शनिदेवलाई खुसी पार्न के के नखाने ?

धर्मदर्शन

शनिवार पात्रो अनुसार हप्ताको सातौं दिन पर्छ । यसको नामाकरण शनिग्रहको रूप मानिने शनि देवताको नामबाट गरिएको हो । हिन्दु धर्मको किवदंती अनुसार शनिबारकी माता कालीमाता हुन् । अझ शनिदेवलाई न्यायको देवता मानिन्छ । धर्मशास्त्र अनुसार, यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन भोजन गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । के छ त शनिवारको विशेषता ?

– शनिवार दूध अथवा दही सेवन गर्दै हुनुहुन्छ भने खाली दुध अथवा दहीमात्र सेवन नगर्नुहोस् । त्यसमा थोरै गुड अथवा चिनि मिसाएर खानुहोला । धर्मशास्त्र अनुसार, शनि देवलेसादा दूध र दही फिटिक्कै मन पराउँदैनन् ।

– रातो खुर्सानी पनि शनिदेवलाई मन पर्दैन त्यसैले शनिवारको दिन रातो खुर्सानी प्रयोग नगर्नुहोस् ।, – शनिवारको मुसुरोको दाल खानबाट पनि बच्नुहोस् ।, – शनिवारको दिन आँपको अचार खाने त के सम्झदा पनि नसम्झनुहोस् । किनकी आँपको सेवन शनिदेवलाई मन पर्दैन ।

अन्य समाचार

यसरी शुरु भएको थियो इन्द्रजात्रा

भाद्र शुक्ल चतुर्दशीको दिनलाई अनन्त चतुर्दशी भनिन्छ । यसै दिनमा काठमाडौंका महानगरबासी नेवार समुदायले इन्द्रजात्रा उत्सव मनाउने परम्परा छ । राजा गुणकामदेवले सर्वप्रथम इन्द्रजात्रा उत्सव मनाउन शुरु गरेका थिए । यसै दिनमा राजा जयप्रकाश मल्लले कुमारी यात्रा प्रारम्भ गरेका थिए । इन्द्रजात्रा कालभैरव मन्दिरको अगाडि लिङ्गो गाडी इन्द्रको ध्वजा फहराएपछि आरम्भ हुन्छ ।

इन्द्रजात्रा किन मनाइन्छ भन्ने आजको नयाँ पिंढीलाई लाग्न सक्छ । प्रथमतः हाम्रो समाज र हाम्रो जीवन कुनै न कुनै धार्मिक आध्यात्मिक संस्कृतिको अनुदायी हुँदै आएको देखिन्छ । संस्कार र संस्कृति नभएको मानिस सभ्य हुँदैन । सभ्य र सुखी जीवन जिउनका लागि पुर्खाले मानी आएको रीतिरिवाज, धर्म, पर्व र मेलाको महत्त्व बुझ्नु पर्ने हुन्छ । विश्व गोलो र ठूलो छ तर यसको अस्तित्व हाम्रो जीवनसँग गाँसिएको देखिन्छ । किनभने अरु प्राणीभन्दा श्रेष्ठ र बुद्धिमान् प्राणी मानिस हो । यसको चालचलन, रहनसहन, जीवन जिउने तरिका पनि हामी हाम्रा चाडपर्व, संस्कार, जात्रा आदिको महिमाबाट थाहा पाउँछौ ।

हिमालयको काखमा प्रकृतिको छाँयाछवि हेरेर बस्ने हामी नेपालीहरुका भाषा, भेष र धर्म आ–आफ्नै छन् । कोही मुक्तिनाथको गाथालाई महत्त्व दिन्छन् त कोही पशुपतिनाथको महत्त्वलाई कोही माता पाथीभराको आशीर्वाद लिन्छन् । पश्चिमकी शैलेश्वरी पाल्पाका, ऋषिकेशव, प्यूठानको स्वर्गद्वारी, म्याग्दीको गलेश्वर, जनकपुरको जानकी मन्दिर, वाग्लुङकी कालिका देवी, पोखराकी विन्ध्यबासिनी, तनहुँको ढोरबाराही, कपिलवस्तुका बुद्ध, लमजुङका ईशानेश्वर, पाटनको कृष्णमन्दिर, काठमाडौंको पशुपतिनाथ आदि देव मन्दिरले हाम्रो सामाजिक आस्थालाई चिनाएझैं इन्द्रजात्राले पनि स्वर्गका राजा इन्द्रको महिमालाई सम्झी इन्द्रजात्रा पर्व मनाउदै आएको पाइन्छ ।

इन्द्रध्वजोत्थान गर्नाले नेपालको राष्ट्रिय झण्डाको शक्ति बढ्दछ भन्ने विश्वास गरिन्छ । हिन्दू संस्कृतिमा वरुण, पुषा, अर्यमा, यम, कुवेर सूर्य, चन्द्र, आदिको स्थान देवताका रुपमा पूजित छ भने तिनै देवताहरुका राजा इन्द्रको महिमा पनि विशिष्ट रहँदै आएको छ । राज्यमा कहिले सङकट वा विपत् आइलाग्दा इन्द्र महाराजको पूजा प्रार्थना गर्नाले सङ्कट दूर भई सुख शान्ति मिल्छ भन्ने जनविश्वास रहेको छ ।

संसारको सबभन्दा प्राचीन ग्रन्थ ऋग्वेद हो । त्यसमा रहेका दश हजार मन्त्रमध्ये एक चौथाइ मन्त्रले इन्द्रको महिमा गान गरेको देखिन्छ । इन्द्रका पिताको नाम त्वष्टा वा द्यौ हो । उनका भाइ पूषा र अग्नि हुन् । इन्द्रकी पत्नीको नाम इन्द्रायणी हो । जसको पूजा कीर्तिपुरमा गरिंदै आएको छ । इन्द्र सुनको रथमा चढेर सुशासनको निम्ति नगर अवलोकन गर्न आउँछन् भन्ने आस्थाका आधारमा इन्द्रजात्रा पर्व मनाउँदै आएको देखिन्छ ।

एउटा अर्को अनुश्रुतिअनुसार देवता र दानवको युद्ध हुँदा दानवले जिते । हार खाएर अताल्लिएका देवताहरु देवराज इन्द्रकहाँ गए । इन्द्रले देवताहरुलाई साथमा लिई भगवान् विष्णुसमक्ष पुगी सम्पूर्ण कुरा निवेदन गरे । विष्णुले युद्ध जितिने विजय–ध्वजा दिए । त्यो विजयध्वजा लिई देवताहरु दानवहरुलाई युद्धको हाँक दिन गए । ठूलो युद्धको अन्त्यमा दानवहरुलाई पराजित (जिती) गरी देवताहरुले आफ्नो राज्य पुनः प्राप्त गरे । यही राज्य प्राप्त गरेको अथवा विजयको पौराणिक कथा–प्रसङ्ग इन्द्रजात्रासँग जोडिएको छ ।

अर्को एक भनाइअनुसार राजा वसुले इन्द्रद्वारा ध्वजाको लिङ्गो प्राप्त गरे र पृथ्वीमा त्यो लिङ्गो उचालेर जात्रा गरेमा शत्रु परास्त हुन्छन् भन्ने विश्वासका आधारमा आजसम्म इन्द्रजात्रा पर्व मनाउने गरिएको पाइन्छ ।

यो पर्व नेपालभन्दा बाहिरका भारत, चीन र पश्चिमी राष्ट्रहरुमा पनि आफ्नै प्रकारले मनाउने गरेको बुझिन्छ । इतिहासकार बाबुराम आचार्यले पश्चिमाहरुले मे एक तारिकमा उठाउने ध्वजालाई ‘मे–पोल’ भनिन्छ, जसको समता इन्द्रजात्रासँग मेल खान्छ । देश, काल र ठाउँको फरक–फरक तिथि भए पनि इन्द्रध्वजोत्थान वा विजयध्वजा फहराउने पर्वको महिमा रहेको पाइन्छ ।

नेपालमा भाद्र शुक्ल पक्षको वामन द्वादशी तिथिमा स्नान गरी, श्रृङ्गारपटार गरी चोखो भएर बिहानै इन्द्रध्वज उठाउने, लिङ्गो पूजा गरी शिरमा पुष्प गुच्छाले सजाई, छातासहितको गजूर र जमिनसम्म छुने कपडाको ध्वजा हनुमान् ढोका अगाडि तलेजु भवानीको मन्दिर सामु राखिन्छ । त्यस ध्वजा राखेको रथमा ऐरावत नामको हात्तीमा चढेका इन्द्रमहाराजको मूर्ति राखिन्छ । त्यो बेला इन्द्रध्वजोत्थान गर्न राजा, मन्त्रीहरु र जनसागर जम्मा भई विजयको उत्साहले लिङ्गो उठाइन्थ्यो । अहिले समय बदलिएसँगै राष्ट्रपति, मन्त्रीहरु र नगरवासीहरु उपस्थित हुने र ध्वजोत्थान गर्ने गरिन्छ ।

उक्त ध्वजा जतिसक्दो अग्लो होस् भनेर सामान्यमा बाइस हाते, ठिक्कको बत्तीस हाते र ठूलोमा बयालीस हातको हुनुपर्छ भन्ने प्रचलन रहेको छ । यो बनाउने विधि पनि अनौठो छ । शुभ मुहूर्तमा काउलो, डुम्री, सल्लो र मौवाको काठ भक्तपुरको नाला क्षेत्रमा पर्ने सालको जङ्गलबाट ल्याइन्छ । ती लिङ्गालाई तान्त्रिक विधिले पूजा गरी एउटा बोको पर्साएर छोड्ने प्रचलन अहिले पनि छ ।

कसै कसैले त पर्सेको बोकोले जुन रुखलाई छुन्छ त्यही रुखलाई पूजा गरी लिङ्गो उतार्ने गरिन्छ भन्दछन् । लिङ्गाहरु भक्तपुरदेखि बोकेर टुँडीखेल ल्याइन्छ । त्यहाँबाट भोटाहिटी पुर्‍याई राजकीय पल्टनसहित ससम्मान हनुमान ढोकामा लगिन्छ । त्यसदिनबाट नगरवासीले आ–आफ्नो टोलमा पनि लिङ्गो ठड्याउने इन्द्र, हात्ती, देवीदेवताका मूर्तिहरु राख्ने गरिन्छ ।

इन्द्रजात्रा पर्व आठदिनसम्म मनाइन्छ । यो जात्राको प्रचलनसँगै जोडिएको जन विश्वासअनुसार इन्द्रजात्राको बेलामा दिवङ्गत भएका पितृआत्माहरु आउँछन् । उनीहरुले लिङ्गो पूजा गर्दा आफ्ना सन्तानले दिने धूप, घ्यूको दीप, नैवेद्य, भजनपाठ सुनी प्राप्त गरी पापमुक्त भई शान्ति प्राप्त गर्दछन् । इन्द्रजात्राको अवधिमा भगवान्का दशअवतारको लीला पनि देखाइन्छ । यसैकारण इन्द्रजात्राको रातमा दीपावली गर्ने चलन चलेको छ ।

नेपालमा इन्द्रजात्राको समयमा गणेश, कुमारी र इन्द्रध्वजलाई लिएर जात्रा निकालिन्छ । गणेश भगवान् सबै विध्नबाधा हटाउने देवताको रुपमा मानिएका छन् । नेपालका नेवार समुदायले मनाउँदै आएको इन्द्रध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रुपमा विकसित भएको पाइन्छ । काठमाडांै उपत्यकामा यो दिन सरकारले सार्वजनिक विदा दिने गरेको छ भने जनताहरु इन्द्रजात्राको रथ तानेको हेर्न श्रृङ्गारपटार गरी जाने गर्दछन् । इन्द्रजात्रामा इन्द्रचोकमा आकाश भैरवको शिर प्रदर्शन गरिन्छ । यसै दिनमा भक्कु नाचको दृश्य पनि देखाइन्छ ।

इन्द्रजात्रासँग चतुर्दशीका दिनमा कुमारीको यात्रा निकालिन्छ । टोलटोलमा इन्द्रजात्रा पर्वको उल्लास देखिने यो दिनमा जात्रासँगै नाच, गान, नृत्य गर्दै अघि बढिन्छ । यसमा मालश्री, लोकवाजाहरु बजाई मनोरञ्जन प्रदान गरिन्छ । रथयात्रा आश्विन कृष्ण चतुर्थीका दिनसम्म चल्छ । अन्तिम दिनमा नानीचा अर्थात महिलाहरुले मात्र गणेश, कुमारी र भैरवको रथ तान्दछन् । जात्रा किलागल पुर्‍याइन्छ । त्यहाँ कुमारीको पूजा गरी सबैलाई प्रसाद (समे) बाडिन्छ ।

यसै दिनमा मान्द्रोले बनाएको हात्तीको रुपमा पुलुकिसी नाच पनि देखाइन्छ । किलागल पुगेपछि पुनः इन्द्रचोक हुँदै आकाश भैरवको सामु पुर्‍याइन्छ । त्यहाँ पुगेपछि प्रसाद स्वरुप जाँड वितरण गरिन्छ । प्रसाद खानेहरुले आँ गरेर मुखमा थाप्ने चलन छ । त्यसपछि रथ तानेर कुमारी घर अगाडिको डवलीमा पुर्‍याइन्छ । त्यसपछि रथ तान्नेहरुलाई टीका लगाइदिने गरिन्छ र यो जात्रा समाप्त हुन्छ ।

कुमारी जात्राको सन्दर्भ सहरको कुनै एक साहुकी छोरीले ‘म तलेजु भवानी हुँ’ भन्दै हल्लन थाल्छे । त्यो कुरा राजाको कानमा पुग्यो । उनले यो नक्कली बनावटी देवी हो भनी उसलाई नगरबाट टाढा पठाउन लगाउँछन् । त्यसै रात्रिमा राजाकी एउटी प्यारी रानीले हल्लेर तैलै तलेजु देवीलाई किन निकाला गरिस् भन्छिन् । त्यो कुराले राजालाई विश्वास लाग्छ र त्यो त साँच्चैकी देवी रहिछ भनी पुनः उसलाई दरवारमा झिकाउँछन् ।

पछि उसका लागि छुट्टै घर बनाउन लगाएर राख्छन् । त्यसपछि जीवित देवीको पूजा गर्ने तथा इन्द्रजात्रामा सँगै घुमाउने प्रथा चलेको हो भनिन्छ । त्यो कुमारी पूजा गर्नेले रुप, सीप र गुणयुक्त बत्तीस लक्षणले युक्त कन्यालाई रजस्वला नहुँदै जीवित कुमारीका रुपमा पूजा गर्ने चलन अहिलेसम्म छ ।

पछिल्ला दिनमा शाक्त, शैव र बौद्ध धर्मावलम्बीहरुले इन्द्रजात्रा पर्व मनाउंदै आएका छन् । सुख, सह, पराक्रम र सौन्दर्यका प्रतीक इन्द्रले उसको शत्रु वृत्रासुर नामले चिनिने आँधी–हुरी, चट्याङ, खडेरी, अतिवृष्टि आदि प्रकोपलाई परास्त गर्न सफल भएकोमा कृतज्ञता स्वरुप इन्द्रजात्राको महिमा गर्दै आएको कुरा स्पष्ट हुन्छ ।

Source-Acham news

Leave a Reply

Your email address will not be published. Required fields are marked *