बाढीले दुई घर नै बगायो, ५० घर आधा डुबे

समाचार

बुटवल । रातभरको वर्षाले रुपन्देहीका विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दुई घर बगाएको छ । तिनाउ नदीको बाढीले पसेपछि बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर बगाएको हो ।

 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पु¥याएको छ । रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपु सैनिक टोलमा करिब ५० घर डुबानमा परेका छन् ।

 

रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । बस्तीमा बाढी पसेपछि मध्यरातदेखि नै नगर प्रमुख घिमिरेको नेतृत्वमा जनप्रतिनिधि, सुरक्षाकर्मी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी उद्धारका लागि पुगेका थिए ।

 

विद्युत सेवा अवरुद्ध

तिलोत्तमामै सुखौरा खोलाको बाढीले सुखौरा खोला पुल नजिक विद्युत पोल ढाल्दा विद्युत सेवा अवरुद्ध भएको छ भने तिलोत्तमा–११ गणेशनगर क्षेत्रमा नदी तटीय क्षेत्र कटान गरेर नदी बस्ती नजिक आउन थालेको छ । बुटवलको रानीगन्जमा बाढीले विद्युतको पोल बगाएको छ ।

 

देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२ मा ४ वटा घर भारी वर्षाका कारण भत्किएका रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । बाढीले डुबान र कटान गरेपनि मानवीय क्षति नभएको खत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *