वरिष्ठ नसा रोग विशेषज्ञ डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर

Uncategorized

काठमाडौं । नेपालका वरिष्ठ नसा रोग विशेषज्ञ डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

‘न्युरो’सम्बन्धी उपचारमा अन्तर्राष्ट्रियस्तरमा नै ख्याति कमाएका डा.देवकोटा दुर्लभ प्रकारको क्यान्सरबाट पीडित भएको बुझिएको छ । तर, त्यसबारे अहिलेसम्म कुनै जानकारी बाहिर आइसकेको छैन । अहिले बेलायतको लन्डनमा उनको उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय शारीरिक तौल घट्दै गएपछि आशंका लागेर देवकोटाले बायोस्पी गराएका थिए । बायोस्पी परीक्षणमा क्यान्सर देखिएपछि देवकोटा उपचारका लागि लन्डन पुगेको पारिवारीक स्रोतले जनाएको छ । बाँसबारीस्थित न्युरो हस्पिटल देवकोटाले चलाउँदै आएका छन् ।

केही दिनभित्रै लन्डनबाट उनको स्वास्थ्य अवस्थाबारे जानकारी आउने पारिवारिक स्रोतले जनाएको छ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको प्रतिनिधिसभा निर्वाचनमा डा.देवकोटा आफ्नो गृहजिल्ला गोरखामा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठको पक्षमा खुलेर मत माग्दै हिडेका थिए ।

गोरखामा नै रहँदा स्वास्थ्यमा समस्या आएपछि उनी तत्काल काठमाण्डौं फर्किएका थिए । चेकजाँचमा क्यान्सरको संकेत देखिएपछि देवकोटा थप उपचारका लागि लण्डन पुगेका हुन् ।

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी केही महिना स्वास्थ्यमन्त्री समेत बनेका थिए । पछिल्लो समय उनी केहि स्वतन्त्र व्यक्तिहरुलाई साथमा लिएर नागरिक जागरण अभियान सन्चालन गर्दै आएका थिए ।

(स्रोत : छलफल न्युज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *