‘अस्ट्रेलिया जाने पैसाले ट्याक्सी किनेँ’, विदेश नगएर ठीकै गरेछु भन्ने लाग्छ अहिले

समाज

काठमाडौं। मेरो घर रामेछाप हो। अहिले परिवारसित भक्तपुरको सूर्यविनायकमा बस्छु। ट्याक्सी चलाउन थालेको पाँच वर्ष भयो। यसअघि काठमाडौँ, सुन्धारा बस्ने गरेको थिएँ। काठमाडौँमा बसेको बेला फुटपाथमा कपडा बेच्ने काम गर्थें। तीन वर्षजति त्यो काम गरेँ। चितवन, पाल्पा, गुल्मी, स्याङ्जा, हेटौंडा गएर पनि कपडा बेच्ने काम गरँे। फुटपाथमा पसल थाप्दा नगरपालिकाका कर्मचारीले धेरै दुःख दिन्थे। लखेट्ने गर्थे। सामान लिएर भाग्नुपर्ने हुन्थ्यो। त्यही भएर यो कामले जीवन चलाउन सकिएलाजस्तो लागेन।

त्यसपछि दुई वर्ष थांका लेख्ने काम गरें। थांका लेख्ने काम पनि आफूलाई फाप्लाजस्तो लागेन। विदेश जाऊँ कि भन्ने लाग्यो। अस्ट्रेलिया जान अप्लाई गरेँ। अस्ट्रेलिया पठाउने अफिसले पनि आजभोलि भन्दै चार महिना झुलायो। दुई लाख रुपैयाँ त्यसै डुब्यो। त्यसपछि सोचेँ, अस्ट्रेलिया जान १४–१५ लाख रुपैयाँ लाग्छ। त्यसको सट्टा बरु यहीँ पाँचछ लाख रुपैयाँ लगानी गरेर केही गर्छु भन्न लाग्यो। त्यसपछि ड्राइभिङ सिकेँ। त्यतिबेला घरमा बोलेरो गाडी थियो। त्यही चलाएँ। पछि ऋण गरेर ट्याक्सी किनेँ। अहिले त्यही ट्याक्सी चलाउँदै छु। सहचालक भएर काम गरिएन। सीधै चालक भइयो।

पहिला काठमाडौँमा ट्याक्सी चलाएँ। अहिले भक्तपुरमा चलाउँछु। यहाँ पनि प्राइभेट गाडीले प्यासेन्जर उठाइदिन्छन्। गाह्रो छ गरिखान। कोठा भाडा, बच्चाको स्कुलको फिस तिर्न हम्मेहम्मे पर्छ।

पैसा नदिने, मिटरमा जान नमान्ने, मोलमोलाइ गर्ने प्यासेन्जरले साह्रै दुःख दिन्छन्। बाटोघाटोको समस्या नि त्यस्तै छ। मेन रोड चाहिँ राम्रो छ। भित्रभित्र त पहिलाको जस्तै खाल्डाखुल्डी छन्। महिनाको २५ दिनजति काम गरिन्छ। बाँकी समय परिवारसँग बिताउँछु। खान–लाउन काम गर्नु परिहाल्यो। विदेशमा गए पनि धेरै कमाए ५०–६० हजार रुपैयाँ कमाइने हो। यहाँ पनि महिनाको ३०–४० हजारजति त कमाइन्छ मज्जाले। विदेश नगएर ठीकै गरेछु भन्ने लाग्छ अहिले।

Leave a Reply

Your email address will not be published. Required fields are marked *