गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङका अनुसार ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
‘आज रिपोर्ट आएको अनुसार १६ जनामध्ये ६ जनामा संक्रमण देखिएको छ,’उनले सेतोपाटीसँग भने,’उनीहरूलाई ललितपुर परिसरमै राखिएको छ।’
प्रहरीले यसअघि १९ जनालाई पक्राउ गरेको थियो। त्यसमध्ये तीन जनालाई छोडिसकेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार नै ललितपुरका मेयरलाई काट्ने भन्दै धम्की दिने सञ्जय शाक्यलाई समेत पक्राउ गरिसकेको छ।
प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरूद्धको कसूरमा अनुसन्धान अघि बढाएको जनाएको छ। सेतोपाटीबाट