कांग्रेसलाई मुख्यमन्त्री पोखरेलको जवाफ- देउवाले बुटवल नै अन्तिम राजधानी भन्नुभएको थिएन

समाचार

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै बुटवल प्रदेशको अन्तिम राजधानीको रूपमा रहने कहिल्यै कहिँ नभएको बताएका छन्।

देउवा प्रधानमन्त्री भएका बेला प्रदेशको अस्थायी राजधानी तोकिएको प्रसंग निकाल्दै उनले त्यसपछिका प्रदेशका जिल्ला भ्रमणमा देउवाले प्रदेशको स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभालाई नै भएको बताउने गरेको उल्लेख गरे।

मंगलबार प्रदेशसभामा सम्बोधन गर्दै उनले त्यसबेला सभापति देउवाले बोलेका रेकर्ड सुरक्षित रहेको पनि बताए।

कांग्रेस सांसदले बुटवललाई नै प्रदेशको राजधानी बनाउनु पर्ने अडान राखेका छन्। प्रदेश सरकारले राजधानी दाङ देउखुरी राख्ने प्रस्ताव पेश गरेको छ, जुन प्रस्तावमाथि आज मतदान हुँदैछ।

सरकारले राखेका प्रस्तावमा फरक मत राखेको कांग्रेसप्रति लक्षित गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्नुभयो। त्यसपछि प्रदेश ५ का जिल्ला आउँदा उहाँले हरेक सभामा भनेका भनाइ मलाई सम्झना छ। उहाँले अस्थायी राजधानी न तोकेको हो। स्थायी तोक्ने अधिकार प्रदेशसभामा छ भन्नुभएको थियो, रेकर्ड सुरक्षित छ।’

प्रदेशसभाले स्थायी राजधानी तोक्दा आफूलाई कुनै आपत्ति नहुने त्यसबेला देउवाले बताएको पनि मुख्यमन्त्री पोखरेलले दाबी गरे।

‘त्यसबेला उहाँले के भन्नु भएन भने वैज्ञानिक ढंगले हामीले राजधानी टुंगो लगाएका छौं यो नै अन्तिम हो भनेर कहीँ भन्नुभएको छैन,’ मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा भने।

उनले बुटवल क्षेत्रमा विकासका पूर्वाधारसमेत अगाडि बढेको बताए। चिडियाखानादेखि रंगशाला बुटवलमै निर्माण भएको उनको भनाइ छ। अब राखिने राजधानी राप्ती उपत्यका रहने उनले बताए। बुटवललाई आर्थिक राजधानी बनाइने पनि पोखरेलको भनाइ छ।

‘प्रदेश राजधानी नयाँ ठाउँमा तोकियो भन्दैमा बुटवल क्षेत्रको विकासलाई चिन्ता नगर्न म आग्रह गर्छु,’ उनले भने, ‘लुम्बिनी क्षेत्रको विकास गरी पर्यटकीय राजधानी विकास गर्ने आजकै मन्त्रिपरिषदको बैठकबाट निर्णय भएको छ।’ setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *