काठमाडौं । भर्खरै सम्पन्न निर्वाचनमा पराजित भएको नेपाली कांग्रेसले सत्ता नछोड्ने र निर्वाचन नतिजा प्रकाशित नगर्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । वर्तमान कामचलाउ सरकारले नै राष्ट्रियसभाको चुनाव नगरी प्रतिनिधिसभाको निर्वाचन नतिजा सार्वजनिक नगर्न माग गर्दै अदालत जाने कांग्रेस नेता मिनेन्द्र रिजालले बताएका छन् ।
रिजालले भने– समानुपातिकतर्फको अन्तिम सिट निर्धारण गर्न राष्ट्रिय सभा मतपरिणाम आवश्यक पर्ने संवैधानिक व्यवस्था छ, आयोगले असंवैधानिक काम भन्ने छैन मलाई विश्वास छ । आयोगले नतिजा सार्वजनिक गरे कांग्रेस त्यसलाई रोक्न अदालत जाने उनले वताए ।
प्रतिनिधिसभाको निर्वाचन नतिजा आएपछि बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्ने संवैधानिक ब्यवस्था छ । तर, नेपाली कांग्रेसले आफू पराजित भएपछि राष्ट्रियसभा निर्वाचन नगरी प्रतिनिधिसभाको नतिजा सार्वजनिक गर्न नमिल्ने अड्डी लिंदै आएको छ ।
प्रधानमन्त्री निर्वाचनका लागि राष्ट्रियसभाको कुनै सम्बन्ध नभए पनि नयाँ जनादेश अनुसार सरकार गठनमा अवरोध गर्ने उद्धेश्यले कांग्रेसले यस्तो अड्डी लिएको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन नतिजा घोषणा गरे त्यसलाई पनि अस्वीकार गर्ने र राजनीतिक संवाद पनि नगर्ने नीति कांग्रेसले अख्तियार गरेको हो । वाम गठबन्धनले चुनाव जिते अधिनायकवाद आउँछ भन्ने चुनावी नारा दिंदै आएको कांग्रेसले चुनाव हारेर पनि सत्तामा रहिरहने रणनीति अख्तियार गरेको हो ।
सरकार नछोड्ने र प्रतिनिधिसभाको निर्वाचन नतिजा पनि सार्वजनिक गर्न नदिने मात्र होइन कांग्रेसले यसबीचमा राजनीतिक संवाद पनि नगर्ने नीति लिएको छ । राजनीतिक निकासका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि नगर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव अधिवक्ता केशव जोशीले अध्यादेश राजनीतिक सहमतिका आधारमा निकास निकाल्ने विषय नभएकाले दलीय छलफल आवश्यक नरहेको बताए । ‘अध्यादेश दलहरूबीच सहमतिका लागि छलफल गर्ने विषय होइन, संविधान र कानुनअनुरूप तयार पार्ने दस्ताबेज हो,’ जोशीले भनेका छन् ।
– news24 nepal