रमजानको बेला साउदीमा कर्फ्यू खुकुलो, नेपाली श्रमिकका समस्या सुन्न टेलिफोन सेवा सुरु

अन्तर्राष्ट्रिय

साउदी – रमजानको बेला साउदी सरकारले कर्फ्यू खुकुलो बनाएको छ ।

रमजान महिनालाई मध्यनजर गर्दै साउदी सरकारले मक्का क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कर्फ्यूको समयमा हेरफेर गरेको हो ।

अप्रिल २६ देखि मे १३ सम्मको लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू हटाइएको छ । यो भन्दा पहिले रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यू लागू भएको थियो ।

कर्फ्यूको समय फेरबदल भए पनि सामाजिक दूरी कायम राख्न र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न साउदी सरकारले अनुरोध गरेको छ ।

यस्तै साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नको लागि छुट्टै टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।

फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको भन्ने जानकारी प्राप्त भएकाले समस्यामा परेका नेपालीको विवरण टेलिफोनबाट समेत लिने गरी दुईवटा टेलिफोन नम्बरको व्यवस्था गरिएको दूतावासले जनाएको छ ।

अब ०५०००३१७०५ र ०५०००३४७८६ मा फोन गरेर आफ्ना समस्याहरु टिपाउन सकिनेछ । बिहान ९ बजेदेखि १२ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म फोनमा गुनासो टिपाउन सकिने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *