ओलीलाई प्रक्रिया मिलाएर प्रधानमन्त्रीबाट हटाउने यस्तो छ तयारी

राष्ट्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने प्रयास पेचिलो बन्दै गएको छ । उनको सिधै राजीनामा नमागिएपनि पार्टीभित्रको विरोधी समूहले प्रक्रियागत रुपमा हटाउने गृहकार्य थालेको छ।

ओलीलाई हटाउने योजना अनुरुप नेकपा सचिवालय बैठक डाक्न जोडबल गरिएको छ । यसको उद्देश्य आफूलाई हटाउने भएको बुझेर ओलीले बैठक डाक्न मानेका छैनन् । त्यसैले उनलाई लिखित रुपमा सचिवालयका बहुमत सदस्यले बैठक डाक्न लिखित पत्र दिएका छन्। यसले ओलीमाथि दबाब बढेको छ।

प्रचण्डसहित पाँचजना सचिवालय सदस्यहरुले दुई दिनभित्र ओलीले बैठक नडाके कडा निर्णय लिने तयारी गरेका छन् । विश्वस्त स्रोतका अनुसार ओलीले बैठक नडाके सचिवालयको बहुमत सदस्य बसेर उनको बारेमा निर्णय लिइनेछ । सचिवालय हुँदै स्थायी कमिटी र आवश्यक परेमा केन्द्रीय कमिटीको बैठक बोलाएर कारबाही सम्मको निर्णय हुनसक्नेछ।

ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने सम्मको योजना बनेको छ । त्यसका लागि संसदीय दलमा अंकगणितको खेल शुरु भइसकेको छ । ओली पक्षले संसदीय दलमा बहुमतको दाबी गरेको छ । तर, उनीविरोधी पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । संसदको अधिवेशन सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र लेखेपछि डाकिने संवैधानिक व्यवस्था छ । हिउँदे अधिवेशनमा अलमल हुने देखिएको छ । त्यस्तो अवस्थामा विशेष अधिवेशन डाक्ने सम्मको प्रयास भएको छ।

पार्टी र संसद दुवैमा आफूलाई घेराबन्दीमा पार्ने प्रयास भएको बुझेर ओलीले सामना गर्ने बताइसकेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने दृढता व्यक्त गरेका छन् । ओलीले आफूविरुद्धको घेराबन्दी तोड्न सक्रियता देखाइसकेका छन्।

रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *