किन फापेन गच्छदारलाई काङ्ग्रेससँगको एकता ?

Uncategorized

घटना १
सुनसरी–३ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका विजयकुमार गच्छदारलाई चुनाव जित्न यसपटक पहिला जस्तो सजिलो भएन । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई ३२१ मतको झिनो अन्तरले हराए पनि उनको जीत विवादीत बन्यो । मतगणनामा लामो समय चौधरीभन्दा पछि परेका गच्छदारले अन्तिम समयमा मात्र आफ्नो जीत सुनिश्चित गरे । तर, उनीमाथि बदरमत समेत गन्न लगाएर जीत हासिल गरेको आरोप लगाइएको छ । चौधरीले यसबारे कानूनी उपचार खोज्ने समेत बताइसकेकी छिन् ।

घटना २
नेपाली काङ्ग्रेससँग एकीकरण गरे तत्लकालिन संघीय फोरम लोकतान्तिक पक्षले प्रतिनिधिसभामा तीन सिट पाएको थियो । तर, गच्छदारबाहेक अन्य कोही नेताले चुनाव जित्न सकेनन् । वि.सं २०७० को संविधानसभा निर्वाचनमा विजयी बनेर सांसद बनेका रामजनम चौधरी कैलाली क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका गौरी शंकर चौधरीसँग पराजित भए । भूमिसुधारमन्त्री रहेका गोपाल दहित बर्दिया क्षेत्र नम्बर २ बाट विनाभागीय मन्त्री सन्तकुमार थारुसँग पराजित भए । २०७० मा प्रत्यक्षतर्फ फोरम लोकतान्त्रिक एक्लैले ४ सिटमा जीत हासिल गरेको थियो ।

घटना ३

गच्छदार पक्षका जनक चौधरी, सुबोध पोखरेल, भक्ति माझी र देवी चौधरी प्रदेशसभा निर्वाचनमा पराजित भए । प्रदेश सभामा मात्र चुमनारायण तब्दार मोरङबाट विजयी भए ।

गत असोज २९ गते विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले नेपाली काङ्ग्रेससँग एकीकरण गरेपछि एउटा तरङ्ग पैदा भएको थियो । धेरैले सोचेका थिए, चुनावको मुखमा गरिएको यो एकता गच्छदारका लागि फाइदाको सौदा हुनेछ । तर, मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन परिणामले त्यो गलत साबित गरिदिएको छ । गच्छदारलाई फाइदाभन्दा पनि धेरै घाटा भएको देखिन्छ ।

नेपाली काङ्ग्रेस पार्टीमा लामो समय राजनीति गरेका विजयकुमार गच्छदार मधेश आन्दोलनपछि २०६४ सालमा ‘मधेशका लागि’ भन्दै काङ्ग्रेस परित्याग गरी मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए ।

तर, त्यहाँ हुन्जेल पनि उनी सत्ताका खेलाडीका रुपमा चिनिए । सत्ताकै लागि फोरम नेपाललाई विभाजित गरेर आफ्नै नेतृत्वमा फोरम लोकतान्त्रिक गठन गरे ।

तर उनले पार्टीलाई पनि १० वर्ष पनि टिकाउन सकेनन् । नवौं वार्षिक उत्सव मनाएर उनले पार्टीलाई फेरि नेपाली काङ्ग्रेसमै विलय गराए ।

१० वर्षसम्म ‘मधेशका लागि राजनीति’ भन्दै हिँडेका गच्छदार यसबीचमा मधेशको मुद्दामा कहिल्यै गम्भीर देखिएनन् भन्ने आरोप लाग्दै आएको छ । आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्ने खेलाडीको परिचय बनाएका उनले आफू मात्र जित्नका लागि उनी नेपाली काङ्ग्रेसमा फर्केको समेत टिप्पणी भइरहेको छ ।

गच्छदारले नेपाली काङ्ग्रेससँग एकीकरण गरेपछि थारुहट तथा मधेशमा सो पार्टीको अवस्था सुध्रिने आँकलन गरेको थियो । तर, नतिजा ठीक उल्टो भयो । बरु, गच्छदारको पार्टी काङ्ग्रेसमा पूरै विलिन भयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको घोषणा भएसँगै गच्छदारको पार्टीसहित मधेशवादी दलसँग काङ्ग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउने गृहकार्य शुरु गरेको थियो । लामो गृहकार्य भएपनि सो गठबन्धनमा मधेशवादी दल सहभागि नभएपछि काङ्ग्रेस र गच्छदार नेतृत्वको पार्टीबीच एकीकरण भएको थियो ।

मधेशवादी दलसहितको लोकतान्त्रिक गठबन्धन बनेको भए गच्छदार काङ्ग्रेससँग एकीकरण गर्ने सोचमा थिएनन् । तर, जब मधेशवादी दल लोकतान्त्रिक गठबन्धनबाट अलग भएर आफ्नै छुट्टै गठबन्धन बनाए र त्यसमा उनको पार्टीलाई समावेश नगरेपछि उनी बाध्य भएर काङ्ग्रेससँग एकीकरण गर्न पुगे ।

३४४ केन्द्रीय सदस्यसहित गच्छदार काङ्ग्रेस पार्टीमा प्रवेश गरेका थिए । पार्टी एकीकरण गरेको दुई महिना भइसक्दा पनि जिल्ला तथा स्थानीय तहमा पार्टी समायोजन भएको छैन । पार्टी समायोजनमा ढिलाई गरेका कारण गच्छदारसँग रहेका नेताहरु पनि अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् ।

गच्छदारले आफ्नो पक्षबाट प्रतिनिधिसभाको प्रत्यक्षमा आफूसहित तीनजना र प्रदेशसभाको प्रत्यक्षमा छजना उम्मेदवार बनाए । त्यसमध्ये जसो तसो उनी मात्र जिते भने अरु सबै पराजित भए ।

यता, प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको नामावलीमा दुईजनाको नाम राखिएको छ । मधेशी कोटामा भर्तेन्दु मल्लिक र थारु कोटामा सुमित्र विश्वासको नाम राखिएको छ । त्यस्तै, प्रदेशसभाको समानुपातिकमा सातजनाको नाम राखेका छन् । समानुपातिको परिणाम आइसकेको छ । त्यसमा गच्छदारको तर्फबाट उम्मेदवार बनाइएकामध्ये को को पर्छन्, त्यसको टुगों अझै लागेको छैन ।

‘एकीकरण गरेर घाटा लाग्यो’
प्रत्यक्षमा सिट जित्न नसकेपछि गच्छदारपक्षले समानुपातिकमा आफ्ना नेताहरु समावेश हुनपर्ने माग गरिरहेका छन् । तत्कालिन फोरम लोकतान्त्रिकका महासचिव रहिसकेका भर्तेन्दु मल्लिकले भने, ‘पार्टी एकीकरण हुँदा सातजना समानुपातिकमा दिने सहमति भएको थियो त्यसमध्ये दुईजनाको नाम मात्र हालिएको छ । यी दुईजनालाई पनि दिएन भने पार्टी एकीकरणको कुनै अर्थ रहदैन ।’ उनले दुई जनालाई जसरी पनि समानुपातिक सांसद बनाउनुपर्ने बताए ।

‘पार्टी एकीकरण गरेर घाटा लागेको छ,’ मल्लिकले भने, ‘हामीले काङ्ग्रेससँग एकीकरण नगरि कुनै अरु दलसँग तालमेल गरेर चुनाव लडेको भए यो भन्दा बढी सीट ल्याउथ्यौँ । तर काङ्ग्रेससँग एकीकरण गर्दा प्रतिनिधिसभामा एक र प्रदेशसभामा एक गरि दुईजना मात्र जितेका छौँ । यो हाम्रो लागि पर्याप्त छैन । यो त ‘गहुँसँग घुन पिसिनु’ जस्तै भयो ।’

मधेशवादी दल वा वामगठबन्धनसँग तालमेल गरेर चुनावमा गएको भए आफूहरुको पार्टी राष्ट्रिय पार्टीमा पनि कायम रहनको साथै सातदेखि आठवटा सीट जित्ने दावी उनको छ ।

पार्टी एकीकरण गर्ने समयमा केन्द्रीय समितिमा १५ जना राख्ने सहमति भएको हो तर हालसम्म त्यो पनि कार्यान्वयन नभएको मल्लिकले गुनासो गरे ।

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य एवं विद्यार्थी अध्यक्ष रहिसकेका कपलेश्वर यादवले पनि काङ्ग्रेससँग एकीकरण गरेर पार्टीले ठूलो मूल्य चुकाएको टिप्पणी गरे । ‘हाम्रो पार्टीको अवस्था त्यति खराब थिएन । एक्लै पनि चुनाव लडेको भए पाँच–सातवटा सीट जित्थ्यौं तर काङ्ग्रेससँग एकीकरण गरेर जित्न सक्ने नेताहरु हार्नुभएको भएको छ,’ उनले भने, ‘अब समानुपातिक सीट तथा पार्टीको समायोजनमा हामीप्रति अन्याय नहोस् भनि चाहन्छौ ।’

एकतापछि गच्छदार बाँधिए, चलखेल रोकिएन

दोस्रो सविधानसभा चुनावमा गच्छदारले फोरम लोकतान्त्रिकलाई मधेशको पहिलो पार्टी बनाएका थिए । तर, पछिल्लो समय सत्ताको नजिक रहेका कारण थुप्रैजनाले उनको पार्टी छाडेर हिँडेका थिए ।

यता, सधै सत्ताको नजिक रहेका गच्छदार काङ्ग्रेस पार्टीमा गएपछि उनी आफ्नो अनुकुल चलखेल गर्न पनि नपाउने भएका छन् । उनको आफ्नै पार्टी हुँदा जोसँग पनि सत्ताको बार्गेनिङ्ग गरेर सरकारमा सहभागि हुने गरेका थिए ।

गच्छदारको अहिलेको प्रयास पनि काङ्ग्रेस सरकारमा जाओस् नै भन्ने नै छे । संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका गच्छदारले मधेशवादी दल र माओवादी केन्द्रसँग मिलेर काङ्ग्रेसले सरकार बनाउनुपर्छ भन्ने गृहकार्यमा लागेका छन् ।

उनले त्यसका लागि मधेशवादी दलसँग कुराकानी समेत कुराकानी गरिरहेका छन् ।

रातोपाटी बाट साभार गरिएको 

Leave a Reply

Your email address will not be published. Required fields are marked *