बाढीले बगर बनाएको ढोरपाटनको कथा, न घर, न परिवार, न रह्यो लालपुर्जा

समाज

बागलुङ : घर छेउको सानो खोला यसरी बौलाउँछ भन्ने ढोरपाटनका स्थानीयले कहिल्यै सोचेका थिएनन् । प्रकृति पनि यति निर्मम भएर आउँछ र रातारात उठिबास लगाउँछ भन्ने सोच्नु त झनै परको कुरा भयो।तर, जे नहुनु थियो त्यही भइदियो। त्यो अकल्पनीय घटनाले सदाका लागि नसुक्ने घाउ बनाएर गयो। ढोरपाटनको भुजीखोलामा पहिरोसँगै गत बुधबार राती आएको भीषण बाढीले १६ जनाको ज्यान लियो । २२ जना अझै हराइरहेका छन् । ८० घर बगाएको छ ।

दर्जनौं परिवारका सपना र खुसीहरु उजाडिएका छन् । स्थानीयले बाढीसँगै आफ्ना अभिभावक, सन्तान र प्रियजन मात्रै गुमाएका छैनन्, आफ्ना घर, खेत, जग्गा जमिन र त्यसको प्रमाणको फेहरिस्त बोक्ने लालपूर्जा समेत गुमाएका छन् । र बिहानीको पर्खाइमा बसेका स्थानीय लालबहादुर विकजस्ता दर्जनौं परिवार एकै रातमा सुकुम्बासी बनेका छन् ।

ढोरपाटन ९ का लालबहादुरले बाढीको विपत्तिबाट आफ्ना एक मात्र २२ वर्षीय लक्का जवान छोरा जीवन विकलाई गुमाए । बुढेसकालमा सहारा बन्ने ठानेको छोरा गुमाए पछिको पीडा उनका आँखाबाट छरपष्ट पोखिइरहेका छन् । ‘हामी बर्खा छल्न परिवार नै ढोर गएका थियौं, तर खर्च सकिएपछि छोरालाई लिन घर पठाएका थियौं, ‘उनले भने, ‘दैवको लिलामा यस्तो लेखेको रहेछ ।’

१३ वर्षीय महेश विकले बाढीमै आफ्ना प्रीय अभिभावक गुमाएका छन् । फेन्सी व्यवसाय गर्दै आएका बुवा,आमा र भाइ घरसँगै बगेर बेपत्ता छन् । महेश भने भैसीलाई घाँस पानी गर्न ढोर गएकाले ज्यान जोगिएको छ । ढोरपाटनका अधिकांश बासिन्दा यस समयमा ढोरपाटन शिकार आरक्षमै गोठ सर्ने गर्दछन् । हिउँदको याममा मात्र तल गाउँमा आउँदछन् ।

बाआमा फर्किएर आउने महेशको अभिव्यक्तिले स्थानीय र आफन्तको आँखा यसै रसाउँछ ।’बाढी आएको राती थाहा पाएका थियौं तर आउँदा पुल बगेको रहेछ, ‘ महेशले भने, ‘अनि बिहान ढिला मात्र घर आयौं तर घरको नाम निसाना केही थिएन ।’ परिवारमा बाढीबाट जोगिएर बाँच्नेमा उनी एक्लो हुन् । उनी कक्षा ६ मा पढ्दैछन्।

महेशका बा-आमासहित माइलो बुवा, आमा पनि बाढीले बेपत्ता छन् । किराना पसल गर्दै आएका बाआमा बेपत्ता पछि परिवारमा मात्र १४ वर्षीय सुस्मिता र उनकी बहिनी मात्र छन् । बाढीको बितण्डा पछि ढोरपाटनमा दुर्दान्त कथा भोगेका अनगिन्ती पात्र र परिवार छन् । घरसहित धन सम्पती, लत्ताकपडा, कागजपत्र सबै मध्यरातमा आएको बाढीले बगाएपछि खाली हात छन् । अहिले उनीहरु कोही आफन्तको आश्रयमा बसेका छन् भने कोही खुल्ला आकाशमुनि पाल टाँगेर रात काटिरहेका छन् ।

ढोरपाटनको भुजीखोलामा आएको बाढीले क्षतिग्रस्त बनेका घर र सडक । ‘परिवार र आफन्त गुमाएको पीडा त एकातिर छँदैछ,’ ढोरपाटन वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर घर्तिले भने, ‘बाढीले घरसहित लालपुर्जा, नागरिकतालगायतका महत्वपूर्ण कागजात समेत बगाएपछि पीडा र तनाव थपिएको छ ।’

ठूलो जनधनको क्षति भएकाले तीन तहको सरकार र यसका निकायबीच समन्वय गरेर बाढी प्रभावित परिवारको सबै समस्या हल गरिने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए । ‘अहिले तत्कालका लागि अस्थायी बसोबास, खानपान लगायतको हो, त्यसका लागि प्रयाप्त राहत सामग्री जुटाइरहेका छौं’, मेयर नेपालीले भने, ‘तत्कालको आवश्यता हल गरे पछि अरु महत्वपूर्ण कागजात लगायतमा के कसरी सहज हुन्छ ? त्यो प्रशासनिक निकाय सँग समन्वय गरेर समाधान गरिनेछ ।’

बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बाढीका कारण धेरै जटिलता पैदा भए पनि त्यसलाई क्रमशः सहज तबरबाट समाधान गरिने बताए । ‘अहिले बाढीग्रस्त क्षेत्रमा प्रहरीले मुचुल्का पनि उठाइरहेको छ, यसकै आधारमा वडा र पालिकाबाट सिफारिस र निर्णय गरेर नागरिकता निकाल्ने व्यवस्था गर्छौ, अनि त्यसकै आधारमा सम्बन्धित कार्यालय सँग समन्वय गरेर लालपुर्जा लगायतका महत्वपूर्ण कागजात बनाइदिने व्यवस्था गर्नेछौ ।’

ढोरपाटन शिकार आरक्षको देउराली नजिकैको पहाड खसेर खोला थुनिए पछि एकैसाथ फुटेर आएको बाढीमा ज्यान गुमाएका १६ मध्ये १४ जनाको सनाखत भएको छ । २२ जना अझै बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले तीनदेखि निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेको इलाका प्रहरी कार्यालय बुर्तिबाका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

बाढीले भूजीखोलामा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा अन्धकार बनेको छ । बाढीले बुर्तिबाङ–ढोरपाटन सडक समेत बगाउँदा यातायात समेत ठप्प भएको छ । यसले गर्दा राहात सामग्री समेत पुर्‍याउन कठिन परेको छ ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलविधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको जीप पनि बगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *