कुलमान सारा नेपालीको प्रेरणाको श्रोत हुन्, आम नेपालीको मतलाई बेवास्ता नगरियोस्

राष्ट्रिय

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी पदमा उनैलाई निरन्तरता दिन बलियो माग उठिरहेको छ।

यति बेला सर्वसाधारण, राजनीतिक दलका नेता-कार्यकर्ता देखि कलाकार सम्म प्राधिकरणको कार्यकारी पदमा कुलमानलाई नै निरन्तरता दिन माग गरिरहेका छन्।

देशबाट लोडसेडिङ हटाउन सफल नेतृत्वदायी भूमिका निभाएका कुलमान घिसिङले घाटामा रहेको प्राधिकरणलाई नाफा उन्मुख गराउन सफल भएका कारण अहिले सम्पूर्ण नेपाली उनको समर्थनमा छन्।

यसै बीच वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि सम्पूर्ण नेपालीको लागि कुलमान प्रेरणाको स्रोत रहेको बताएका छन्। श्रेष्ठले बिहिबार सामाजिक संजाल फेसबुक मार्फत यस्तो बताएका हुन्। ‘कुलमान घिसिङ’ नाम सुन्ने बितिकै मन उज्यालो हुने र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी पदमा कुलमान नै हुनुपर्ने उनको भनाई छ।


“कुलमान घिसिङ ‘जस्को नाम सुन्दा पनि मन उज्यालो हुन्छ । आफ्नो निःस्वार्थ, इमान्दार र सही निर्णयले रातलाई दिन बनाएर देखाउन सफल एक उदाहरणीय देशभक्त व्यक्तिको नाम हो । ‘कुलमान घिसिङ’ हाम्रा लागि त रोल मोडेल हुन् । उहाँको कार्यअवधि थपिनुपर्छ भन्ने विषयमा आम नेपालीको एउटै मत छ । आम नेपालीको मतलाई बेवास्ता नगरियोस् ।”,फेसबुकमा श्रेष्ठले लेखेका छन्।

यस अगाडी वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि कुलमानलाई सबैले सम्मान गर्नु पर्ने बताएका थिए। कुलमानको उर्जाले देशको उर्जा बढ्ने दावी गर्दै आचार्यले कुलमानको समर्थन गरेका थिए।

“यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ।”,फेसबुक मार्फत हरिवंशले भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *