करेन्ट लागेर दुबै हात गुमाएका मानबहादुरको उपचारमा आर्थिक अभाव, सहयोग गरिदिन अपिल

स्वास्थ्य

झण्डै एक महिनाअघि करेन्ट लागेर दुबै हात गुमाएका कैलालीका एक युवकलाई आर्थिक अभावमा उपचारमा समस्या भएको छ।

करेन्ट लागेर दुबै हात गुमाएका धनगढी उपमहानगपालिका–३ विशालनगरका ३१ वर्षीय मान बहादुर बस्नेत (मनोज)को आर्थिक अभावमा उपचार हुन सकेको छैन।

अहिलेसम्म झण्डै १२ लाख खर्च गरिसके पनि अझै २५ लाख जति खर्च लाग्ने भएपछि आर्थिक सहयोग गरिदिन उनले अपिलसमेत गरेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थायी घर भएका मानबहादुरको गएको साउन १३ गते करेन्ट लागेर पूरै शरीर जलेको थियो। उनको धनगढी उपमहानगरपालिका–३ विशालनगरमा फलामको काम गदै गर्दा करेन्ट लागेर शरीर जलेको हो।

विशालनगरमा चन्द्रा पाण्डेयको घरमा ग्रीलको काम गर्ने क्रममा विद्युतको राष्ट्रिय प्रसारणलाइनबाट करेण्ट लागेर घाइते भएका बस्नेतलाई धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ। उनको प्राथमिक उपचार धनगढीको स्थानीय मायामेट्रो अस्पतालमा गरिएको थियो। मायामेट्रोमा उपचार सम्भव नभएपछि साउन १५ गते काठमाडौँ रिफर गरिएको थियो।

हाल उनी काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका छन्। बस्नेतको उपचारकै क्रममा दुई वटै हात काटिएको उनका ज्वाईं नरेन्द्र गिरीले बताए। ग्रिल व्यवसाय सञ्चालन गरेर श्रीमती र दुई छोराछोरीको लालनपालन गर्दै आएका बस्नेतको उपचारका क्रममा घरसमेत बेचिइसकेको छ। अहिलेसम्म करिब १० देखि १२ लाख रुपैयाँ खर्च भइसकेको गिरीले बताए।

गिरीले भने, ‘अझै उपचारमा २० देखि २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ,यति ठूलो रकम कहाँबाट जुटाउने समस्या भएको छ।’

गिरीले थपे, ‘केही मनकारी व्यक्तिले उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ, अझै देश विदेशबाट सहयोग भए उपचार सम्भव हुने थियो।’

उपचारका क्रममा बस्नेतसँग ओत लाग्ने घर र पैसा सबै सकिएकोले परिवारको भरणपोषणका लागि समेत समस्या भएको उनले बताए।

उनले मानबहादुर बस्नेत र कुमारी बिन्दु बोहराका नाममा एनआईसी एशिया धनगढीमा रहेको ३८५४४५९७२९५२४००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन देशविदेशमा रहेका नेपाली तथा संघ संस्थाहरुलाई आग्रह गरेका छन्। अहिलेसम्म उनले ताप्लेजुङ सुकेटार घर भइ हाल जर्मनी बस्दै आएका मनकारी व्यक्ति कालीदास तिवारीले ५३ हजार चार सय एक रुपैयाँ सहयोग गरेकोमा आभार व्यक्त गरे।

विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनकै मुन्तिर रहेको घरमा ग्रिलको काम गरिरहेका बस्नेत सोही घरमा काम गर्ने क्रममा फलामको रड लिएर तेस्रो तलामा गएकै बेला राष्ट्रिय प्रसारण लाइनबाट करेण्ट लागेर ढलेर घाइते भएका थिए। सिधाबाटोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *