछि यसको भण्डार सकिँदै जाने भएकाले मूल्य बढ्दै जान्छ। चैत-वैशाखमा त किलोको १४ सय रूपैयाँसम्म पुग्छ।

उनकाअनुसार रोपेको ७ वर्षदेखि बिरुवाले उत्पादन सुरू गर्छ। एउटा बोटले वर्षमा औसत ६० किलो फल दिन्छ। सामान्यतया एउटा बोटले ५०-६० वर्षसम्म फल दिन्छ।

‘नर्सरी गर्न सकियो भने नेपालमा ओखरको एकदम राम्रो सम्भावना छ। यो त म किसानको पेन्सन भन्छु,’ उनले सम्भावना बताए।

ओखर नेपालमा धेरै सम्भावना भए पनि यसको मुख्य समस्या बिरूवा हुर्काउन हुन्छ।

‘ओखरको विज्ञ छैनन्। अगुवा किसान, जेटिए पढेकाहरूले नै नर्सरी गर्छन्। उनीहरू पनि सिक्दैछन्,’ उनी भन्छन्, ‘प्रतिबिरूवा ६ देखि ८ सयसम्म पर्छ। कहिलेकाहीँ राम्रो बिउ पर्दैन। तर हुर्केपछि यसमा समस्या आउँदैन। स्याउमा जस्तो रोग पनि लाग्दैन।’

अर्को समस्या ओखरले ७ वर्षपछि मात्र उत्पादन दिन सुरू गर्छ। त्यसबीच किसानलाई के गरेर बस्ने भन्ने हुन्छ। त्यस कारण पनि यसको व्यवसायिक खेती हुन नसकेको उनी बताउँछन्।

‘उत्पादन लिन किसानले ७–८ वर्ष कुरेका हुन्छन्। पछि राम्रो गुणस्तरको ओखर ननिस्किँदा धेरै किसान फसेका पनि छन्,’ उनले भने।

गुणस्तरीय नर्सरी गर्न सक्यो भने ओखर राम्ररी व्यावसायीकरण हुने उनको विश्वास छ।

२०६० सालमा विज्ञानमा स्नातक सकेपछि राजले सिटिइभिटीमा तीन वर्ष कृषि प्रशिक्षकको रुपमा काम गरे। २०७४ सालमा कृषि व्यवसाय र क्षेत्रमै स्नातकोत्तर र विभिन्न अनुभव लिएर व्यवसाय सुरू गरेको उनी बताउँछन्।

‘यो व्यापार सुरूमा भाइले गरेको हो। उसले सामान ल्याएर अरूलाई दिन्थ्यो,’ उनले भने, ‘पछि मैले किसान, व्यापारी र उपभोक्ता तीनै तहलाई फाइदा हुने गरी काम थालेँ।’

यसबाहेक उनले तरकारी र गाई फार्म पनि सञ्चालन गरेका छन्। दुई वर्ष यहाँ काम गरेपछि भाइलाई जिम्मा लगाएर फार्ममै फर्कने उनको योजना छ।

‘फार्ममा केही भागमा तरकारी लगाएको छु। ७ वटा गाई छन्। तरकारीमा फाइदा छैन। अब विस्तारै तरकारी हटाएर गाई नै राख्ने सोचेको छु,’ उनले भने, ‘पछि जुम्ला घरमा कर्णालीका मात्र उत्पादन राख्ने र अर्को कम्पनी खोलेर अन्य जिल्लाका सामान ल्याएर बेच्ने योजना छ।’

(जुम्लाघरसँग ९८४९४४४२०७ मा वा फेसबुक पेजबाट सम्पर्क गर्न सकिन्छ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *