नेपाली काँग्रेसका सांसद गगन थापाले स्वतन्त्र मधेश गठबन्धनसँग भएको सहमतिबारे सदनलाई सरकारले जानकारी गराउनुपर्ने माग गरेका छन् ।
सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आ–आफ्नै व्याख्या भएको बताउँदै यसले संशयको स्थिति पैदा गरेको थापाले बताएका हुन् ।
व्यवस्थापिका संसदमा बोल्दै थापाले भने, ‘ केका लागि जनमत संग्रह ? कस्का लागि जनमत संग्रह ? हामीलाई उत्तर चाहिन्छ ।’
यस्तो थियो थापाको सम्बोधनः
नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच नेपालको संविधानभित्र मधेश र मधेशीको हक खोज्ने भनेर भएको सहमति सकारात्मक छ ।
तर सहमतिको पृष्ठभूमि र शैलीले अदालत र सरकारबीच मिलिभगत त चलिरहेको छैन भन्ने गम्भिर प्रश्न उठाएको छ ।
सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आ–आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ ।
केका लागि जनमत संग्रह ? कस्का लागि जनमत संग्रह ? हामीलाई उत्तर चाहिन्छ ।
अतः सहमतिका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गर्नका लागि वातावरण मिलाउन सभामुखसँग जोडदार अनुरोध गर्दछु ।