ओलीले नेपालसँग भने, ‘पार्टी संकटमा पर्यो, पूर्वएमाले मिलेर जानुपर्छ’

समाचार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किएका बेलामा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । भेटमा ओलीले नेपालसँग पार्टीको संकट समाधानका लागि प्रभावकारी भूमिका खेल्न आग्रह गरेका छन् ।

ओलीले वरिष्ठ नेता नेपालसँगै स्थायी कमिटी सदस्यत्रय भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई पनि बालुवाटार बोलाएका थिए । दुई घन्टाभन्दा धेरै समय भएको भेटवार्ताका क्रममा ओलीले पार्टीमा देखिएको संकट समाधानका लागि सहयोग गर्न र प्रभावकारी भूमिको अपेक्षा गरेर बोलाएको बताएका सहभागी एक नेताले नागरिकखबरलाई जानकारी दिए ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै अ‍ोलीले पूर्वएमाले मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, वरिष्ठ नेता नेपालले वर्तमान संकट समाधानको प्रस्ताव के हो ? भनेर प्रश्न गरेका ती नेताको भनाइ छ । उनले भने, ‘पूर्वएमाले मिलेर जानुपर्छ भन्ने उहाँको कुरा थियो । तर, वरिष्ठ नेताले पार्टी एकता भएको अवस्थामा पूर्व समूह भनेर अगाडि बढ्न नसकिने प्रष्ट पार्नु भएको छ ।’

नेकपामा विवाद बढ्दै गएपछि ओलीले आफू निकट नेता कार्यकर्ताको भेला निरन्तर गरिरहेका छन् । उनले सकभर पूर्वएमाले एक ठाउँमा हुनुपर्ने भन्दै अभियान नै सञ्चालन गरेका छन् । नागरिकखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *