काठमाडौं। नागढुंगा सुरुङ मार्ग बन्ने पक्का भएपछि नागढुंगा क्षेत्रका स्थानीय खुसी भएका छन्। नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले ठेकेदार छनोट गरी सम्झौताको तयारी गरेसँगै नागढुंगा वासीमा खुसी छाएको हो। सुरुङमार्ग निर्माणका लागि ४२ कम्पनीले आशय जनाए पनि छनोट प्रक्रियाका लागि भने ६ कम्पनी परेका थिए। जसमा ५ कम्पनी चिनियाँ र एक जापानी कम्पनी थिए।
धादिङको सिस्नेखोलादेखि काठमाडौंको तोटीपाखा सम्म बन्न लागेको नागढुंगा सुरुङ मार्ग निर्माणका लागि जापानी ठेकेदार कम्पनी छनोट गरी आयोजनाले सम्झौताको तयारी थालिसकेको छ। सुरुङमार्ग र त्यससम्म पुग्ने पहुँच मार्गले काठमाडौं तर्फको चन्द्रागिरी नगर पालिकाको १, २, ५ र १२ नम्बर वडाको भूभाग पर्दछ।
आयोजनाले शुरूमा जग्गा अधिग्रहण गर्दा मुआब्जाको विषयमा समस्या देखिए पनि अहिले त्योविषय टुंगिएको र आयोजना बन्न लागेकाले आफू खुसी रहेको चन्द्रागिरी–२ का वडा सदस्यसमेत रहेका स्थानीय सुरेन्द्र तामाङले सुनाउनु भयो। ‘शुरूमा मुआब्जाको विषय नटुंगिदा विरोध पनि थियो। अहिले त्यो सुल्जिएको छ। सुरुङ बन्ने पक्का भएको छ हामी खुसी छौं।