सेतो नम्बर प्लेटलाई रातो बनाइयो, मुख्यमन्त्री पत्नीले प्रयोग गर्दै !

समाचार

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी गाडीको नम्बर प्लेटलाई निजी बनाएका छन्।

सुरक्षा थ्रेट भएपछि गुरुङले ग १ झ ४०७ नम्बरको स्कोरपियो गाडीको सेतो नम्बर प्लेटलाई रातो बनाएका हुन्। प्राप्त जानकारी अनुसार २०७५ फागुन २६ गते यातायात ब्यवस्था विभाग गण्डकीबाट स्वीकृति लिएर उक्त गाडीको नम्बर प्लेट रातो बनाइएको हो।

प्रधानमन्त्री कार्यालयले बा १ झ १३६३ नम्बरको स्कोरपियो गाडी प्रदेश सरकारलाई उपलब्ध गराएको थियो। सोहि गाडी प्रदेशिकरण गरी मुख्यमन्त्री कार्यालय मातहत ल्याइएको थियो।

रातो नम्बर प्लेट बनाइएपछि अहिले उक्त गाडीको नम्बर ग ३ च १६२ कायम गरिएको छ। प्रदेशकै मुख्यमन्त्रीको सुरक्षा थ्रेट भएपछि सेतो नम्बर प्लेटलाई रातो बनाइएको यातायात ब्यवस्था विभाग गण्डकी श्रोतले जनाएको छ।

रातो नम्बर प्लेट बनाइएको उक्त गाडी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भन्दा पनि उनकी श्रीमती कुमारीमुनी लम्जुङले प्रयोग गर्दै आएको बताइने गरिन्छ।

मुख्यमन्त्रीकी श्रीमती क्व्होलासोथार गाउँपालिकाकी जनप्रतिनिधि समेत हुन्। उनी क्व्होलासोथार गाउँपालिकाकी उपप्रमुख रहेकी छन्। पोखरा–लम्जुङ आउजाउ गरिरहनु पर्ने हुँदा सेतो नम्बर प्लेटलाई रातो बनाइएको हुन सक्ने अनुमान पनि गरिएको छ।

विशेष गरेर श्रीमतीको सुविधाको लागि सरकारी सेतो नम्बर प्लेटलाई निजि रातो बनाइएको समाचार बाहिरिएपछि मुख्यमन्त्रीको आलोचना समेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *