‘मान्छे रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि’ निशुल्क खाना खुवाउन थाले’ : संयोजक कुँवर

समाज

चितवन, – बुधबार मध्यान्ह नारायणी नदी किनारको दृश्य वर्णन गर्न लायक थियो ।

शीतल मौसममा त्यही नजिकैको बुद्धको मूर्ती सधैझै उस्तै सालिन, शान्त र ध्यानमग्न देखिन्थ्यो । त्यही छेउको अर्को दृश्य एक हुल मान्छे अशान्त, अधैर्य जस्तो देखिन्थे । शरीरमा मैलो लुगा न मुखमा मास्क न त भौतिक दूरी नै कायम भएको थियो ।

अर्को छेउमा यी सबै भन्दा पृथक अर्को रोमाञ्चक दृश्य देखिन्थ्यो । ठूलो भाडामा खाना पाक्दै छ । मासु, भात र तरकारीको बास्ना आइरहेछ । एक हूल ती मानिसहरु त्यसैको प्रतिक्षामा नदी किनारमा सधैझै आज पनि जम्मा भएका छन् । एकैछिनमा खाना पाके को इशारा हुन्छ । सबैजना दूरी कायम गर्दै चौरमा लामबद्ध बन्छन् । खाना अघि आएपछि अघिको अशान्त र अध्यारो अनुहार एक्कासी उज्यालो बन्यो ।

सबैले थपीथपी खाना खाए । सबै उमेरसमूहका बालबालिका देखि वृद्धसम्म यसरी खाना खान हरेक दिन आउँछन् । भोकमा खानाको प्यास मेटाउँछन् ।

चितवनमा साउन ३१ यता निषेधाज्ञा छ । निषेधाज्ञाको यो समयमा सडकमा बस्ने सहयोगपेक्षीले न काम न माम नै जुटाउन सके । यस्तो अव्यस्थामा विगत १३ दिनदेखि बेवारिसे व्यवस्थापन चितवन शाखाले यसरी खाना खुवाइरहेको छ ।

‘मान्छे रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि’ निशुल्क खाना खुवाउन थालेको’ संस्थाकी संयोजक सीता कुँवर बताउनु हुन्छ । दैनिक २०० देखि २५० जना नदी किनारमा खाना खान आउने उहाँले बताउनुभयो । बिहानै ६ बजेदेखिनै खाना पकाउन आइपुग्छौं। ११ देखि १२ बजेको बीचमा खाना खुवाउने गरेको सोही संस्थाकै उप संयोजक प्रकाश थापाले जानकारी दिनु भयो ।

खाना खुवाउनको लागि भरतपुरका लियो क्लबदेखि व्यक्ति गत सहयोग तथा अन्य संघसंस्थाले पनि सहयोग गरि रहेको उहाँले जानकारी दिनुभयो ।

कसैको जन्मदिन, वैवाहिक वर्षगाठ अवसरमा पनि खाना खुवाउनका लागि व्यक्तिहरुले सहयोग गरेको उहाँले बताउनुभयो। को’रोना महामारीको बेला चुनौती धेरै छ, त्यही पनि रोगले भन्दा भोकले कोही नमरुन भनेर आफूहरु लागि परेको संयोजक कुँवर बताउनु हुन्छ । भरतपुर महानगरपालिका सहयोगीपेक्षी सडक मानव मुक्त घोषणा भइसके पनि झण्डै २८५ जना बेवारिसे सडक मानव भएको कुँवरको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *