प्रधानमन्त्री ओली सिंगापुरमा हुँदा एनसेल मालिककाे घरमा बसेकाे खुल्यो

समाचार

काठमाडौँ – उपचारको लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल फर्किएर नियमित कामलाई निरन्तरता दिन शुरु गरिसकेका छन्।

सिंगापुरबाट फर्किएको एक हप्ता पुगीसक्दा पनि प्रधानमन्त्री कहाँ रहे भन्ने बारे चर्चा अझै सेलाएको छैन। यसै बीच सिंगापुरमा प्रधानमन्त्री ओली एनसेलसँग कनेक्सन रहेका एक व्यक्तिको घरमा बसेको समाचारहरु विभिन्न डिजिटल मिडियाहरुमा आएका छन्।

प्रधानमन्त्री सिंगापुरमा आईएल आचार्यको घरमा बसेको र त्यहाँ रहँदा ओलीले विभिन्न महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट गरेको दावी गर्दै विभिन्न समाचारहरु सम्प्रेषित भएका छन्।

मिडियाहरुमा आएका समाचार अनुसार आईएल आचार्यका छोरा सतीशचन्द्र आचार्यकी पत्नीको एनसेलमा २० प्रतिशत लगानी रहेको छ। आचार्य परिवारकै व्यक्तिको एनसेलमा लगानी हुनु र प्रधानमन्त्री आचार्य परिवारकै घरमा बसेको समाचार बाहिरिएपछि सामाजिक संजालमा एक प्रकारको तरंग पैदा भएको छ।

“प्रधानमन्त्रीले न्यानो आतिथ्य पाएको घर आईएल आचार्यको हो । आईएलका छोरा सतीशचन्द्र आचार्यकी पत्नीको नाममा एनसेलको २० प्रतिशत शेयर छ । एक उच्च सूत्रले सरल पत्रिकासँग बताए अनुसार प्रधानमन्त्रीको सिंगापुर बसाई अवधिको सबै व्यवस्थापन आचार्य परिवारले नै गरेको थियो ।”,प्रधानमन्त्रीको सिंगापुर बसाई बारे एक समाचारमा भनिएको छ।

प्रधानमन्त्री ओली सिंगापुरमा हुँदा सर्वोच्च अदालतले एनसेल लाभकार प्रकरणमा फैसला गरेको थियो। जसकारण ओलीको करिब दुइ साता आचार्य निवासको बसाईमा एनसेलको कारोबारमा अवरोध मानिएका बिषयहरु सल्टाईएको दावी पनि उक्त समाचारमा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *